नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई संजिवनी हस्पिटलमा २५ प्रतिशत छुट
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले विराटनगरको संजिवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रालिको उपचार सेवामा २५ प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धी दुई संस्थाबीच बुधबार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको विराटनगर शाखाकाका शाखा प्रबन्धक बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागका तर्फबाट अञ्जनी पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंकद्धारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्धारा प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशत छुट दिने छ । उक्त सम्झौताले दुबै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।
होलबडी परीक्षण गर्ने हो ? काठमाडौँका यी ९ अस्पताल, कस्ले लिन्छन् कति शुल्क ?
काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै बढ्न थालेको छ । काठमाडौंको प्रायः जस्तो अस्पतालमा होलबडी चेकअपको हुन्छ । तर, यो सेवा बापतको शुल्क भने अस्पतालै पिच्छे फरक छ । यही शुल्कको फरकपनले सेवाको गुणस्तरपनि फरक छ कि ? सेवाग्राहीहरु अलमलमा पर्ने गरेका छन् । यदी तपाईँपनि होलबडी चेकअप गर्दै हुनुहुन्छ भने कुन अस्पतालमा कति शुल्क लाग्छ भन्ने कुरामा कत्तिको जानकार हुनुहुन्छ ? आज हामी काठमाडौँमा उपत्यकामा रहेका र होल बडी चेकअप हुने केही अस्पताल र ती अस्पतालले सामान्य होल बडी चेकअपमा कति सेवा शुल्क लिन्छन् भन्ने बारेमा जानकारी दिंदैछौं । १. अल्का अस्पताल: जावलाखेलमा रहेको अल्का अस्पतालले जेनेरल होलबडी चेकअपको सेवा शुल्क ७ हजार ५ सय रुपैयाँले लिने गरेको छ । २. ओम अस्पतालः चाबाहिलमा रहेको ओम अस्पतालमा होलबडी चेकअपको महिला र पुरुषलाई फरक–फरक शुल्क लिने गरिन्छ । महिलाको लागि १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषको लागि १४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । ३. बि एन बि अस्पतालः ग्वार्को स्थित बि एन बि अस्पतालमा होलबडी चेकअपको शुल्क ४० बर्ष भन्दा मुनिको लागि ९ हजारदेखि १८ हजारसम्म र ४० वर्ष भन्दा माथिका सेवाग्राहीको लागि २० हजारसम्म लिइन्छ । ४. नेपाल मेडिकल कलेज (टिचिङ अस्पताल) जोरपाटीमा रहेको यस अस्पतालमा होलबडी चेकअप ५ हजार रुपैयाँमा गर्न सकिन्छ । ५. नर्भिक अस्पताल थापथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेकअप गर्न ७ हजारदेखि २० हजारसम्म लाग्ने बताइन्छ । ६. किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल ग्वार्कोमा रहेको यस अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने चाँही ३ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ । ७. काठमाडौँ मेडिकल कलेज तथा टिचिङ अस्पताल सिनामंगल स्थित यस अस्पताल ५ हजार रुपैयाँमा होलबडी चेकअपको गर्न सकिन्छ । ८. ग्रान्डी अस्पताल टोखामा रहेको यस अस्पतालमा २ हजारदेखि २० हजार रुपैयाँसम्ममा होलबडी चेकअप गर्न सकिन्छ । ९. मेडीसिटी अस्पताल नक्खुमा रहेको यस अस्पतालमा ४ हजारदेखि २१ हजार सम्म होलबडी चेकअपको सेवा शुल्क निर्धारण गरिएको छ । होलबडी चेकअपमा के के परीक्षण गरिन्छ ? होलबडी भन्ने बित्तिकै सम्पूर्ण शरीर भन्ने बुझिन्छ । सामान्यतया होलबडी चेकअपमा रगत जाँच, दिसा जाँच, पिसाब जाँच, डेन्टल जाँच, छातीको एक्स रे, मुटुको जाँच र चिकित्सक सरसल्लाह लिने गरिन्छ । होलबडी चेकअप किन ? बढ्दो प्रदूषण, अस्तव्यस्त जीवनशैली र खानपानले गर्दा आजकल निरोगी मानिस भेट्टाउनै मुस्किल भईसकेको छ । ठूलै रोगले नसताए पनि साना साना रोगले प्रायः मानिसहरुलाई शारीरिक र मानसिक रुपमा सताईरहेको हुन्छ । त्यसैलेपनि वर्षमा १ पटक होलबडी चेकअप गर्नुलाई राम्रो मानिन्छ । आफ्नो स्वास्थ्यको जाँच सामान्यतया उपयोगी नै हुन्छ र यो कुनैपनि उमेरमा गर्न सकिन्छ । कस्तो मानिसले कहिले जाँच गराउने ? यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ । यदी तपाईंको उमेर ३०-४० वर्षको बीचमा छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । र, यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।
सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सेवा सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।