बाजुरा जिल्ला अस्पतालमा आन्द्राको शल्यक्रिया सफल

बाजुरा । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो ।डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए। उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस (सिजिरियन्स सेक्सन) लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । हालसम्म २० भन्दा बढी शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको शल्यक्रियामा सहभागी डा राजेश बर्माले बताए । यसअघि जीर्ण भवन, साधन र स्रोतको अभावसँगै राम्रा चिकित्सक नबस्ने हुँदा जिल्लावासीले सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो तर पछिल्लो समय धेरै चिकित्सक अस्पतालमा निरन्तर बस्ने गरेकाले बिरामीले शल्यक्रियासमेत जिल्ला अस्पतालमा सुलभ खर्चमा गर्न पाइरहेका छन् । जिल्ला अस्पतालमै यस्तो जोखिम खालको सफल शल्यक्रियाले आम बाजुरेली जनतामा खुशी छाएको छ । डा दुर्गा महर्जन र डा टीका राई पिछडिएको जिल्ला भनेर चिनिने यहाँका जनताको ढुकढुकी नै बनेका छन्। डा महर्जनले यस्तो शल्यक्रिया गर्दा ५ लाख रुपैयाँसम्म लाग्ने भए पनि ५ हजार रुपैयाँमै गरिदिएको बताए। उनले भने, “ पैसाभन्दा पनि बिरामीको ज्यान बचाउनु पहिलो कर्तव्य थियो त्यसैले साधन स्रोतको अभाव, यातायाताको असहज भएको ठाउँमा पनि यस्तो जटिल खालका शल्यक्रिया घरदैलोमै हुनु भनेको बाजुरेलीका लागि खुशीको कुरा भएको छ ।” रासस

शुरुमै उपचार भए क्यान्सर रोग निको हुने

काठमाडौ । नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै अर्बुद रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको वक्ताले बताए । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा हजारौं मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट पारे। नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भएको बताउँदै उहाँले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताए । डिएभी सुशील केडिया विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले विद्यालयले पनि सूर्तीजन्य पदार्थ सेवनमा रोक अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। रासस

वीपी कोइराला क्यान्सर अस्पतालको क्षमता विस्तार, ४७५ शय्याको हुने

चितवन । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा. आचार्यले बताए । नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन् । अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा. आचार्यले जानकारी दिए। टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ । हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् । नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ । अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर ६०० नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उनको भनाइ थियो । गत वर्ष अस्पतालबाट १ लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा २ लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन् । रासस