वीरमा अस्पतालको सामान खरिदमा अनियमितता, ६ करोडको मेसिन दोब्बर मुल्यमा खरिद
काठमाडौं । मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार बञ्चित भएका छन्। क्यान्सरका बिरामीलाई रेडियोथेरापी उपचार गर्ने कोबोल्ट- ६० मेसिन बिग्रिएको १९ महिना भइसकेको छ। त्यसयता वीरका बिरामी महंगो उपचारका लागि अन्य अस्पतालमा जान बाध्य भएको छ। वीर अस्पताललाई ५ हजार रूपैयाँमा यो सेवा दिँदै आएको छ। भक्तपुर क्यान्सर अस्पतालले त्यही सेवा दिन २५ हजार लिन्छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजार रूपैयाँ सम्म असुल्दै आएका छन्। वीर अस्पतालको कोबाल्ट मेसिन बिग्रनु अघि प्रत्येक दिन ७०/८० जना क्यान्सर जाँच र उपचारका निम्ति आउथे। अचेल ३० देखी ४० जना क्यान्सरका बिरामी आउने गरेका छन्। वीरले क्यानडामा बनेको कोबाल्ट- ६० मेसिन १० वर्षको वारेन्टीसहित २०४८ सालमा खरिद गरेको थियो। वीर अन्तर्गत न्याम्समा यसको प्रयोग गरिएको थियो। विशेषज्ञले क्यानेडेली कम्पनीको कोबाल्ट – ६० मेसिन १२ करोड रूपैयाँमा किन्न जोड दिइरहेका छन्। स्रोतका अनुसार न्याम्स उपकुलपति डा। गणेशमान गुरूङले भारतीय कम्पनीभावाट्रोनको मेसिन ११ करोड ८० लाख रूपैयाँमा खरिद गर्न दबाब दिइरहेका छन्। विशेषज्ञ टोलीले भने कमशल यो मेसिनलाई स्वीकृति दिन चाहेको छैन। विशेषज्ञका अनुसार यो कम गुणस्तरको र अस्पतालका निम्ति कामदलाग्दो छैन। यो मेसिनको निर्माता भारतीय कम्पनीले मंगोलियाका अस्पताललाई उपहार दिए पनि यसको कार्यक्षमताबाट त्यहाँका चिकित्सक सन्तुष्ट हुन नसकेको जानकारी समेत स्रोतले दिएको छ। भारतीय मेसिन अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए)को स्वीकृतिका साथै विशेषज्ञले तयार पारेको मापदण्ड अनुरुप छैन। वीरका चिकित्सकका अनुसार भारतीय मेसिनको गुणस्तर नपुग्दा एफडीए लाइसेन्ससहितको अनुमति नपाएको हो। यसको मूल्य अत्यावश्यक उपकरणसहित ६ देखि ७ करोड रुपैयाँ भन्दा बढी पर्दैन। नेपाल सरकारले भारत सरकारसँग आग्रह गर्ने हो भने सित्तैमा पाउन पनि सकिन्छु स्रोतले भन्यो । उपकुलपति गुरुङले क्यानाडाली कम्पनी टेण्डर प्रक्रियामा सहभागी नभएको बताए। नागरिक दैनिकबाट ।
फरक रगत समूह मृगौला प्रत्यारोपण, नेपालमै सफल सत्यारोपण
काठमाडौं । नेपालमा पहिलोपटक फरक रक्त समुहबाट मृगौला प्रत्यारोपण सफल भएको छ । यसअघि एउटै रक्त समुह भएकाहरुको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक एबीओ इन्कम्प्याटिबल मृगौला प्रत्यारोपण भएको हो । काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहले बताए । नेपाल समाचारपत्र दैनिकबाट ।
मोटोपन घटाउन चिनी कर लागू हुँदै, यस्ता छन् धेरै चिनीले लग्ने राेगहरू
