वार्षिक १६ हजार बिरामी आउने तातोपानी कुण्ड भाडामा दिन प्रस्ताव
म्याग्दी । प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले बेनी नगरपालिका र सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेको हो । नगरपालिकाको कार्यालयमा मङ्गलबार आयोजित छलफलमा मोनाका अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र क्षेत्रीले कुण्ड निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेका थिए । उनीहरूले स्थानीयवासी र प्रवासी म्याग्देलीको लगानीमा अहिलेको भन्दा फरक हिसाबले व्यवस्थित रूपमा कुण्ड सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले निजी क्षेत्रलाई भाडामा लिन प्रस्ताव गरे । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य र सचिव कृष्ण खड्कालगायतले समुदायसँग छलफल गरेर मात्र निर्णय गर्न सकिने बताए । लगानी, व्यवस्थापन र सञ्चालनको मोडल स्पष्ट हुनुपर्ने र स्थानीयवासीको भावना बुझ्न थप छलफल गर्ने निर्णय भएको बैठकमा सहभागी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । प्रवासीले केही वर्षयता विभिन्न माध्यमबाट कुण्ड भाडामा दिनका लागि प्रस्ताव र पहल गर्दै आएका छन् । छलफलमा बेनपाका वडाध्यक्ष र कार्यपालिका सदस्य, मोनाका पदाधिकारी र तातोपानीका अगुवाको सहभागिता रहेको थियो । समुदायद्वारा सञ्चालित र विकास गरिएको कुण्डको आम्दानीले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा निजी स्रोतका ११ शिक्षकको तलबभत्ताको व्यवस्थापन गरिँदै आएको छ । कुण्डको प्रवेश शुल्क र चन्दा सहयोगबाट पूर्वाधार निर्माण, कर्मचारीको तलब, व्यवस्थापन, नदी नियन्त्रणका साथै सामुदायिक गतिविधि र विकास निर्माणका काम गरिएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट वीरेनुनको गन्धसहित निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । कुण्डमा वार्षिक १६ हजार भन्दा बढी बिरामी आउने गरेका छन् । कुण्ड व्यवस्थापन समितिलाई ३०० प्रवेश शुल्क तिरेर दैनिक दुई पटकका दरले दश दिनसम्म तलाउमा स्नान गर्न सकिन्छ ।
भरतपुर अस्पतालमा खोप तथा औषधिको अभाव, विभाग र मन्त्रालयले चासो दिएन
काठमाडौं । आकस्मिक रुपमा प्रयोगमा आउने महत्वपूर्ण खोप तथा औषधिको चितवनमा चरम अभाव देखिएको छ । प्रायः स्वास्थ्य संस्थाहरुमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरुको यहाँ अभाव देखिएको हो । जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरु अकस्मात् प्रयोगका लागि स्टक रहेको तर, प्रशस्त मात्रामा भने नरहेको अस्पतालका मेसु डा.कृष्णप्रसाद पौडेलले बताएका छन्। केही दिनअघिदेखि नै अभाव भए पनि अहिले समस्या झनै चर्को बन्दै गएको छ । मेडिकल सिटी भनिने भरतपुरमै यस्ता औषधि जन्य वस्तुको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको छ । महत्वपुर्ण र अत्यावश्यक औषधिको अभावबारे विभाग र मन्त्रालयमा जानकारी गराइएको तर, समस्या समाधान नभएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टेन्डरमार्फत ल्याइएको यस्ता औषधिहरु सप्लायर्सले मागेजति दिन नसकेको बताए । यो देशभरिकै समस्या रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । टिटानस जीवाणुबाट हुन सक्ने संक्रमण हुन नदिनका लागि प्रयोगमा आउने टिटानस खोपको अभाव भएको छ । सामान्य खोपका रुपमा लिइने टिटानसको अभावले गर्दा उपचारमा समस्या भएको छ । जटिलदेखि सामान्य चोटपटक र घाउमा पनि टिटानस खोप लगाइन्छ । प्रायः फलामका खिया लागेका वस्तुका कारण हुने चोटपटकमा यो खोप लगाइने चिकित्सकहरु बताउँछन् । यसको असर सीधै नसामा पर्ने भएकाले टिटानस खोपको प्रयोग आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । यता, भरतपुर अस्पतालका फार्मेसी शाखाका कर्मचारी रामहरी ढकालका अनुसार टिटानससँगै अत्यावश्यक प्रयोगमा आउने डाइजेपाम, प्याथेडिन इन्जेक्सन, ट्रमाडोलहरु पनि अभाव भएका छन् । यी सबै औषधिले दुखाइ कम गर्ने चिकित्सकहरु बताउँछन् । धेरै शरीर कम्पन भएर आउने बिरामीका लागि तत्काल डाइजेपाम दिई कम्पन नियन्त्रण गरिने चिकित्सकहरु बताएका छन्र ।
