बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने रु छ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

नर्भिक अस्पतालले सुरु गर्‍यो सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन, २ सय शैय्या थप्ने तयारी

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधी जडान सहितको उक्त सेवाको बुधबार पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन् । उक्त प्रविधी जडानपछि अस्पताल पूर्व रुपमा न्युक्लियर मेडिसिन सेन्टरका रुपमा परिणत भएको सञ्चालकले जनाएका छन् । नेदरल्याण्डमा निर्मित ३.०टि इन्जेनिया एमआरआईमा यसको सुरुङ भित्र श्रव्य-दृश्य प्रणाली छ । जसकारण बिरामीले आफूलाई मनपर्ने, सङ्गीत तथा भिडियो सुन्न वा हेर्न सकिने सञ्चालकले जानकारी दिएका छन् । एमआरआई प्रक्रियाको चित्र स्पष्ट र आरामदायी सुविधा भएको यो नेपालकै पहिलो प्रविधी भएको दाबी गरिएको छ । यो प्रणालीमा सामान्य एमआरआईभन्दा करिब ८० प्रतिशत कम ध्वनी उत्पन्न हुनेभएकाले बिरामी डराउने समस्या नरहेको सञ्चालकले जानकारी दिएका छन् । सीटी स्क्यानमा आइडोजफोर प्रणाली रहेकाले यसलाई विश्वकै उत्कृष्ट मानिएको सञ्चालकको दाबी छ । यो प्रविधी पूर्णरुपमा बिरामीमैत्री, सहज र आरामदायी रहेको अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले जानकारी दिइन् । नेपालको घरदैलोमा अन्तराष्ट्रिय स्तरको चिकित्सा सेवा पुर्‍याउँदै सेवा नर्भिकले आफूलाई अझै परिस्कृत र परिमार्जित गरेर सेवा सुविधाहरु थप्न लागेको उनले बताइन् । ‘आगामी पञ्चवर्षीय योजना अन्तर्गत नर्भिकको हालको पूर्वाधारमा आमूल परिवर्तन गरी विद्यमान शैय्या थप गरी २०० पुर्‍याउनेछौं ‘, उनले भनिन्,’ त्यस्तै ३ मोडुलर अपरेटिङ सुइट्समा जेसिइ मापदण्ड अनुसार थप पाँच अपरेटिङ सुइट्सहरु थप गरी ८ वटा अत्याधुनिक मोडुलर सुइट्स सञ्चालनमा ल्याइनेछन् ।’ त्यस्तै अस्पतालमा कार्डियोलोजी सेन्टर, डाइजेस्टिभ डिजिज सेन्टर, मदर एण्ड चाइल्ड सेन्टर, आइभिएफ सेन्टर, पल्मोनरी सेन्टर र ट्रमा केयर सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिइन् ।

शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

चितवन । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९९९, खैरहनी नगरपालिकाका आठ हजार ८३४, रत्ननगर नगरपालिकाका ११ हजार ३४१ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै कालिका नगरपालिकाका पाँच हजार ९९, माडी नगरपालिकाका तीन हजार ४३६ र इच्छाकामना गाउँपालिकाका ५६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताए । बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उनले जानकारी दिए । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो । पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजारसम्मको उपचार सेवा थपिनेछ । यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ । रासस