कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि साेसम्बन्धी कुराकाे निर्देश गरेका हुन् । जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी)लाई निर्देशन दिएका छन् । “यात्रुलाई कोरोनासम्बन्धी जाँच गर्न चाहिने जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र कुनै समस्या देखिए बिरामीलाई केही समय आराम गर्ने विश्रामकक्ष समेत चाँडो निर्माण गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने, “बबई मूल प्रवेशद्वार भएकाले यहाँ आउने यात्रुलाई राम्रोसँग जाँच गरेर मात्र कर्णाली प्रदेश प्रवेश गर्ने वातावरण बनाउनुस् । महिला तथा पुरुष यात्रुलाई छट्टाछुट्टै लाइनमा लागेर जाँच गर्ने व्यवस्था मिलाएर सहजता प्रदान गर्नुस् ।” उनले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताए । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताउनुभयो । प्रदेश अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको सङ्क्रमण देखिएमा आइसोलेशन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ । शनिबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा डम्बर खड्काले आइसोलेशन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “हामीले यदि कोरोनाको सङ्क्रमण देखिएमा २५ आइसोलेशन कक्ष र १०० जना क्षमताका लागि क्वारेन्टाइन कक्षा तयार गरेका छौँ”, प्राडा खड्काले भने, “त्यस्तो जटिल परिस्थिति आइपरे पनि सामना गर्ने क्षमता निर्माण गरेका छौँ ।” मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पताल परिवारसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए । सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना सङ्क्रमण समस्या समधानका लागि रु ५० लाख छुट्याएको बताएका छन् । अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० श्यया राख्ने तयारी गरिएको छ । रासस
काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव, ज्वरो देखिएकालाई फर्काइदै
काठमाडौं । कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ । सो सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न एउटा मात्र ‘थर्मल गन’को मात्र भर पर्नुपरेकाले समस्या भएको हो । दैनिक हजारौँले ओहोरदोहोर गर्ने नाकामा कम्तीमा १० ‘थर्मल गन’ प्रयोग गरिए मात्र नाकामा जाँच व्यवस्थित हुने काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताए । उनले भूटान, बङ्गलादेश, म्यान्मारजस्ता तेस्रो मुलुकसँग समेत नजिकको दूरी भएको नाका भएको हुँदा काँकडभिट्टामा जाँच प्रक्रियालाई सुव्यवस्थित, भरपर्दो र विश्वसनीय तुल्याउनुपर्ने सुझाव व्यक्त गरे । नाकाको प्रवेशविन्दुमा भारतबाट आउने ५ सयभन्दा बढीलाई शुक्रबार ज्वरो नापिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनले भीड बढ्दै गएको हुँदा ज्वरो नाप्ने उपकरण ‘थर्मल गन’ र जनशक्तिको कमी महसुस भएको बताए । उनका अनुसार शुक्रबार जाँचिएका व्यक्तिमध्ये रोजगारीका लागि नेपाल आउन लागेका छ भारतीय मजदुरलाई ज्वरो देखिएको हुँदा उनीहरुलाई फर्काइएको जानकारी दिए । मेचीनगर नगरपालिकाले सो भाइरसको सङ्क्रमण रोकथामका लागि काँकडभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागी अधिकांशले नाका जोखिमका दृष्टिले अति संवेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए । “सयौँ व्यक्तिलाई लाममा उभ्याएर एउटा थर्मल गनका भरमा कोरोनाको सङ्क्रमण रोक्न सम्भव हुँदैन”, ज्येष्ठ नागरिक सङ्घका प्रतिनिधि कृष्णप्रसाद उप्रेतीले कार्यक्रममा भने, “नाका बन्द गरेर भएता पनि कोरोना भित्रिन नदिने कडा कदम चालियोस् ।” मेची अञ्चल टेम्पो एण्ड ई–रिक्सा यातायात प्रालिका अध्यक्ष विवेक लिम्बूले दिल्ली, मुम्बई, कोलकाता, सिलगढीलगायत भारतका विभिन्न कोरोना प्रभावित शहरबाट आउने यातायातका साधन काँकडभिट्टाबाट निर्वाध भित्रिरहेको हुँदा त्यसबाट सङ्क्रमण फैलिने जोखिमतर्फ कसैको ध्यान नगएकोमा चिन्ता व्यक्त गरे । उनले भारतका यातायातका साधनलाई नाकाबाट पस्न दिन नहुने सुझाव राखे । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सीमित स्रोत साधनका भरमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएको जानकारी दिए । उनले जाँच अव्यवस्थित भएको स्वीकार गर्दै नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तह मिलेर जाँचलाई विश्वसनीय र व्यवस्थित बनाउन तत्काल पहल गरिने बताए । उपप्रमुख उप्रेतीले भारतबाट स्थानीय उद्योगमा काम गर्न आउने मजदुरलाई ज्वरो नआएको प्रमाणपत्र नल्याए काममा नलगाउन उद्योगीलाई आग्रह गरिएको जनाए । मेचीनगरका प्रमुख विमल आचार्यले छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नदिन नाकामा जाँचलाई व्यवस्थित गर्न र अनावश्यक ओहोरदोहोर रोक्न जरुरी भएको बताए । उनले नगरपालिकाको विपत् व्यवस्थापन समिति र कार्यपालिका बैठकले नाकाको जाँच र उद्धारलगायतका अत्यावश्यक कार्यका लागि नेपाली सेनासँग सहयोग माग्ने निर्णय गरे । प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रदेश नं १ सरकारको पहलमा प्रदेशका छ अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै आइसोलेशन श्ययाको व्यवस्था गरिएको र नेपाली सेनाको नेतृत्वमा सुनसरीको कोशीटप्पु र मोरङको टाँडीमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको बताए। उनले काँकडभिट्टा नाकाको संवेदनशीलता बुझेर पर्याप्त ‘थर्मल गन’ र जनशक्ति उपलब्ध गराउन प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ध्यानाकर्षण गराइएको जानकारी दिए । यसैबीच मेचीनगर नगरपालिकाले प्रवेशविन्दुमा रहेको नगरपालिका भएको कारण आफ्नो नगरका मुख्य चार स्थान काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीमा नेपाल प्रहरीसँगको सहकार्यमा हेल्पडेस्क सञ्चालन गरिसकेको छ भने नगरपालिकाका सबै १५ वडा कार्यालयमा सर्वसाधारण सबैले साबुनपानीले हात धोएर मात्र प्रवेश गर्ने अनिवार्य व्यवस्था मिलाएको छ । रासस
इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो
काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ । इजरायलमा १ सय ४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कूल सयजना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् । रासस/सिन्ह्वा