नेपालमै पर्याप्त उत्पादन हुने औषधिको आयात रोकौं : नेपाली औषधि उत्पादक
काठमाडौँ। नेपाली औषधि बजारको करीब ३० प्रतिशत हिस्सा विदेशी औषधि उद्योगबाट उत्पादित दर्ता विनाका औषधिले बजार जमाइरहेका छन् । भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटोबाट नेपालमा विना दर्ताका औषधि भित्रिने क्रम नरोकिएको हो । वर्षेनी कति मूल्य बराबरको औषधि अवैधानिक बाटोबाट नेपाल भित्रिन्छ भन्ने आधिकारिक तथ्याङ्क कुनै सरकारी निकायसित छैन । खुला सीमानाका कारण नेपालमा दर्ता नभएका औषधि अवैधानिक बाटोबाट भित्रिरहेका नेपाल औषधि उत्पादक सङ्घको जिकिर छ । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वदेशी औषधि उद्योगबाट पर्याप्त उत्पादन हुने औषधि आयातमा प्रतिबन्ध लगाउन ध्यानाकर्षण गराइराखेका छौं। सरकारले यस्ता औषधि आयातमा रोक लगाउने निर्णय त गर्छ तर कार्यान्वयनमा आउँदैन । मन्त्रालयको नेतृत्व परिवर्तनसँगै निर्णय पनि उल्टिने गर्छ”, सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालको गुनासो छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाले स्वदेशी औषधि उद्योगबाट पर्याप्त उत्पादन हुनेखालका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्दै कार्यान्वयनमा उतार्नुभएपनि हाल सो निर्णय मन्त्रालयले उल्टाइदिएको बताइन्छ । उनी जोड दिन्छन्, “स्वदेशी औषधि उद्योगलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सरकारको नीतिलाई व्यवहारमा उतार्नु आवश्यक छ । अवैधानिक बाटोबाट भित्रिएका औषधिले स्वदेशी उद्योगलाई फस्टाउन दिएनन्, यो रोकिनु पर्छ । ” हाल नेपालमा ५३ औषधि उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट उत्पादित औषधिको हिस्सा कूल बजारको ४५ प्रतिशत छ । अझै भारतीय बजारबाट ५२ र अन्य देशबाट तीन प्रतिशत औषधि आयात हुन्छ । सरकारले निःशुल्क वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिको ९६ प्रतिशत खपत स्वदेशी औषधि उद्योगबाट हुने गर्दछ । सङ्घका अनुसार पछिल्लो समय नेपालमा खपत हुने औषधिको ७० प्रतिशतभन्दा बढी हिसा स्वदेशी उद्योगले धान्न सक्ने अवस्थामा पुगेका छन् । सरकारको चालू आवको नीति तथा कार्यक्रममा “औषधिमा आत्मनिर्भर हुन औषधि उत्पादनको क्षमता विस्तार गर्न प्रोत्साहन गरिने छ । सबै स्थानीय तहमा एक चिकित्सक सेवा सुनिश्चित गरिने” उल्लेख छ । स्वदेशी औषधि उद्योगलाई सरकारले प्रवद्र्धन गर्न केही सहुलियत दिए मात्र औषधि आयातलाई प्रतिस्थापना गर्न सकिने सङ्घले जनाएको छ । “स्वदेशी उद्योगको उत्पादनले ४५ प्रतिशत बजार ओगटदै आएकामा ८० प्रतिशतसम्म उक्लिन सक्ने क्षमतामा पुगिसक्यो । औषधिमा आत्मनिर्भर हुने नीतिलाई दृढतापूर्वक कार्यान्वयनको खाँचो छ”, सङ्घका पूर्वअध्यक्ष महेश गोर्खालीले भन्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालीको स्वास्थ्यमा सरदर प्रतिवर्ष १३७ अमेरिकी डलर खर्च हुने गरेकामा औषधिको हिस्सा ३० डलर मात्र छ । सङ्घका महासचिव प्रज्वलजङ्ग पाण्डेका अनुसार निकट भविष्यमा स्वदेशभित्र ३० नयाँ औषधि उद्योगले उत्पादन शुरु गर्दैछन् । यी उद्योगले विश्वबजारमा आएका पछिल्लो स्मार्ट प्रविधिलाई उपयोग गर्दैछन् । उनी जोड दिन्छन्, “विगतका नाकाबन्दीको समयमा कुनै पनि औषधिको अभाव हुन दिएनौँ । आयातित औषधिभन्दा हाम्रा उद्योगबाट उत्पादित औषधि सस्तो एवं गुणस्तरीय छन् । सबैले किन्न सक्ने गरी मूल्य पनि कायम गरिएको छ ।” सङ्घका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ भन्छन्, “विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार औषधि उत्पादन हुने गर्दछ। विश्वभर उत्पादन हुने औषधिको मापदण्ड एकै प्रकारका हुन्छन् । स्वदेशी उद्योगबाट उत्पादित औषधिको गुणस्तर कम र विदेशी औषधि कम्पनीका गुणस्तर बढी भन्ने कुरा भ्रम र आधारहीन मात्र हो।” स्वदेशी औषधि उद्योगबाट उत्पादित औषधि सस्तो रहेको चर्चा गर्दै उनी सरकारले निर्धारण गरेको मूल्यमा औषधिको बिक्री वितरण भइराखेको बताउँछन्। सङ्घका सस्थापक अध्यक्ष गोर्खाली औषधि उत्पादनमा नेपाल आत्मनिर्भरको बाटोमा अगाडि बढेको चर्चा गर्दै औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थसमेत उत्पादन स्वदेशमा गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्। सङ्घका अनुसार नेपाली औषधि उद्योगमा रु ४० अर्ब माथिको लगानी छ । स्वास्थ्य नीति २०७१ मा औषधि उत्पादनमा आत्मनिर्भर हुने नीति उल्लेख छ । औषधि ऐन २०३५ तथा औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन नियमावली २०३७ लाई परिमार्जन गनुपर्ने सङ्घको माग छ । स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बस्ने सो समितिको बैठक हालसम्म १५ पटक मात्र बसेको छ । रासस
डकनक एपः अस्पतालसम्म पुग्नुपर्ने दिन गए, अब डाक्टर तपाईंको घरमै
काठमाडौँ । के तपाईंलाई थाहा छ नेपालमा पनि घरमै बसिबसि डाक्टर बोलाउन मिल्छ नि ? डाक्टर मात्र होईन तपाईंले आफ्नो ल्याबको टेस्ट, आफुलाई चाहिएको औषधी पनि मगाउन सक्नु हुनेछ । डाक्टर अन डिमान्ड प्रालिले संचालनमा ल्याएको मोबाईल एप डकनकले तपाईंलाई सजिलैसँगै आकस्मिक स्वास्थ्य सेवा, औषधी मगाउने, डाक्टर तथा नर्सको सेवा लिने र ल्याब टेष्टका बारेमा जानकारी दिने गर्दछ । ब्यस्त जीवनशैली र सहरी क्षेत्रमा लामो ट्राफिक जामका कारण अस्पतालसम्म पुग्न जटिल हुने अवस्थामा यो एप उपयुक्त हुने कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष क्षितिज गौतम बताउँछन् । २०७५ साल भदौ १ गतेबाट शुरु भएको यो एपको हालसम्म १५०० जना प्रयोगकर्ता रहेका छन् । नेपालीहरुलाई बुझ्न समय लाग्ने भएपनि यसका प्रयोगकर्ता बढ्ने गौतमको विश्वाश रहेको छ । करिब १ बर्षपछि कम्पनी राजधानी बाहिर जाने लक्ष्य रहेको छ । डकनक हाल हिमाल अस्पताल र नोबल