भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड
भक्तपुर । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको मंगलबार उद्घाटन गरेका छन् । अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उनले सो वार्डको उद्घाटन गरेका हुन् । सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्चना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताएका छन् । अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताए । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ । प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् । रासस
अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’
सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका काम. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु त्था कर्मचारीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंन इन्भेसिभ जाँचमा छूट पाउनेछन् । साथै, बेड चार्जमा ५ प्रतिशत छुट पनि पाउनेछन् ।