सुर्खेतका ४० हजार बालबालिकामा खोप लगाइँदै
सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । “पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ”, उनले भने, “तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ ।” उनका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० जना तालीम प्राप्त भ्याक्सिनेटर (खोपकर्मी) र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन् । दादुरा र रुबेला नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप लगाइने कार्यालय प्रमुख वाग्ले बताउँछन् । बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको उनले बताए । रासस
सुर्खेतमा नक्कली चिकित्सक पक्राउ
सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका रावलले बताए । उनका अनुसार थप अनुसन्धान कार्यसमेत अघि बढाइएको छ । रासस
के हो क्वारेन्टाईन ? विकसित देशले सबै नागरिकलाई सरकारी क्वारेन्टाईनमा राख्छन् ?
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र सरकारको आलोचन बढेको हो । सामाजिक संजालमा मन्त्री ढकालको यो अभिव्यक्तिको सबैभन्दा धेरै आलोचना भएको छ । संसदमा पनि यो विषयमा प्रश्न उठेको छ । तर, सेल्फ क्वारेन्टाईनमा आशंका लागेका मानिसहरु बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको नीतिमै उल्लेख गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैले आफ्ना नागरिकलाई कोरोना लागेको आशंकामा सेल्फ क्वारेण्टाईनमा बस्नु भनेर आग्रह गर्ने नेपाल मात्र पहिलो देश होइन । नेपालबाहेक अमेरिका, बेलायत, ईटाली, ईरानजस्ता धेरै राष्ट्रले आफ्ना नागरिकलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन् । क्वारेन्टाईन भनेको के हो ? यदि कसैलाई पनि क्वारेन्टाईनमा राखिन्छ भने यसको मतलब उ कोरोना भाईरसबाट संक्रमित भएको भन्ने होइन । क्वारेन्टाईन भनेको यस्तो ठाउँ वा अवस्था हो, जहाँ कुनै पनि रोग भएको आशंका अर्थात पुष्टि नभएको अवस्थामा मानिस वा जनावरलाई राखिन्छ । क्वारेन्टाईनमा रोग पुष्टि नभएको तर संक्रमण रोगको आशंकमा भएका मानिसहरुको हिँडडुल प्रतिबन्ध गर्नको लागि राखिन्छ । फ्लु जस्तो लक्षण देखाएकाहरुलाई सामान्यत १४ दिनसम्म क्वारेन्टाईनमा बस्न भनिन्छ । कोरोना संक्रमण भइसकेपछि लक्षण देखिन १४ दिनसम्म लाग्ने विशेषज्ञहरु बताउँछन् । सरकारले चीनबाट उद्धार गरेका विद्यार्थीलाई १४ दिन क्वारेन्टाईनमा राख्यो । उनीहरु कसैमा पनि कोरोन भएको पुष्टि नभएको र चीनबाट आएका कारण शंकाको आधारमा क्वारेन्टाईनमा राखिएको हो । तर, जनमानसमा कोरोनाको शंका लागेकालाई सरकारले नै उद्धार गरी सुरक्षा दिनुपर्छ भन्ने एक प्रकारको भ्रम परेको छ । क्वारेन्टाईनमा बस्नु भन्नाले तपाई आफ्नो परिवारको सदस्य र भाँडामा सँगै बसेका साथीसँग नबस्नु भन्ने पनि होइन । एउटै घरमा बेग्लै कोठामा बेग्लै सामान प्रयोग गरेर पनि कोरोना शंका लागेका व्यक्ति बस्न सकिन्छ । क्वारेन्टाईनमा बस्नु भनेको सकेसम्म अत्यावश्यक व्यक्तिहरुसँग मात्र भेट्ने, मास्क प्रयोग गर्ने, आफ्नो सामानहरुको प्रयोग आफै मात्र गर्ने, घरमा प्रत्यक्ष सम्पर्कमा आउने सामाग्रीहरुलाई सफा राख्ने भन्ने हो । क्वारेन्टाईनले जिवनशैलीमा ल्याउने सबैभन्दा ठुलो परिवर्तन भनेको यसले हिँडडुललाई बन्द गर्दछ । क्वारेन्टाईन र आईसोलेसनबीचको फरक आईसोलेसन भन्नाले कुनै पनि कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गरिने स्थान हो । उक्त व्यक्तिले अन्य कुनै पनि व्यक्तिलाई भाईरस नसारी निको हुनको लागि आईसोलेसनमा राखिन्छ ।