अस्पातलसँगको सहकार्यमा रहेको छ । बिस्तारै अन्य अस्पतालसँग पनि सहकार्य बढाउने तयारीमा कम्पनी रहेको छ। एपले कसरी गर्छ काम ? यो एप गुगल प्लेस्टोर र आईओएस दुवैमा निःशुल्क उपलब्ध छ । तपाई एन्ड्रोईड प्रयोगकर्ता हुनुहुन्छ भने प्लेस्टोरमा गएर एस एपलाई डाउनलोड गर्नसक्नु हुनेछ । यदी तपाईं आईओएस प्रयोगकर्ता हुनुहुन्छ भने एप स्टोरमा गएर यसलाई डाउनलोड गर्न सक्नु हुनेछ । एपमा तपाईंले पहिला आफ्नो बारेमा पूरा विवरण बुझाई लग ईन गर्नुपर्ने हुन्छ । एपमा लग ईन गरिसके पछी एप खोलिन्छ। एपमा चारवटा अप्सनहरु रहेका छन् । पहिलो अप्सन गेट डाक्टर नाउ अर्थात डाक्टर अहिले पाउनुहोस् रहेको छ । यसमा गएर तपाईंले आफु वा को बिरामी भएको र त्यसको कारण विवरणमा राख्नुपर्ने हुन्छ । यसबाट तपाईँले आफ्नो सबैभन्दा नजिक रहेको डाक्टरलाई बोलाउन सक्नुहुनेछ। उपत्यकाका धेरैजसो स्थानमा यो सेवा मार्फत ३० देखि ६० मिनेटभित्रै तपाईंकोमा डाक्टर आई पुग्नेछन् । डाक्टरले तपाईंलाई घरमा आई जाँच गरेर दिएको औषधी सहित सबै शुल्क गरेर कम्तिमा पनि २ हजार शुल्क लाग्नेछ । कम्पनी अब चाँडै अनलाई पे तर्फ जाने कम्पनीका कर्मचारी चर्चित कट्वालले बताएका छन् । एपको दोश्रो अप्सनमा ल्याब टेस्ट अर्थात प्रयोगशाला परीक्षण रहेको छ । यसबाट तपाईंले ल्याबमा परीक्षणको रिपोर्ट घरमै बसि बसि पाउन सक्नु हुनेछ। डोकनकका कर्मचारी आँफैले तपाईंको परीक्षण गर्ने सामाग्री लिएर तपाईंलाई ल्याब टेस्टको रिपोर्ट पनि प्रदान गर्ने गर्दछ। यसको लागि डोकनकले ल्याब टेस्ट बाहेक कुनैपनि रकम लिने गरेको छैन । एपको तेस्रो अप्सन अर्डर मेडिसिन अर्थात औषधी मगाउनु होस् रहेको छ । यसबाट तपाईंलाई चाहिएको कुनैपनि औषधी अर्डर गर्न सक्नु हुनेछ । डाक्टरद्वारा तपाईंलाई दिईको प्रेसक्रिपसन पेपरको फोटो अप्लोड गरेर पनि तपाईंले औषधी प्राप्त गर्न सक्नु हुनेछ । औषधी डेलिभरी शुल्क डोकनकले निःशुल्क गरेको छ । एपको चौथो अप्सनमा अपोइन्टमेन्ट रहेको छ । यसबाट तपाईंले घरैमा बसिबसि आफूले चाहेको विशेषज्ञसँग भेटका लागि पनि समय सहजै बुक गर्न सक्नुहुन्छ ।
इलाममा डाक्टर गोविन्द केसी विरुद्ध जुलुस
इलाम । छ दिनदेखि अनशनरत प्रा. डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको शासनको विरोध गर्ने होसियार जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए । विद्यार्थीले अनशनरत् डा केसीको मागको विरोध गरेका थिए । उनीहरुले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनशनस्थलबाट शुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो । सभामा सम्बोद्धन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए । उनले डा केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोद्धन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताए । उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिए ।