प्रधानमन्त्री सक्रिय हुन अझै ६ महिना लाग्ने, शुक्रबार डिस्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलाको जस्तै सक्रिय हुन ६ महिना लाग्ने प्रधानमन्त्रीका चिकित्सकहरुले बताएका छन् । यस्तै प्रधानमन्त्रीले एक महिनामा बैठक राख्न सक्ने तर भिडभाडमा जान नहुने डा. दिव्यसिंह शाहले बताइन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीका शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएकी हुन् । यस्तै प्रधानमन्त्रीलाई हालकाे लागि डिस्चार्ज नगर्न  चिकित्सकलहरुले बताएका छन् । ओली  निवासमा जाँदा भेटघाट बढ्नुको साथसाथै अन्य कार्यक्रममा पनि सक्रियता बढ्ने सम्भावनाका कारण संक्रमणको जोखिम ज्यादा हुने भएकोले केहि दिन अस्पतालमै राख्न परिवारका सदस्यले आग्रह गरेपछि डिस्चार्ज नगर्ने चिकित्सकले बताएका छन्। उनकाे  डिस्चार्ज शुक्रबार हुनसक्ने शाहले बताइन् । प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । गत बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई आज शिक्षण अस्पतालले डिस्चार्ज गर्ने भएको छ । यसका लागि अस्पतालले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ । ओलीको पिसाब बाहिर निकाल्न प्रयोग गरिएको क्याथेटर सोमबार निकालिएको हो भने पेटमा राखिएको ड्रेन पाइप मंगलबार निकालिएको छ । मृगौला प्रत्यारोपण गरेका व्यक्तिलाई सामान्यतया पाँच दिनमा डिस्चार्ज गर्न मिल्छ । तर, उनलाई संक्रमण नहोस् भनेर थप दुई दिन राखेको र चिकित्सकहरुले बाहिरी मान्छेलाई भेट्न नदिएको बताएका छन् । ओलीलाई मृगौला दान दिने भान्जी समिक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली र भान्जीलाई एकैपटक आज(मंगलबार) डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित

डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित  भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् । अभियानमा पाँच हजार २ सय खोप केन्द्र र नौ हजार ३ सय स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिब २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिएका छन् । उहाँले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।” कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले आग्रह गरे । जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्कमा रहेको छ । स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ” रासस