काठमाडाैं । बेलायती सरकारले बढ्दो मोटोपन कम गर्न सन् २0१८ देखि लागू हुने गरी गुलियोयुक्त पेयमा चिनी करको घोषणा गरेको छ । बढ्दो मोटोपन, खासगरी बालबालिकाहरूलाई यस्तो पेय पिउन कम गर्नका लागि चिनी कर प्रत्येक एक लिटरमा २४ पेन्स (पैसा) हुने भएको छ । मोटोपन यही रूपमा वृद्धि हुँदै गएमा बेलायती स्वास्थ्य सेवा नै टाट पल्टने कुराको चेतावनी विज्ञहरूले पहिले नै दिएका छन् । चिनी करबाट बेलायतमा वार्षिक ५0 करोड पाउन्डभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ । जुन रकम स्कुलको खेलकुदमा खर्च गरी बालबालिकाहरूको क्रियाशीलतालाई अरू बढाउने योजना बनाइएको छ । यसरी मोटोपन कम गर्ने लक्ष्य राखिएको छ । चिनी कर लगाउने पहिलो देश मेक्सिकोमा यसपछि चिनीयुक्त पेयको उपभोग १२ प्रतिशत कम हुनुको साथै पेय तथा अन्य खाना बनाउँदा पनि चिनीको कम प्रयोग गरिएको एक तथ्यांकले जनाएको छ । यसको सीधा असर मानिसको स्वास्थ्यसँग जोडिएको छ । धेरै चिनी मौन घातक एक तीन सय ३0 मिलिलिटरको क्यान कोलामा करिब ३५ ग्राम चिनी (७ टेबल चम्चा ) हुन्छ । एउटा मार्सबार चकलेटमा ३३ ग्राम चिनी हुन्छ । यी दुवै एक महिलाले एक दिनमा खान सुझाव दिइएको चिनीभन्दा बढी हुन आउँछ । एक पुरुषलाई एक दिनमा ३७.५ ग्राम (नौ टेबल चम्चा ) र महिलालाई २५ ग्राम (६ टेबल चम्चा) भन्दा बढी नखानु भन्ने विज्ञहरूको सुझाव छ । चाहिनेभन्दा बढी चिनी खानु स्वास्थ्यका लागि उपयुक्त नभएको कुरा अनेक अनुसन्धानले प्रमाणित गरेको छ ।नुन र उच्च रक्तचाप सँगसँगै चिनी मौन घातकको रूपमा आएको छ । सन् २00८ मा गरिएको अध्ययनमा बढी फ्राकटोज (फलफूल र वनस्पतिबाट पाइने गुलियो जुन पचाउँदा सीधा रक्त कोषिकामा जान्छ) खानाले लेप्टिन प्रतिरोधको अवस्थासँग जोडिएको छ । लेप्टिन भनेको एउटा हार्मोन हो जसले खाना खाँदा पुगेको संकेत दिन्छ । हाम्रो समस्या चाहिँ दिमागले पुग्यो भनेर दिएको सूचनालाई बेवास्ता गर्छौं । धेरै बेवास्ता भएपछि कोही व्यक्तिहरूमा लेप्टिनले कार्य गर्न चाहँदैन । त्यसो भएपछि शरीरलाई खाना पुगेको भन्ने संकेतको कार्य नभएपछि सधैं धेरै खानुपर्ने भयो । जसले मोटोपन धेरै बढाउने भयो । यस्तो मोटोपन बढ्नु कुनै लक्षणहरू या चेतावनीको घन्टी नै बज्छ । चाँडै धेरै वजन बढ्छ भने सायद फ्राकटोजले कति भन्ने लेखाजोखा गर्नु उपयुक्त हुन्छ । अधिक चिनीले ल्याउने जोखिम चिनीले खासगरी भुँडी ठूलो बढाउने कार्य गर्छ । पार्क, स्कुल आदिमा बालबालिका देखेर मोटोपनको अनुमान गर्न सकिन्छ । यी सबै मोटोपनमा बढी देखिने ठूलो भुँडी हो । यसको मुख्य कारण फ्राकटोज बढी भएको खानाले गर्दा हो । फ्राकटोज भनेको खाना तथा फलफूलमा पाइने एक किसिमको चिनी हो । सन् २0१0 मा गरिएको अध्ययनले ग्लुकोज नभई बढी फ्राकटोज भएको खानाले भिसरिएयल फ्याटमा हुने कोषलाई परिपक्व बनाउने कारण बन्छ, जसले ठूलो भुँडीलाई अरू बढाउँछ । ठूलो भुँडीले मुटुरोग, बाथ, उच्च रक्तचाप, क्यान्सर र मधुमेहको जोखिम बढाउँछ ।अमेरिकी मुटु संघले सन् २0१३ मा गरेको अध्ययन अनुसार चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्न सक्ने प्रमाण देखाएको छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अध्ययनले चिनी तथा स्ट्राचमा हुने मोलिक्युल जसलाई ग्लुकोज मेटाबोलाइट ६ फोस्फेट भनिन्छ, जसले मुटुको मांसपेशीमा हुने प्रोटिनलाई बदल्ने कार्यको जिम्मेवारी लिन्छ । यस बदल्ने क्रियाले हार्ट फेलियरको कारक बन्न सक्छ । हार्ट