नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो ।  अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए । जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’ स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’ स्वीकृती भन्दा बढी बेड सञ्चालनमा उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती  माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’ स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’ ‘सेवा शुल्क सर्वमान्य छ‘ अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्‍यौं ?’

सरकारले तोकेको कडा रोगहरुको उपचार अब चितवनकाे पुरानो मेडिकल कलेजमा पनि

काठमाडौं । २३ वर्ष देखि स्वास्थ्य सेवा दिइरहेको चितवनकाे  पुरानो मेडिकल कलेज यस अस्पतालमा अब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनि उपचार पाइने भएको छ । कडा रोगहरु मध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा पनि सुचारु भएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताए । यो सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने छ । श्रेष्ठका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिले देखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ । “नेपालकै सबैभन्दा बढि विशेषज्ञ डाक्टरहरु कार्यरत यस शिक्षण अस्पतालमा सेवा ग्राहीहरुले साँच्चै गुणस्तरीय उपचार सेवा पाउने कुरामा दुई मत छैन,” श्रेष्ठले भने । उनको अनुसार नेपालमा काठमाडौँ बाहिर एकमात्र ३ टेस्ला क्षमताकोःआरआई सेवा उपलब्ध भएको यस अस्पतालमा १६७ स्लाइस क्षमताको सीटीस्क्यान टिवाईएफ डिजिटल एक्स्रे/यूएसजी सेवा उपलब्ध छ । अन्तरराष्ट्रिय प्रविधि युक्त भेन्टिलेटर सहितको अत्याधुनिक आइसियू/एचडियू/एनआईसीयू/पीआईसीयू तथा अप्रेशन थिएटर उपलब्ध यस अस्पतालको आफ्नै फार्मेसि समेत रहेको छ । काठमाडौ+ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ जिल्ला ट्राफिक कार्यलय चितवनको समन्वयमा सचेतनामूलक ट्राफिक चिन्ह अंकित बोर्डहरु भरतपुरका विभिन्न चोकहरुमा राखिएको, जिल्ला ट्राफिक कार्यलय चितवनका ब्रेथलाइजर २ यूनिट, इलाका प्रहरी कार्यलय मनहरीमा सीसी क्यामेरा, ई.प्र.का. भण्डारामा तथा रजहरमा फर्निचर र विभिन्न स्वास्थ्य संस्था तथा स्कूलहरुमा प्राथमिक उपचार सामाग्रीहरु पनि उपलब्ध गराएको छ । यसका अलावा विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न निःशूल्क शिविरहरु पनि आयोजना गरेको अस्पतालका सिनियर मार्केटिङ म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए । साथै, आगामी दिनमा जुनसुकै रोगहरुको सुलभ र गुणस्तरीय उपचार दिई सेवाग्राहीलाई विदेश वा भारत गई आर्थिक भार, समय र स्वास्थ्य बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा निरन्तरता दिईने कुरा प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताएका छन् ।  

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि(कात्तिक १६ र १७ गते) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिए । गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो । भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए । उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए । रासस