मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सहकार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालले छुट दिने भएको छ । तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको छ ।
दार्जुलामा बर्थिङ सेन्टरमा प्रसूति गराएमा पुरस्कार
काठमाडौं । ब्यास गाउँपालिका–५ ले पहिलो पटक स्थापना गरेको नयाँ ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माए पुरस्कार दिइने भएको छ । उद्देश्यले गाउँपालिकाको रु दश लाख सहयोगमा नयाँ निर्माण गरिएको उक्त सेन्टरमा पहिलो पटक आउनेलाई रु पाँच हजार, दोस्रो पटक आउनेलाई रु तीन हजार र तेस्रो पटक आउनेलाई रु दुई हजार पुरस्कार दिइने निर्णय भएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिएका छन् । बर्थिङ सेन्टरमा आएर बच्चा जन्माउन प्रोत्साहन गराउन गाउँपालिकाले यो रकम दिने निर्णय गरेको हो । नयाँ ठाउँको ‘बर्थिङ सेन्टर’मा गर्भवती महिला सजिलै आउन भनेर पुरस्कारको व्यवस्था गरिएको स्वास्थ्यचौकीका प्रमुख ओमप्रकाश पन्तका अनुसार सेन्टरमा प्रसूतिका लागि गर्भवतीलाई ल्याउने स्वास्थ्य स्वयंसेविकालाई समेत गाउँपालिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । यसैगरी पहिलो पटक प्रसूतिका लागि उक्त सेन्टरसम्म ल्याउने स्वयंसेविकालाई गाउँपालिकाले रु एक हजार, दोस्रो पटकका लागि रु सात सय र तेस्रो पटकका लागि रु पाँच सय प्रोत्साहन भत्ता दिइने भएको छ ।यस्तै आमा समूलाईसमेत प्रोत्साहन रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । पहिलो पटक प्रसूतिका लागि बर्थिङ सेन्टरमा ल्याउने आमा समूहलाई पनि महिला स्वास्थ्य स्वयंसेविकाकै सरह गाउँपालिकाले भत्ता उपलब्ध गराउने छ । यसअघि बर्थिङ सेन्टर नहुँदा धौलाकोटका गर्भवती महिला सुनसेरा, हुती र खलङ्गास्थित जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । पहिलो पटक गाउँमै प्रोत्साहन रकमसहित बर्थिङ सेन्टर स्थापना भएपछि अहिले नियमित गर्भवती जाँचका लागि महिला आउन थालेको बर्थिङ सेन्टरका अनमी कमला कठायतले बताएका छन् । रासस
मधुमेह रोगी बढ्दो क्रममा, विशेष कार्ययोजना ल्याउन सरकारसँग माग
काठमाडौँ । पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै उक्त रोग बढ्दै गएको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको हुन्छ । डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आयोजित ‘मधुमेह रोग’ छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरेको छ । मधुमेह रोग विज्ञ डा ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्या समेत वृद्धि भइराखेको बताउँदै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रममा जोड दिएका छन् । एशोसिएशनका अध्यक्ष डा दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहनुसार मात्र प्रयोग गर्न सुझाव दिएका छन् । रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिएक छन् । डा श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय रहेको जानकारी दिएका छन् । अर्का मधुमेह रोग विज्ञ डा अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताएका छन् । पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको जानकारी दिएका छन् । रासस