चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

काठमाडौं । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा. डा. रमेशप्रसाद आचार्य, प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. दिलीप शर्मा र प्रा. डा. आरती साह रहेका छन् । आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो । ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ । तीमध्येबाट चारजनाको सिफारिस भएको बताइएको छ तर यसबारे आयोगले केही सार्वजानिक गरेको छैन । राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचनामा निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनेको थियो । ती चार निर्देशनालयमा मापदण्ड तथा प्रत्ययन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । ती पदका समयावधि चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्षसमक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’ भन्ने ऐनको प्रावधान रहेको छ । प्रावधानअनुसार आयोगका सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । निर्देशक पदको नियुक्ति प्रक्रिया शुरु गरिएको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्षसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले कात्तिक १८ गते पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकामा उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायत आधिकारिक पेशागत सङ्गठनका अध्यक्षमध्येबाट अध्यक्ष एशोसियशन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ सङ्घ छन् । यसैगरी, आयोगका सदस्यमा नागरिक समाजका लब्धप्रतिष्ठित कम्तीमा एक महिलासहित दुईमा डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तका आधारमा कम्तीमा दुई महिलासहित तीन जनामा प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. शैली प्रधान र प्रा. डा. जगदीश अग्रवाल रहेका छन् । रासस

अब अस्पतालमा घण्टाैं लाइन बस्ने दिन गए: आभुषण ज्याेती कंसकार

स्वदेशमै केही गर्ने इच्छा सबैको हुन्छ । त्यो इच्छा कसैको पुरा हुन्छ त कसैको तुहिन्छ पनि । काम गर्दै जाँदा धेरै चुनौतीहरु थपिन्छन् जसले ति चुनौतीलाई सामना गर्दै अगाडि बढ्छ उहि नै एकदिन सफल बन्छ । यस्तै एक ठूलो सपना बोकेका व्यक्ति हुनुहुन्छ आभुषण ज्योती कंसकार । भारतमा १५ वर्ष बसेर आफ्नो विद्यालय तह र इञ्जिनियरिङ पुरा गर्नुभएका कंसकार हाल जिभी हेल्थ प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी निर्देशक हुनुहुन्छ । सानैदेखि स्वदेशमै केही गरेर युवाहरुमाझ ठूलो प्रभाव देखाउन चाहने उहाँ डेढ वर्ष भारतमा काम गरेर सन् २०११ मा नेपाल फर्किनु भयो । सुरुमा आफ्नो बुबाको व्यवसायमा साथ दिनुभएको उहाँले काम गर्दै र सिक्दै