अक्सिजन प्लाण्ट खरीदका लागि महानगरले गर्याे कान्तिबाललाई आर्थिक सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्ताक्षरअनुरुपको काम छिटो गर्न आग्रह गर्दै आफ्नातर्फबाट अस्पताललाई पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले भने, “अस्पतालबाट गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईंहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।” हस्ताक्षर गरेपछि प्रमुख शाक्यले यस कार्यका लागि नगरसभाबाट रु दुई करोड विनियोजन गरिएको जानकारी गराउँदै काम अघि बढाउँदा आवश्यक परे अरु सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । प्रमुख शाक्यले कामपाको पूर्वाधार र सम्पदाका क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेकाले सो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए । निर्देशक विच्छाले भूकम्पका कारण क्षति पुगेर रातो स्टिकर टाँसेको भवनबाट बिरामीको उपचार गर्नुपरेको भन्दै अक्सिजनमा मात्रै वार्षिक करीब ६३ लाख रुपैयाँ खर्च हुने जानकारी गराएका छन् । विसं २०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको, बजेट थोरै भएको, कर्मचारीको तबलका लागि आउने बजेटसमेत घटाएर पठाएको जस्ता गुनासो निर्देशक विच्छाले गरेपछि रक्षामन्त्री पोखरेलले ती समस्या समाधानमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे । रासस

कामना सेवाको वार्षिकोत्सवमा ६८ जनाले गरे रक्तदान

काठमाडौँ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ । २०७६ साल कात्तिक २७ गते पर्ने १३ औँ वार्षिकोत्सवको उपलक्षमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने भएकाले ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान रक्तदान गरे ।

लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच सहयोगसम्बन्धी सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकले आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागिरु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ । रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजातशिशु र पाँचवर्ष सम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५ सय नवजातशिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यानमात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ । यसरी, सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।