नेपालमा पहिलोपटक बेहोस नपारी मस्तिष्कको शल्यक्रिया
काठमाडौँ। नेपालमा पहिलोपटक बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालका चिकित्सकले छारे रोग भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन् । अस्पातलले बेहोस नपारी उनको मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ। रासस
नयाँ अध्ययन : स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक ‘भिन्न संरचना’ भेटियो
वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ । कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् । “तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,” एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताउनुभयो । आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो, उनले भने। “हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,” सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताए। दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा चार हजार ५०० बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् । अध्ययनका प्रारम्भिक तथ्याँकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ । अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ। रासस
जुम्ला जान १५० विशेषज्ञ डाक्टरले निवेदन हाले
काठमाडौं। ‘दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन्। गए पनि लामो समय टिक्दैनन्’, भन्ने आम बुझाइ छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको छ। सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको छ। स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ। ‘सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न पठाएको हो। अगामी दिनमा प्रतिष्ठान र अस्पतालसित सहकार्य गरी अगाडि बढ्ने छ’, प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भने। हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत छन्। छिट्टै प्रतिष्ठानले एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापनका लागि चिकित्सा विधाका विभिन्न सङ्काय (फ्याकल्टी) कमिटी गठन गर्नेक्रम रहेको हुँदा १५० विशेषज्ञ चिकित्सकले जुम्ला जान निवेदन दिएका जनाएको छ। विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थित माथि उकास्न सरकारले विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो। प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्याई सेवा शुरुआत गरेको थियो। विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो। गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ। एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य लगभग पूरा गरेको उपकुलपति प्रा डा वाग्लेले जानकारी दिए। प्रा डा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा प्रतिष्ठानमा एमबिबिएस तथा एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्न माग गर्दै आएका छन्। नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानले ती दुई तहका अध्ययन अध्यापन शुरुआत गराउन गरेका कामका बारेमा हालै स्थलगत अध्ययन पूरा गरी काउन्सिलको बोर्डसमक्ष प्रतिवेदनसमेत बुझाएको छ। काउन्सिलका उपाध्यक्ष चिकित्सक नारायणविक्रम थापासहित नौ सदस्यीय टोलीले अध्ययन गरेको टोलीमा संलग्न चिकित्सक ढुण्डिराज पौडेलले जानकारी दिए। टोलीमा सहभागी एक चिकित्सकले भने, ‘एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ।’ प्रतिष्ठानका एमडिजिपी कार्यक्रमका संयोजक डा तरुण पौडेल भन्छन्, ‘अब एमडिजिपी तह अध्ययन गराउन काउन्सिलको स्वीकृति÷अनुमतिपत्रको पर्खाइमा छौँ, पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा रहेको छ।’ उनका अनुसार दुर्गम क्षेत्रमा चिकित्सक जनशक्ति पुर्याउन एमडिजिपी तहको अध्ययन अध्यापनले कोशेढुङ्गाको काम गर्छ। हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ। चालू शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत गराउन प्रवेश परीक्षा सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन्। सो कार्यक्रमका संयोजक प्रा डा शेषानन्द सञ्जेलले कर्णालीवासीले स्वास्थ्योपचार घर आँगनबाट पाउनका लागि जनस्वास्थ्य विषयको अध्ययन शुरुआत गरिएको बताए। बच्चा अड्किएर आमाको मृत्यु भएको छैन विगतमा जुम्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा सुत्केरी हुन आउने आमाको बच्चा अड्किएर अकालमा धेरैको मृत्यु हुने गर्दथ्यो। प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपछि हालसम्म एक जना पनि सुत्केरी आमाको मृत्यु नभएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए। पछिल्लो समय जुम्ला अस्पतालको स्वास्थ्य सेवा उपलब्धतता कारण ती नौ जिल्लाका मातृ तथा नवजात शिशु मृत्युदर तथा समग्र स्वास्थ्यमा सुधार आएको बताइन्छ। गत वर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए। तीमध्ये चार हजार ३४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५९१ जना भर्ना तथा ४६९ जनाको मुख्य(मेजर), ५७२ गर्भवती आमाले बच्चा जन्माएका थिए। तीमध्ये १०२ आमाको मात्र शल्यक्रिया गर्नुपरेको थियो। चिसो स्थानमा घाउ निको हुने हुँदा पछिल्लो समय अस्पतालमा अरु जिल्लाबाट पनि सेवा लिन जानेको सङ्ख्या बढिरहेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए। उनका अनुसार अस्पतालमा हड्डीसम्बन्धीका सबै जटिल शल्यक्रिया, ल्याप्रोटोमी पेट चिर्नेे, एपेन्डिसाइटिस, सिजेरोएन बच्चा निकाल्ने शल्यक्रिया हुन्छ । निकट भविष्यमा नाक, कान, घाँटी सेवाको तयारीमा समेत अस्पताल जुटेको छ। जुम्ला जाउ डा वन : जुम्ला जाउ स्वस्थ्य वन विशेष गरी जुम्लावासीको औसत आयु ३६ वर्ष रहेको छ। तर जुम्लामा नै ९५ वर्षसम्म बाँचेका मानिस पनि छन्। प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका साथै स्वास्थ्यमा अनुसन्धान अगाडि बढाएको उपकुलपति प्रा डा वाग्लेले जानकारी दिए। कर्णालीका ५५ हजार घर परिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्यअनुरुप जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वास्थ्य सर्भेक्षण पूरा भएको र बाँकी अन्य जिल्लामा पनि शुरुआत गर्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आमा सुरक्षा कार्यक्रम, मातृ तथा नवजात शिशु, खोप, क्षयरोग तथा निःशुल्क औषधि वितरण कार्यक्रममा पनि सहयोग गरिराखेको छ। आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्य शिविर पनि यस क्षेत्रका जिल्लाहरुमा सञ्चालन गर्दै आएको जनाएको छ। रासस