जानुभयो । सन् २०१४ मा उहाँले हेभी ईक्युपमेन्ट र दुई पाङ्ग्रे प्रिमियम स्कुटर नेपाल भित्र्याउनुभयो । हाल उहाँ नै नेपालमा प्रिमियम स्कुटर भित्र्याउने पहिलो व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ सँग कम्पनीको वर्तमान अवस्था, हालै लञ्च गरेको जिभि हेल्थ एप्स र भावी योजनाहरुको बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ विकासन्युजका लागि डोमी शेर्पाले गरेको विकास बहस ।  जिभीको सुरुवात कहिले र कसरी भयो ? जिभीको सुरुवात हामीले गत अप्रिलमा गरेका हाैं । दुई वर्ष अगाडि मेसिनहरुको बारेमा अध्ययन गर्ने क्रममा हेल्थ केयरको एप बने कस्तो होला भन्ने मनमा लाग्यो । यदि एउटा मानिसलाई हिसाब सोध्यो भने उसलाई आफैले हिसाब गरेर निकाल्न १० मिनेट लाग्छ तर त्यही हिसाबलाई क्यालकुलेटरमा गर्ने हो भने केही सेकेण्डमै उत्तर आउँछ । यसमा हाम्रो १० मिनेटवाला देश हो । हाम्रो देशको स्वास्थ्य सेवा प्रणाली निकै नै कमजोर छ । यसैलाइ मध्येनजर गर्दै हामीले हेल्थ एप बनाउने सोच बनायौं । मैले सबै काम थाति राखेर यसमा नै समय दिएँ । मैले आज स्कुटर बेचिन भने अन्य कोहीले बेच्छ यसले कुनैपनी प्रकारको समस्या उब्जाउँदैन तर आज हामीले यो काम गरेनौ भने आउँदो ५ वर्षमा पनि अरु कोहीले यसलाई प्रयास गर्दैनन्। त्यसैले यही कुरालाई ध्यान दिँदै हामीले एउटा जवान टिम ल्यायौ जसले हाम्रो यस जिभी एपलाई ३ महिनामै बन्न योग्य बनायो। उनीहरुले मलाई पहिला एक वर्ष लाग्छ भनेका थिए तर पछि ३ महिनामा यस एपलाई बनाए । हामीले ३ महिनामा एप मात्र बनाएनौं त्यसलाइ एपलाई पुरा गर्न सहयोग गर्ने हरेक अन्य सहायक एपहरु पनि बनायौं। जिभी नामलाई कसरी रोज्नुभयो ? नाम हामीले किन जिभी नै राख्यौं भन्ने कुराको कथा धेरै रमाईलो र हाँस्यास्पद पनि छ । जिभी नाम राख्नुको पहिलो कारण थियो यस नाममा भएको सरलता । दुई शब्द मात्र भएको कारण यसलाई उच्चारण गर्न निकै नै सजिलो हुनाले पनि यो नामलाई रोजेका हौं । पहिलो महत्वपूर्ण कुरा भनेको धेरै जटिल नाम दिएर पनि हुँदैन। सबैले सम्झिनु सक्नुर्पयो भन्न सक्नुर्पयो। यो निकै नै सरल नाम हो । यसको नाम चिरन्जबी पनि हुन सक्थियो तर त्यस प्रकारको नाम निकै नै अफ्ठ्यारो हुन्छ र सबैलाई यस्तो नाम भन्न पनि गाह्रो हुन्छ । त्यस कारण जिभी नाम रोजेका हौं । नेपालको अहिलेको अवस्थामा स्वास्थ्य सेवाको अवस्था तपाईले बुझे अनुसार कस्तो छ ? स्वास्थ्य सेवा भन्दै गर्दा हामीसँग मेडिसिटी, नर्भिक, ग्राण्डी जस्ता अस्पताल छन् । त्यस्तै अर्को  स्वास्थ्य चौकी मात्र भएका ठाउँ पनि छन् । त्यहाँ एक्स-रे गर्ने मेसिन छ भने कर्माचारी छैनन् । तर स्वास्थ्य क्षेत्रमा भएको मुख्य समस्या एकतर्फबाट मात्र हेरेर त्यसको समाधान खोज्ने हो भने पाईदैन । सबैजनाले प्रयास गरिरहेका छन् र यसमा कुनै पनि प्रश्न गर्ने ठाउँ छैन । सरकारले पनि आफ्नो तर्फबाट मेडिकल कलेजहरु खोल्ने कुरा गरिरहेको छ। अर्को हामीले के बुझ्न जरुरी छ कि जब कसैले पनि काम सुरु गर्छ उसको आफ्नो धारणा हुन्छ । हाम्रै घरमा पनि एउटा काम गरौं भन्दा त कुरा मिल्दैन । जबकी यो देश त ३ करोड जनसंख्याको देश हो । ठूला अस्पतालहरुले आफ्नो मेडिकल रिपोर्टहरुलाई डिजिटाईज गरिसके तर साना साना अस्पतालहरु भने अझैँ पनि कागजको भरमा मेडिकल रिपोर्टहरु तयार पार्छन् । ति कतिबेला हराउँछ पत्तै पाईदैन । जतिबेला हामीलाई केही नयाँ रोगले सताउँछ हामीसँग मेडिकल रिपोर्ट हुँदैन जसको कारण डाक्टरलाई हामीलाई के भएको हो भन्ने पत्ता लगाउन केही हदसम्म गाह्रो हुन्छ । हामीलाई जसरी व्यवसाय गर्दा दुई वर्ष अगाडिको रिपोर्ट हेर्छौ र त्यस्तै डाक्टरलाई पनि बिरामीको पहिलाको अवस्थाहरु बुझ्न जरुरी छ । जसकारण के भएको हो भन्ने पत्ता सजिलै लगाउन सक्छ । यसका साथसाथै अन्य समस्याहरू पनि छन् । तिनै समस्यालाई समाधान गर्नको लागि हामीले जिभीलाई ल्याएका हौं । हामी जति सक्दो धेरै समस्या समाधान गर्ने प्रयास गर्नेछौं । डकनक जस्ता हेल्थ एप पनि नेपालमा छन् । तपाईहरु यस्तै अन्य हेल्थ एप भन्दा कसरी फरक हुनुहुन्छ ? हामीले एप बनाउनु भन्दा अगाडि डकनक एपको बारमा केही जानकारी थिएन । यद्यपी त्यो एउटा अपोइन्टमेन्ट लिने मात्र एप हो। यसले तपाईको कुनै पनि प्रकारको व्यक्तिगत स्वास्थ्य रेकर्ड राख्दैन । यसले औषधी पनि डेलिभर गर्दैन। डकनक हामीले गर्न चाहेको कामको सानो हिस्सा हो । अमेरिकामा भने यो प्रख्यात छ। स्पष्ट हुनु पर्दा नेपालमा हामीले सुरु गरेको काम कसैले पनि गरेको छैन। विश्वव्यापी रुपमा हेर्नु पर्दा हामीले गर्न खोजेको काम गर्ने केही कम्पनीहरु छन् । उनीहरुको पनि ठूलो सोच होला तर उनीहरु हामीले जस्तै सानोबाट सुरु गरेका छन्। धेरैले औषधि पुर्याउने काम सुरु गरेका छन् जुन खासै ठूलो टेक्नोलोजी पनि होइन। तर व्यक्तिगत स्वास्थ्य रेकर्ड बाहिरको कुरा गर्नुपर्दा त्यहाँको एपमा भएको डाटाहरु छरिएको अवस्थामा छ। त्यहाँ इलेक्ट्रोनिक मेडिकल रेकर्ड एकजनाले सम्हालेको हुन्छ । तपाई एउटा अस्पतालमा जानुहुन्छ उनको आफ्नै मेडिकल रिपोर्ट हुन्छ । अर्कोमा जानुहुन्छ उसको पनि आफ्नै मेडिकल रिपोर्ट हुन्छ जुन अर्को कुनै पनि अस्पतालसँग जोडीएको हुँदैन। जसकारण केही नयाँ रोग लागेको कारण दोस्रो अस्पताल जाँदा डाक्टर र बिरामी दुबैलाई समस्या पर्न जान्छ । हुनसक्छ उनीहरुको पनि भविष्यमा गएर सबैकुराको व्यवस्थापन गर्ने योजना होला तर हालको लागि हामी जस्तो फिचर भएको एप कम्पनी एकदमै कम छन्। हामी फरक छौं त भन्दिन तर एकीकृत रुपमा हेर्नुपर्दा हामीसँग उनीहरुको दाँजोमा दिनको