फेलिएर भएका करिब आधा बिरामी पाँच वर्षभित्र मर्नसक्ने तथ्यांक छ । चिनी क्यान्सरमा पनि जोडिएको छ । पोषणको क्षेत्रमा चिनीको कुरा गर्दा इन्सुलिनलाई अलग राख्न गाह्रो पर्छ । किनभने इन्सुलिन कोषहरूमा चिनीको सानो हेरचाह गर्छ । धेरै खाइयो या हाम्रो इन्सुलिनले कार्य गरेन भने शरीरले विद्रोह गर्छ । इन्सुलिन प्रतिरोध र क्यान्सरसँग जोडिएको धेरै अध्ययनले जनाइसकेको छ । आन्द्रामा हुने हार्मोन जीआईपीलाई चिनीले बढाउने काम गर्छ । जीआईपीलाई बी केटनिन भन्ने प्रोटिनले नियन्त्रण गर्छ जुन पूरै चिनीको लेबलसँग भर पर्छ । यस्तो भएपछि प्यानक्रियाजले इन्सुलिन बढी निकाल्छ । अनुसन्धानले देखाएको छ कि केटनिनले कोषको क्यान्सर हुने प्रबलतालाई बढाउन सक्छ। चिनीले रगत पम्प गर्ने मुटुको क्षमतालाई प्रभाव पार्छ । राम्रोसँग रगत मुटुले पम्प नगरे हार्ट फेलियरको जोखिम प्रबल रूपले बढ्छ । अरू अध्ययनले धेरै चिनी र स्ट्राचले स्तन र नितम्ब क्यान्सरको सम्बन्ध भने नकारात्मक देखाएको छ । हालै गरिएको अध्ययनमा घ्रेलिन हार्मोन परिवर्तन हुने व्यक्तिमा बढी चिनी खाने बानी देखिएको छ । घ्रेलिन भन्ने हार्मोनले दिगागलाई भोक लागेको बारे भन्छ । घ्रेलिन वंशाणुगतसँग पनि जोडिएको छ । चिनी र मदिरा दुवैको कलेजोलाई टक्सिक गर्ने असर उस्तै हो । चिनीले मदिराले बढाएको रोगलाई अरू बढी जोखिम बढाउने काम गर्छ । दिमागलाई भार चिनीले दिमागको पावरलाई कम गर्न सक्छ । सन् २00९ मा गरिएको अध्ययनले ग्लुकोज खाँदा कोषहरू बूढो हुने बीच सकारात्मक सम्बन्ध रहेको पाइएको छ । कोष बूढो हुँदै जाँदा चाउरी पर्नेदेखि अरू खतरनाक रोगको कारक बन्न पनि सक्छ । तर, डरलाग्दो के छ भने बढी चिनी खानाले दिमाग चाँडै बूढो हुने प्रमाण देखिएको छ । जसले गर्दा स्मरण शक्ति कम हुनुको साथै अन्य रोगको सिकार बन्ने प्रबल जोखिम बढ्छ । दाँतमा कीरा लाग्नुलगायत अनेक स्वास्थ्यका जोखिमहरू बढी चिनीको उपभोगबाट हुन सक्छ । धेरै खानामा चिनी लुकाइएको हुन्छ । त्यसैले कुन खानामा कति चिनी छ, जानकारी राख्नुपर्छ । आफूले खाने चिनीको लेखाजोखा राखेर यसको अधिक सेवनलाई कम गर्न सकिन्छ । अत्यधिक चिनीको सेवनले आयु कम हुन्छ । सन् २0१३ मा गरिएको अध्ययनले संसारमा एक लाख ८0 हजार मानिस हरेक वर्ष अकालमा मर्ने कारण बढी चिनी खानाले भनेर जनाएको छ । चिनीले मोटोपनको वृद्धि गराएको छ । चिनीले प्रशस्त ऊर्जा दिन्छ तर यसले पेट भरिएको संकेत फाइबरयुक्त खाना, प्रोटिनले जस्तो दिँदैन । यो महत्वपूर्ण हो कि दूधबाट आउने चिनी ल्याक्टोज र फलफूलबाट आउने चिनी र फाइबरले शरीरलाई फाइदा गर्छ । यो ठिक्कको परिणाममा खानुपर्छ । त्यसकारण बढी चिनी उपभोगलाई कम गरी यसबाट हुने रोगको जोखिमलाई कम गर्ने पहल गर्नु नै बाञ्छनीय हुन्छ । यसको सुरुवात जस्तै चियामा चिनी कम गर्ने, चकलेट, मिठाई कहिलेकाहीँ ठिक्कको परिणाममा मात्र खाने, फिजी पेयलाई लगाम लगाउने आदि गर्नाले मोटोपनलगायत माथि उल्लेख गरिएको रोगको जोखिम कम गर्न सकिन्छ । एउटा सानो जीवनशैली परिवर्तनले ठूलो स्वास्थ्य लाभ हुन सक्छ । (अन्नपूर्ण पाेष्टबाट)