डा गोविन्द केसी फेरि अनशनमा
काठमाडौ । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह अनशन शुरु गरेका छन् । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गरेका हुन् । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गरेका हुन् । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो । माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने केसीका माग रहेका छन् । यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउदै अाएका छन् ।
चिकित्सकको चरम लापरवाहीले विरामीको मृत्यु भएमा अनुसन्धान हुने
काठमाडौं । चिकित्सकको चरम लापरवाहीका कारण विरामीको अंगभंग वा मृत्यु भएमा स्वतन्त्री निकायबाट अनुसन्धान हुने भएको छ । अस्पतालमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुने घटना बढेपछि सरकारले अनुसन्धान गर्ने भएको हो । विरामीको मृत्यु भएमा क्षतिपूर्ति र यस्तै पेशागत तथा व्यवसायिक बीमा लागु गर्न पनि मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
टाइम फर्मास्युटिकलको औषधी न्युन गुणस्तर, फिर्ता लैजान विभागको निर्देशन
काठमाडौं । नवलपरासीको मुकुन्दपुरमा रहेको टाइम फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तर पाइएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधीको नमुना परीक्षण गर्दा टाइमले उत्पादन गरेको जिलिपाइड २ जिलिम्प्राइड ट्यावेलेट न्युन गुणस्तरको भएको विभागले जानकारी दिएको छ । विभागले औषधी बिक्री रोक्का गरी तुरुन्त फिर्ता लैजान टाइमलाई भनेको छ । औषधी पसललाई सो कम्पनीको औषधी बिक्री वितरण नगर्न विभागले भनेको छ । न्युन गुणस्तर हुनुको विवरण एक साताभित्र पेश गर्न विभागले टाइमलाई निर्देशन दिएको छ । टाइमले उत्पादन गरेको सो औषधीको डिजुलुसन परीक्षण असफल भएको विभागले जानकारी दिएको छ ।