नेपालमा मधुमेह रोगीको संख्या बढ्दो, खानपान र दैनिकीमा ध्यान नदिए खतरा
काठमाडौं । मानिसहरुको दैनिकीमा आएको परिवर्तनले पछिल्ला दिनहरुमा नेपालमा मधुमेह(डायविटिज) रोगीको संख्या बढ्ने कारण रहेको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन् । शुक्रबार राजधानीमा डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै गएको बताएका छन् । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष डा ज्योति भट्टराईले शहरी क्षेत्रका मानिसहरुमा मधुमेह रोग बढ्दो क्रममा देखिएको भन्दै त्यसले मानिसको जिवन नै खतरामा पारेको बताईन् । उनले उचित खानपान र दैनिकी नमिल्दा मधुमेहका विरोमीहरुको संख्या बढिरहेको र त्यससँग सम्बन्धि औषधिहरु नियमितरुपमा प्रयोग गर्नुपर्ने अवस्थामा वृद्धि भएको बताईन् । उनले मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरुले मानिसहरुमा मोटोपना देखिने, मुटुको समस्या आउनसक्ने तर्फ सचेत हुनुपर्ने बताईन् । त्यसैगरि डाक्टर डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपालकी अध्यक्ष डा. डिना श्रेष्ठले मधुमेहको रोग नियन्त्रणका लागि हाल नेपालमा विभिन्न किसिमका औषधिहरु उपलब्ध भएको भएपनि त्यसको नियमित प्रयोग र डाक्टरको नियमित सल्लाहलाई रोगीहरुले पालना गर्नुपर्ने बताईन् । उनले मधुमेह रोग उपचारका लागि अत्याधुनिक औषधिहरु नेपालमा नै उपलब्ध भएको भएपनि त्यसको प्रयोग गर्दा समेत उचित परामर्श र सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने सुझाव दिईन् । मधुमेह रोग नै नलाग्न दिनका लागि मानिसहरुले उचित आहारबिहारमा ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्ने स्पष्ट पारिन् । डा. श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित एक्सरसाइज गरेर नियमित डाक्टरसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको बताईन् । त्यसैगरि डा. अमित शाक्यले मधुमेह रोग संसारभर महामारीको रुपमा फैलिएको र नेपाल जस्तै विकासोन्मुक मुलुकहरुमा यो अझ भयावहरुपमा देखापरेको बताए । उनले मधुमेहको उपचारका लागि पछिल्लो दिन आएको अत्याधुनिक औषधिहरुमध्ये एक रहेको एम्पाग्लिफ्लोजिन बिरामीहरुको सुगर नियन्त्रणका लागि लाभदायक साबित भएको बताए । उनले यो अत्याधुनिक औषधिले मोटोपनालाई कम गर्ने, मुटु तथा मुटुसँग सम्बन्धित समस्याहरुलाई कम गर्ने र उच्च रक्तचापलाई समेत नियन्त्रण गर्ने बताए । सो कार्यक्रममा सहभागी अन्य डाक्टर तथा विज्ञहरुले समेत नयाँ नयाँ रोगीहरु बढिरहेको सन्दर्भमा उचित खानपान र दैनिकीमा ध्यान दिनु नै सबैभन्दा उत्तम भएको बताए । उनीहरुले मधुमेह रोग लागीहालेमा पनि नडराउन भन्दै यसको उपचार नेपालमा नै गर्न सकिने र आवश्यक औषधिहरु नेपालमा नै उपलब्ध रहेको स्पष्ट पारे । सो छलफलमा मधुमेहको उपचारका लागि नेपालमा उपलब्ध रहेको अत्याधुनिक औषधि एम्पाग्लिफ्लोजिनको प्रयोग, यसको प्रभाव र रोग नियन्त्रणको प्रभावकारीताको बारेमा पनि छलफल भएको थियो । जसमा सो औषधिले मधुमेह भएका बिरामीहरुको शरीरमा भएको अत्यधिक सुगरेको मात्रालाई मृगौलाको माध्यमबाट पिसाबसँगै बाहिर फ्याँक्ने काम गर्ने जानकारी दिईयो । यो औषधि प्रयोग गर्ने रोगीले नियमितरुपमा प्रसस्त पानी र झोल पदार्थ पिउनुपर्ने सुझाव दिईएको थियो । एम्पाग्लिफ्लोजिन औषधि नेपालमा सिनर्जी कर्पोरेशनले जर्मन कम्पनी बोएरिंगर इन्गेल्हमबाट आयात गरेर नेपालमा सूपथ मूल्यमा उपलब्ध गराएको छ । बोएरिगर इन्गेल्हमले आफैंले अनुसन्धान गरेर उत्पादन गरेको यो औषधिको प्रभावकारिता निकै उत्कृष्ट भएको डाक्टरहरुले बताए ।