मेगा बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट, १५०० मै ११ वटा सेवाको प्याकेज पाउने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडको उपचार सेवामा विशेष छुट पाउने छन् । दुई कम्पनीबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् । यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।

एनआईसी एशियाका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा सो मात्राको छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

चितवनको बकुलहर अस्पताललाई रोटरी क्लबद्वारा तीन वटा डाईलायसिस मेसिन प्रदान

काठमाडौं। चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ । विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको रतननगर बकुलहर अस्पतालको सेवा प्रभावकारी बनाउन तीन वटा डाइलायसिस मेसिन उपलव्ध गराइएको रत्ननगरका रोटरियन राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रु ३८ लाखभन्दा बढीको लागतमा रोटरी डिष्ट्रिक २८२० जापानको साझेदारीमा रोटरी ग्लोबल ग्रान्ट परियोजनामार्फत मेसिन उपलब्ध गराइएको हो । यहाँको नारायणगढ, रत्ननगर, नारायणी मिड टाउन, भरतपुर, गैँडाकोटका रोटरी क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । यसअघि यहाँ छ वटा डाइलायसिस मेसिन रहेकोमा बुधबार थप तीनवटा आएपछि अब भने मिर्गौला रोगीका लागि डाइलायसिस सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बुधबार रत्ननगरमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरी क्लबसँगको सहकार्यमा विकास र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाए। उनले रत्ननगर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको भन्दै हरेक क्षेत्रबाट यस्तै सहयोगको खाँचो रहेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौँका चिकित्सक डा ऋषि काफ्लेले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै रोटरी क्लबमार्फत अभियान चल्ने विश्वास व्यक्त गरे। विसं २०७२ मंसिर २० गतेबाट यहाँ मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा डाइलायसिस सेवा शुरु भएको थियो । अहिलेसम्म सयौँ बिरामीको छ हजारभन्दा बढी पटक उक्त अस्पतालले डायलायसिस सेवा प्रदान गरिसकेको छ । रासस