८ घण्टा भन्दा बढी सुत्नु हुन्छ ? होशियार ! चाँडै मृत्युको मुखमा पुगिएला

काठमाडौं। बयस्क उमेर समुहलाई ६-८ घण्टा सुत्न उपयुक्त मानिन्छ। युरोपेली हार्ट जर्नलमा बुधवार प्रकाशित एक विश्वव्यापी अध्ययनको अनुसार ६-८ घण्टा भन्दा बढि सुत्ने मानिसमा मृत्यु र हृदय रोगको जोखिम बढी हुने गर्दछ। अनुसन्धान टोलीले २१ वटा देशहरूको तथ्यांक अध्ययन गरे अनुसार उपयुक्त समय भन्दा बढी सुत्दा व्यक्तिहरूले हृदयघात जस्तै स्ट्रोक वा हृदय विफलता हुने खतराका साथै मृत्‍यु हुने सम्भावना ४१ प्रतिसतले बढेर जान्छ। अझै दिउँसो सुत्ने मानिसहरुमा यसको खतरा बढी देखिएको छ। धेरै सुत्ने बानीलाई कसरी हटाउने ? ‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ। तपाईँलाई आवश्यक पर्ने निन्द्राको समयको मूल्याङ्कन गर्नुहोस्। तर ८ घण्टा भन्दा बढि नहोस्। उठ्ने समयलाई निर्धारण गर्नुहोस्। कार्यालयको समय अथवा परिवारको चाहनाअनुसार आफ्नो उठ्ने समयलाई निर्धारण गर्न सकिन्छ। हरेक दिन त्यहि समयमा उठ्ने बानी गर्नुहोस्। बिदाको दिन होस् या कामको दिन, त्यहि समयमा उठ्नुहोस्। कोठाभरी नै आलरम घडी राख्नुहोस्। जब आलरम बज्छ, उठिहाल्नुहोस्। स्नुज गर्ने काम नगर्नुहोस्। सकेसम्म घडीलाई सुतेको ठाउँबाट टाढै राख्नुहोस्। हरेक रात एउटै समयमा सुत्ने गर्नुहोस्। यहि तालिकालाई दृढ भएर कम्तीमा पनि २ हप्ता पालना गर्नुहोस्। अनि आफैले फरक पाउन सक्नुहुन्छ। सिएनएनको सहयोगमा

रोल्पाका २२ वडा स्वास्थ्य संस्थाविहीन ,४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

काठमाडौं । रोल्पामा ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ । जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ । ७२ वटा वडा रहेको रोल्पाका २२ वटा वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् । महिला स्वास्थ्य स्वयंसेविकाको विशेष परिचालन गरी शतप्रतिशत प्रसूतिलाई संस्थागत गर्ने गरी पहल थालेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले जानकारी दिएका छन् । जटिल प्रसूति सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको पछि अघिल्लो आर्थिक वर्षमा ४१ जटिल प्रसूति सेवा लिएकामा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो सङ्ख्या २० पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख डा आचार्यले बताएका छन् । जटिल प्रसूतिको शल्यक्रिया गरेका सुत्केरी महिलालाई अनुकूल हुने कोठाको अभाव रहेका कारण केही समस्या देखिने गरेको बताएका छन् । ‘‘आमाका लागि खासै समस्या नभए पनि एसएनसियु स्थापना नहुँदा नवजात शिशुलाई असामान्य अवस्था आए उपचार गर्न समस्या हुने गरेको बताउँदै केही पूर्वाधार थप तथा एसएनसियुको स्थापना भए जिल्ला अस्पतालबाटै जटिल प्रसूतिको सबै काम हुने डा आचार्यले जनाएका छन् । जिल्लामा प्रोटोकल अनुसार आर्थिक वर्ष २०७४/७५ मा चारपटक गर्भवती जाँच गर्ने गर्भवतीको सङ्ख्या ४८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या ४४ प्रतिशत मात्र रहेको थियो । गर्भवती भएको कुनै पनि समयमा स्वास्थ्य संस्थामा भेट गर्ने गर्भवतीको सङ्ख्या भने शत प्रतिशत रहेको छ ।  रासस

भरतपुर अस्पतालबाट निस्किने फोहरले स्थानीय बासिन्दामा त्रास 

काठमाडौं । भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । मेडिकल सिटीको रूपमा विकास भइरहेको अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भावना देखिएको छ । यसका लागि भरतपुर अस्पतालको जग्गामा डिपिआर गर्न भरतपुर महानगरपालिकाले रु पाँच लाख छुट्याएको पनि छ र कोरियाली फोहर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन ।भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनक छन् । यहाँ विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहरको आफै प्रबन्ध मिलाउँने भनेर प्रतिबद्धता गरिए पनि यस्ता फोहरको विषयमा खासै ध्यान दिएको नपाइएको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताएका छन् । अस्पतालले सेप्टी ट्याङ्कीबाट कुहिएर निस्किने झोललाई खुला जमीनमै विर्सजन गर्दै आइरहेको छ । लामो समयदेखि यस्ता फोहर व्यवस्थापनका लागि बहस चल्दै आइरहे पनि प्लान्ट निर्माण गर्न अस्पतालमा जग्गा अभाव भएका ले समस्या समधान हुनसकेको छैन । उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन । अस्पतालले फोहर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन् । ती अस्पताललाई फोहर व्यवस्थापनका लागि सुझाव दिएका छा, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीलेका अनुसार अस्पतालमा फोहर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिई सबैभन्दा पहिला अस्पताल नै गम्भीर बन्नु पर्ने बताएका छन् । जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिएका छन् । पहिलो चरणमा अस्पतालमा गएर प्राराम्भिक प्रतिवेदन तयार पार्ने र अस्पतालका सञ्चालकलाई यस विषयमा सचेत गराउँने लापरवाही गरेको पाइएमा कारवाहीको दायरमा ल्याउने बताएका छन् । भरतपुर महानगरपालिकाले आफ्नो फोहरलाई आफैँ व्यवस्थापन गर्न अस्पताललाई आग्रह गर्दै आइरहेको छ । अस्पतालजन्य फोहर समयमै व्यवस्थापन नगरे यहाँ ठूलो समस्या आईपर्नेमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । रासस