सरकार उच्च सतर्कता अपनाउँदै, विद्यालय परीक्षा गराउँदै

काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारीको रुपमा संज्ञा दिइसकेको छ । सरकारले कोरोनसँग लड्नको लागि उच्च सर्तकता अपनाउँदै गर्दा विद्यालयहरु भने धमाधम परीक्षा चलाउने तर्फ अगाडि बढिरहेका छन् । परीक्षाको समय अधिकांश विद्यार्थीको लागि त्रासको विषय हो । एकतर्फ भाइरसको त्रास फैलिरहेको समयमा परिक्षाको त्रासले कतै विद्यार्थीको नतिजामा त समस्या पार्दैन त ? अहिले अभिभावक पनि त्रसित बनेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शमाले अहिलेको समयमा हामीहरु त्यति त्रसित हुनुपर्ने अवस्था नभएको बताए । ‘हामी सचेत पक्कै हुनुपर्छ तर त्रसित भने हुनुहुँदैन, अहिलेसम्म कुनै पनि परीक्षा रद्द नर्गन निधो हामीले गरेका छा’, उनले भने । भाइरसले कति लामो समयसम्म असर गर्ने हो भन्ने एकिन नभएको र परीक्षा कतिसम्म सार्ने र विद्यालय कतिसम्म बन्द गर्ने भन्ने तय हुन नसकेकोले समयमा नै परीक्षाहरु सकेर विद्यालयहरु बन्द गर्नु सबैभन्दा उत्तम उपाय भएको शर्माको भनाइ छ । यो समयमा सबैभन्दा उत्तम उपाय विद्यार्थीलाई सही काउन्सिलिङ रहेको र त्यसको लागि मन्त्रालयले विद्यालयहरुलाई पत्रचार गरिसकेको शर्माले जानकारी दिए । मन्त्रालयले बिहिबार सबै विद्यालयहरुलाई कक्षा ९ सम्मको सबै परीक्षा चैत ५ गतेसम्म पुरा गर्न निर्देशन दिएको थियो । चैत ६ गते देखि एसईई परिक्षा रहेकोले आफुहरुले भिडभाड कम गर्नलाई ९ सम्मको परिक्षा सिध्याउनलाई निर्देशन दिएको शर्माले बताए । कक्षा १२ सम्म देशभर ४५ लाख भन्दा बढि विद्यार्थी रहेका छन् जुसमा सबैभन्दा बढि कक्षा १ मा ५ लाख विद्याथी छन् । समयमा परिक्षा नसकिँदा समयमा नतिजा नआउने र समयमा नतिजा नआउँदा नयाँ भर्नामा समस्या ल्याउने र थप तनाव सृजना हुने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतम बताउँछन् । स्नातक तहमा हाल नेपालभर ३ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई यस कारण दियो ‘महामारी’को संज्ञा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो । मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ । डब्ल्यूएचओले काेराेना भाइरसकाे सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई महामारीको संज्ञा दिइएको बताएकाे छ । यसअघि नै डब्ल्यूएचओले कोरोनाभाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएको थियो । यद्यपि महामारी संज्ञा दिने अवस्थामा पुगेको आधारहरु देखा नपरेका कारण यसअघि डब्ल्यूएचओले यसलाई ‘महामारी’ शब्द प्रयोग गरेको थिएन । पछिल्लो समय यो भाइरस विश्वका ११४ मुलुकमा फैलिएको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ । पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।

कोभिड-१९: वाग्मतीका सबै जिल्लामा आइसोलेशन

काठमाडाैं । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड-१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अर्जुन सापकोटाले बताएका छन् । उनका अनुसार, ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताएका छन् । काठमाडौं उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ । प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन्। वाग्मती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् । रासस