मर्निङ वाकमा जाँदै हुनुहुन्छ? यि कुरामा ध्यान दिनुहोस्

काठमाडौं। नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पुर्‍याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा १. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ । ५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ । मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिनुपर्छ १. सबेरै उठ्ने: बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तिमा आधा घन्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ। २. हिँड्ने तरिका : मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन। ३. कपडाको छनौट : मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन। ४. गीतसंगीत : मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो। यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ। ५. इयरफोन कानमा नराख्ने : मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो। बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ। ६. गफ गरेर नहिँड्ने : मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन। ७. एकान्तमा नहिँड्ने : मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन। ८. समाचार नसुन्ने : मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला? त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन् । बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो-टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन। ९. धूमपान-मद्यपान नगर्ने : मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरुलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्। १०. कुकुरलाई साथै लिई नहिँडौं : मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने? त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा-पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने हो? त्यो विचार पुर्‍याउनुपर्छ। ११. खानपानमा ध्यान : मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठीक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ। १२. नुहाउने तरिका : मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ। बिहान उठ्ने बित्तिकै यस्ता कहिल्यै नगर्नुहोस् १. हत्तपत्त उठेर काममा नलाग्नु दिनको आरम्भ बिस्तारै-बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरमसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने । २. स्ट्रेचिङ नगर्नु सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ । ३. ब्रेकफास्ट नगर्नु बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ । ४. आँखा खोल्नसाथ मोबाइल चेक नगर्नु बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन । ५. मुस्कुराउनमा कन्जुस्याँई तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ । ६. एक्सरसाइज नगर्नु धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ । ७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरामपूर्वक मलमुत्र त्याग गर्नैपर्छ ।  

म्याक्स हेल्थकेयर नेपालमा आयो; मेडिसिटी, बिएनबि र स्टार हस्पिटल स्थानीय साझेदार

काठमाडौं । उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवाप्रदायक संस्था म्याक्स हेल्थकेयरले नेपालमा सेवा विस्तार गरेको छ । कम्पनीले शनिवार एक समारोहबीच काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको हो । केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र उजवेकिस्तानमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले नेपालमा पनि सेवा विस्तार गरेको हो । उपचारका लागि भारत जाने नेपालीहरुको संख्या उल्लेख्य भएकोले नेपालमा सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नेपालमा स्वास्थ्योपचार क्षेत्रमा निजी हस्पिटलहरु र डायग्नोस्टिक केन्द्रहरुको संख्यात्मक वृद्धि भएको अवस्थामा म्याक्स हेल्थकेयर नेपालमा आएको हो । ‘हामीले म्याक्स हेल्थकेयरमा नेपालबाट मात्रै वर्षेनी सयौं विरामीहरुलाई स्वास्थ्य सेवाप्रदान गर्ने गरेका छौं । यो नयाँ विरामी सहायता केन्द्र म्याक्स हेल्थकेयरले विश्वभरका विरामीहरुलाई विश्वस्तरीय स्वास्थ्यउपचार सेवा गर्न गरेको प्रतिबद्धताकै एक बिम्ब हो’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कम्पनीका अनुसार विरामी सहायता केन्दको शुभारम्भसँगैं म्याक्स हेल्थकेयर, नयाँ दिल्लीद्वारा उपलब्ध गराइरहेको विश्वस्तरीय स्वास्थ्य उपचार सेवामा नेपालका जनताहरुको पनि पहुँचपुग्नेछ । विरामीहरुले टाढै बसेर टेलि–परामर्शको मद्दतले सम्भावित जिज्ञासाहरुको समाधान प्राप्त गर्न समर्थ हुनेछन् । यस विरामी सहायता केन्द्रले नेपालमा म्याक्स हेल्थकेयरका डक्टरहरुद्वारा शल्यक्रिया सम्बन्धी सुविधा पनि प्रदान गर्नेछ र म्याक्स हेल्थकेयरमा उपचार गराई फर्किएका नेपाली विरामीहरुलाई फलो–अप उपचार सेवा पनि उपलब्ध गराउनेछ । ‘हामीले प्रत्येक महिना ४० जना विरामीहरुलाई नजिकबाट हेरिरहेका छौं’ कम्पनीले भनेको छ ‘हामीसँग हरेक महिना ७०–८० जना विरामीहरुले सेवा लिने अपेक्षा गरिरहेका छौं ।’ ‘हाम्रो लक्ष्यभनेको स्थानीय स्वास्थ्योपचार सेवा प्रदायकहरु बिएनबि हस्पिटल, स्टार हस्पिटल, मेडिसिटी, आदिसँग नजिकमा रहेर काम गर्ने, क्लिनिसियनहरु र नर्सिङ स्टाफहरुको एक कार्यदल खडा गर्ने रहेको छ । एकीकृत कार्यक्रमअन्तर्गत डक्टर र स्टाफ प्रशिक्षण कार्यक्रमहरु, म्याक्स हेल्थकेयरका विज्ञहरुबाट स्थलगत परामर्शहरु र प्रक्रियाहरु एवं हस्पिटल व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने रहेका छन्’ सिटिभिएस दिल्ली एण्ड एनसिआर, कार्डियाक साइन्स–कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी, म्याक्स सुपर स्पेसियालिटी हस्पिटल, साकेतकासिनियर डाइरेक्टर डाक्टर रजनीस मल्होत्राले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने । म्याक्स हेल्थकेयरले उत्तर भारतको १२ स्थानहरुमा ३० वटाभन्दा बढी मेडिकल तहहरु संचालन गर्दछ । यसमध्ये दिल्ली र एनसिआरमा ९ वटा छन् भनें बाँकी अन्य मोहाली, बथिण्डा र देहरादुनमा रहेका छन् । म्याक्स हेल्थकेयरको सञ्जालमा रहेका १२ वटा हस्पिटलहरुसँग २,२०० डाक्टरहरु, ९,३ ०० कामदारहरुको संलग्नता छ भनें ८० भन्दा बढी राष्ट्रका २५ लाख विरामीहरुले उपचार गराएको रेकर्ड छ ।

नेपालमा वाथ रोगीको संख्या बढ्दो; धुम्रपान, बढी तौल र विलासी जीवनशैली मुख्य कारण

काठमाडौ । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ ।विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् । बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्नेआदि समस्या देखा पर्दछ । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सकसहित करीब १५० जनाको सहभागिता थियो । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ मा विश्वभर मनाइन्छ । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए। बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्नसक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताए।नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ । रासस