काठमाडौंमा खतरनाक रुघाखोकी, स्वाइनफ्लुको आतंक
काठमाडौं । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ। कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन्। उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन्। ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा। अनुप बास्तोलाले जानकारी दिए। ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो। लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको संक्रमण देखिएको हो,’ डा। बास्तोलाले भने, ‘उहाँलाई निगरानीमा राखेर उपचार सुरु गरेका छौं र अन्य मानिस पनि यसबाट सचेत हुनुपर्छ तर आत्तिनुपर्दैन भनेका छौं।’ डा. बास्तोलाले यो रुघाखोकी अन्य रुघाखोकी जस्तै सामान्य भए पनि बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिमपूर्ण भएकाले सचेतना फैलाउन आवश्यक रहेको बताए। विशेषगरी प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सर्ने यो रुघाखोकीले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वासप्रश्वासमा बाधा पुर्याउन सक्छ। यसलाई चिकित्सकहरू ‘एक्युट रेस्सपिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्ने गर्छन्। स्वाइनफ्लुको नाममा आतंक यो रुघाखोकी सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा सबैभन्दा पहिले फैलिएको थियो। त्यसैले उक्त रुघाखोकीलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो। विश्वका अधिकांश मुलुकमा फैलिएपछि यसलाई विश्व स्वास्थ्य संगठनले ‘पेन्डेमिक एन वन नाइन’ भनेको छ। पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि उक्त रुघाखोकीको भाइरस देखियो। विश्व स्वास्थ्य संगठनले यो रुघाखोकीलाई सामान्य रूपमा लिइएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ। नेपालमा पनि यो समस्यालाई ‘स्वाइनफ्लु’को नाममा बेलाबेलामा सर्वसाधारणलाई आतंकित बनाउने काम भएको छ। दुई वर्षअघि जाजरकोटमा यस्तो समस्या देखिँदा ‘स्वाइनफ्लु’ भन्दै प्रचार गरिएपछि सर्वसाधारण त्रसित बनेका थिए। यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एचवानएनवान’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन्। मौसम परिवर्तन हुनासाथ हरेक वर्ष नेपालमा यो समस्या देखिने गरेको छ। समयमै परीक्षण भएमा यसको उपचार सम्भव भएको डा. बास्तोलाले बताए। अन्नपूर्ण पोस्टबाट ।
विरामीलाई पीडा, आफन्तलाई आर्थिक सकस, रोग पत्ता लगाउदै सकियो ८ लाख
काठमाडौं । परिवारले मर्न लागे भनेर दशदान वैतरणी गरिसकेका थिए । बाँच्ने आश भने उनमा अझै जीवितै थियो । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस गर्ने बेडमा सुतिरहेकी ओखलढुंगाकी ५२ वर्षीया पोकलकुमारी दाहालको अझै पनि बाँच्ने रहर छ । नाति नातिना खेलाउने पनि रहर छ । अस्पतालले सम्पूर्ण उपचार खर्च बेहोरे पनि काठमाडौंमा दाल भात तरकारी खाएर बस्न र दुईछाक टार्नकै लागि र आफूसँग हातमा सिप नभएका कारण अस्प्तालभित्रकै क्यान्टिनमा श्रीमान् ग्याँस पानी बोक्ने काम गर्न थालेका छन् । दाहाल परिवार कृषिलाई व्यवसाय मानेर जीवन चलाइरहेका थिए । हात मुख जोड्न कुनै समस्या थिएन । चार वर्ष अगाडि दाहालको शरीरमा अनौठो लक्षण देखा प¥यो । खाना नरुच्ने, वाकवाकी लाग्ने । अचानक यस्तो लक्षण देखा परेपछि उपचार गर्न ओखलढुंगाको मिसन अस्पताल लगियो । ‘त्यहाँ रोग नै पत्ता लागेन त्यसपछि उहाँ (श्रीमानले) धरान लैजानुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘धरानको औषधि ६ महिनासम्म खाँदा पनि व्यथा बिसको उन्नाइस भएन ।’ अस्पतालको औषधिले नछोएपछि दमकका स्थानीयकै सल्लाहमा २० हजारसम्मको जडिबुटी खाएर व्यथासँग लड्ने प्रयास गरिन् दाहालाई त्यसले पनि निको भएन । कहीं कतै उपचार गराउँदा पनि सञ्चो नभएपछि श्रीमान्ले उपचारका लागि काठमाडौं ल्याइपु¥याए उनलाई । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । अब उपचारका लागि कहाँ पु¥याउने पैसा पनि साथमा धेरै थिएन । श्रीमान्ले उनलाई भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पु¥याए । अस्पतालकै तथ्यांक हेर्ने हो भने पनि यहाँ दिनमा करिब ३ सय बिरामी आउने गर्छन् । अस्पतालमा एक सातामा तीनदेखि आठजनासम्मको मिगौला प्रत्यारोपण गरिन्छ । स्थापना कालदेखि २०७४ जेठ सम्मको तथ्यांक हेर्ने हो भने ३ सय ८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणको लाइनमा रहेका मानिसहरू १००औं छन् । अमेरिकामा पीआर पाएर बसेका र उतै डायलोसिस गरेका मिर्गौलापीडित दीपक शर्मा अस्पतालको उपचार पद्धतिप्रति प्रभावित भएर नेपाल आएको बताउँछन् सोही लाइनमा छिन् दाहाल पनि । कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा कार्यकारी निर्देशक डां पुस्करचन्द्र श्रेष्ठका अनुसार एउटा मिर्गौला प्रत्यारोपणका लागि ४ लाख ५० हजार रुपैयाँ लाग्छ । प्रत्यारोपणपश्चात् १ लाख औषधि खर्च लाग्छ । अस्पतालमा दिनमा १०० देखि १ सय २० जनासम्मको डायलोसिस हुँदै आएको । सरकारले डायलोसिस सित्तैमा गर्ने व्यवस्था गरेको छ । राजधानी दैनिकबाट ।
उपचार खर्चमा पत्रकारलाई २५ प्रतिशत छुट, साउन १ गतेदेखि लागु हुँदै
ताप्लेजुङ । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह यहाँका पत्रकारलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट उक्त छुटको व्यवस्था गरिएको बताए । पत्रकार महासङ्घको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुनेसमेत उनले बताए । रासस