औषधि अब १५ दिनलाई मात्रै पुग्ने, उत्पादकको चरम लापर्वाहीले देशैभर अाैषधि अभाव हुदैँ
काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा।भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक औषधिको अभाव देखिने सम्भावना बढेको बताए। सरकारसँग १५ दिनसम्मलाई मात्रै पुग्ने औषधिको मौज्दात रहेकाले समस्या देखिएको उनको भनाइ छ। नेपाली औषधि उत्पादक कम्पनीलाई स्वास्थ्य मन्त्रालयले प्रवद्र्धन गर्ने र नेपालमा उत्पादन भएका औषधिको विदेशबाट आयातमा रोक लगाउने सरकारको तयारी छ। नेपाली कम्पनीले १३ प्रकारका औषधि बनाउने कच्चा पदार्थ ल्याउन नसक्दा अत्यावश्यक औषधिको उपलब्धतामा चुनौती थपिएको छ। नेपाली उत्पादक कम्पनीले ४६ प्रकारका औषधि उपलब्ध गराउने जिम्मा पाएका छन्। ‘औषधिको अभाव नहोस् भन्नेमा हामी थियौँ, तर दुर्भाग्य भन्नुपर्छ, औषधि उपलब्ध गराउने समयमा कच्चा पदार्थको आयातका लागि समय थप गर्नुपर्यो भन्दै नेपाली कम्पनीले निवेदन दिएका छन्। यो आमनागरिकको स्वास्थ्यमा खेलबाड मात्रै होइन, गैरजिम्मेवारीपन पनि हो,’ तिंकरीले भने। सरकारले ४६ प्रकारका औषधिको आवश्यकता महसुस गर्दै खुला गरेको टेन्डरमा चार भारतीय र सात नेपाली कम्पनीले औषधि उपलब्ध गराउने जिम्मा पाएका थिए। भारतीय कम्पनीहरूले समयमै औषधि उपलब्धता गराउने अवस्था रहे पनि नेपाली कम्पनीले अहिलेसम्म कच्चा पदार्थ ल्याउन समस्या भएको भन्दै म्याद थप गर्न आपूर्ति व्यवस्था महाशाखामा एक दर्जन बढी निवेदन परेका छन्। ‘खरिद नियमावलीमा आवश्यक परेको खण्डमा म्याद थप गर्न सकिने उल्लेख छ। यसले गर्दा औषधि उत्पादक कम्पनीहरूलाई सहज भएको छ,’ तिंकरीले भने, ‘औषधि जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा अनेक बहाना देखाएर कोही पन्छिन मिल्दैन ।’ नेपालमा औषधि उत्पादन गर्ने कच्चा पदार्थ छैन। भारत, चीन, अमेरिका र जर्मनीलगायतका देशबाट कच्चा पदार्थ ल्याउनुपर्ने हुन्छ। औषधि उत्पादक कम्पनीहरूले अहिलेसम्म कच्चा पदार्थ सप्लाई गरेका छैनन्। जहाजबाट ल्याउन खर्चिलो पर्ने भएकाले पानीजहाजको माध्यमबाट ल्याउँदा ७० दिन लाग्छ। ‘औषधि बनाउने कच्चा पदार्थको आयातमा ७० दिन लाग्छ। हामीसँग १५ देखि एक महिनालाई मात्रै पुग्ने औषधि मौज्दात छ। अहिलेसम्म म्याद थपका निवेदन आएकाले ६ महिनायता नेपाली औषधि उत्पादक कम्पनीले सरकारलाई औषधि दिने अवस्था छैन,’ निर्देशक तिंकरीले भने। कम्पनीहरूले एक महिनादेखि तीन महिनासम्मको समय थप्न माग गरेका छन्। यो समयमा अति नै आवश्यक पर्ने औषधिसमेत नआउने भएपछि गम्भीर समस्या देखिने उनको भनाइ छ। नयाँ पत्रिका दैनिकबाट ।
सुर्तीजन्य पदार्थ सेवनले हृदयघात बढ्यो, ७० प्रतिशत कर लगाउनुपर्छ
काठमाडौं । चिकित्सकहरूले सुर्तीजन्य पदार्थ सेवनका कारण ४० वर्षमुनिका मानिसलाई हृदयाघात हुने गरेको बताएका छन् । सुर्तीजन्य पदार्थ सेवनले हृदयाघात हुने मानिसको यकिन तथ्यांक नभए पनि अस्पतालमा आउने बिरामीमा अधिकांश ४० वर्षमुनिका रहेको उनीहरूको भनाइ छ । विश्व धूमपान दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिलले धेरैजसो मानिसमा हुने हृदयाघात सुर्तीजन्य पदार्थ सेवनले भएको बताए । ‘बट्टामा सन्देशमूलक चित्र राखेर मात्रै पनि हुँदैन । सुर्तीजन्य पदार्थको सेवनबाट युवाहरूलाई बाहिर ल्याउन चुरोटले के असर गर्छ भन्ने स्पष्ट रूपमा बुझाउनुपर्छ,’ एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने । सुर्तीजन्य पदार्थ सेवनले फोक्सोमा मात्रै असर गर्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । ‘निरन्तर सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई मात्रै स्वास्थ्यमा समस्या गर्छ भन्ने मानिसहरूमा परेको छ,’ उनले भने, ‘जीवनमा एकपटक मात्रै चुरोटको सेवन गरे पनि कुनै न कुनै रूपमा हृदयाघात हुने गर्छ ।’ डर उत्पन्न नहुँदासम्म खान छाड्दैनन् सरकारले सुर्तीजन्य पदार्थको बट्टामा चेतनामूलक चित्र छापे पनि त्यसको प्रभाव सेवनकर्तामा त्यति धेरै नपर्ने चिकित्सकहरूको भनाइ छ । ‘चित्रसहितको बट्टा बनाउनु आफैँमा नराम्रो होइन, तर त्यसको प्रभावले सुर्तीजन्य पदार्थको सेवनकर्ता घट्ने आधार देखिँदैन । जबसम्म सेवनकर्तामा कुनै न कुनै रूपमा डर उत्पन्न हुँदैन, तबसम्म सुर्तीजन्य पदार्थको सेवन गर्न छाड्दैनन्,’ डा. अनिलले भने । क्यान्सर र हृदयाघातले धेरै मानिसको मृत्यु हुनुको प्रमुख कारक सुर्तीजन्य पदार्थ सेवन नै रहेको उनले बताए । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सरकारले २० खिलीभन्दा कम प्याकेट बनाउन रोक लगाएको बताए । विद्यालय वरिपरि सय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाई त्यसलाई प्रभावकारी अनुगमनमा जुट्ने उनको भनाइ थियो । खड्काले आन्तरिक राजस्व विभागसँग छलफल भइरहेकाले एक महिनाभित्र ९० प्रतिशत सन्देशमूलक चित्र सुर्तीका बट्टामा छापिने विश्वास व्यक्त गरे । ९० प्रतिशत लागू नहुनु दुःखद पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले अहिलेसम्म सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत सन्देशमूलक चित्र छाप्न नसक्नु दुःखद भएको बताए । आफू मन्त्री हुँदा जनताका हितमा गरेका निर्णय वर्तमान मन्त्रीले भुलेको आरोप लगाए । ‘मेरो पालामा जोखिम मोलेर रातारात सुर्तीजन्य पदार्थको बट्टामा सन्देशमूलक चित्र छाप्नेदेखि लिएर थुप्रै नीतिगत काम गरेँ । अहिले ९० प्रतिशत लागू गर्न सकिएन भन्नु आश्चर्य छ,’ उनले भने । महिला बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समिति सभापति रञ्जुकुमारी झाले जनताको स्वास्थ्यका विषयमा आफू र समिति सधैँ चनाखो रहेको बताइन् । ‘सबैभन्दा ठूलो कुरा मानिसमा इच्छाशक्ति आवश्यक पर्दोरहेछ । स्वास्थ्य मन्त्रालयले पनि सुर्तीजन्य पदार्थको नियन्त्रणमा इच्छाशक्ति देखिएको भए ९० प्रतिशत चित्र छाप्न समस्या थिएन,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकबाट ।
मन्त्रीकै सहयोगीबाट चिकित्सक ठगिए, नक्कली माइन्युट बनाउने पीए हटिसके तर पक्राउ परेनन्
काठमाडौं । जिल्ला अदालतले नेशनल मेडिकल साइन्सको नक्कली माइन्यूट पुस्तिका बनाएर छात्रवृत्ति दिलाउने भन्दै ठगी गरेको कसुरमा २०७३ जेठ ३२ गते नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोक्यो। डा.मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालिन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो। मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे। अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे। उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन्। यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने। सरोज उनका पिए। कानुनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे। असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आए पछि मन्त्री केसीले उनलाई हटाए। तर पनि उनी पक्राउबाट जोगिदै आए। केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे। नागरिक दैनिकबाट ।