लागि धेरै छ र हाम्रो डाटा टुक्रिएको अवस्थामा हुँदैन र डाक्टर, बिरामी, अस्पताल र देश सबैलाई धेरै भन्दा धेरै नै सहयोगी बन्नेछ । हाम्रो अहिलेको अवस्थामा कुन ठाउँमा कुन रोगको अवस्था के छ भन्ने बुझ्नलाई लाखौं पैसा खर्च गर्नुपर्ने अवस्था छ तर भविस्यमा हामीसँग भएको डाटाको माध्यमबाट देशमा के भइरहेको छ भन्ने सजिलै पत्ता लगाउन सक्छौं। यसको सहयोगबाट हामी देशमा हाल कुन रोगको अवस्था के छ भन्ने जानकारी दिन सक्छौं। अस्पताल र डाक्टरहरुसँग जोडिनको लागि हाल के गरिरहनुभएको छ ? हालको अवस्थामा हामीसँग १०० भन्दा बढी डाक्टरहरु जोडी सक्नु भएको छ । हामी अहिले अस्पतालहरुसँग गइसकेको अवस्था छैन।  अहिले क्लिनिकमा गईरहेका छौं किनभने हाम्रो पहिलो निस्किएको फिचर एप भनेको क्लिनिकल एप हो। हामीले हाल ओपीडी अर्थात बाहिर बिरामीको क्लिनिकल र ईएमआर ( ईलेक्ट्रोनिक मेडिकल रिपोर्ट ) गरिरहेका छौं। त्यसपछी हामीले ल्याब रिपोर्टलाई एकीकृत गर्नुपर्ने हुन्छ। त्यसपछी रेडियोलोजी र अपरेसन थिएटर बन्नेछ। यी सबै फिचरहरु तयार भईसकेपछि हामी अस्पतालहरूमा जानेछौं। तर, त्यसको लागि हामीलाई करिब ६ महिनाको समय लाग्छ । हामीले उनीहरुलाई के फाइदा दिइरहेका छौं भने हामीसँग भएको १ हजार बढी प्रयोगकर्ताहरुले अब उनीहरुसँग सिधै सम्पर्क राख्नेछन्। यसले उहाँहरु र बिरामीको दुखाइ कम हुन्छ । उहाँहरुले आफ्नो क्लिनिकमा २० वटा बिरामी कुर्ने सिट राख्नुपर्ने छैन त्यसको साटो उहाँहरुले बरु एउटा बढी ओपीडी बनाउन सक्छन्। बिरामी आएर सिट नभएको अवस्थामा उभिएर बस्नु पर्दैन। डाक्टरलाई दुई/तीन घण्टा कुर्नु पर्दैन । कुनै कारण डाक्टरलाई काम परेर ढिलो भएको अवस्थामा त्यो चिसो सिटमा कुरेर आफ्नो र कुरुवा दुवैको समयको बर्बाद गरेर बस्नु पर्दैन। यसले समय सदुपयाेग गराउँछ । । हामीले समयको कुरा गर्दा बिरामीको समयको कुरा मात्र गर्छौ । सोच्नुस नेपालमा दिनको २ हजार बिरामी मेडिसिटीले हेर्छ भने आज यो देशको २ हजार उत्पादनशीलता भएका मानिसहरु अस्पतालमा कुरेर बसेको अवस्था छ। सुन्दा मुर्खता लाग्छ तर सत्य यही हो। जिभी एपमा के कस्ता विशेषताहरू छन् ? सर्वप्रथम हाम्रो एप डाउनलोड गरिसकेपछि तपाई हामी सँग जोडिएका डाक्टरहरू सँग जोडिन सक्नुहुन्छ । आफुलाई सजिलो हुने समय हेरेर हामीसँग जोडीएका क्लिनिकका डाक्टरहरुसँग समय लिन पनि सक्नु हुन्छ तपाईले डाक्टरको नामबाट, अथवा रोगको नामबाट वा अस्पतालको नामबाट खोज्नसक्नु हुनेछ। तपाईले आफ्नो अपोईन्टमेन्ट लिईसकेपछी तपाईलाई नोटिफिकेसन मार्फत जानकारी गराईनेछ। जब तपाई डाक्टरकोमा जानुहुन्छ उहाँले तपाईको औषधिको प्रेस्क्रिप्सन, तपाईको रिपोर्टहरु सबै एपमै हाल्दिनु हुनेछ। उहाँले लेख्न साथ तपाईको फोनमा सबै रिपोर्टहरु आउनेछन्। तपाईले प्रेस्क्रिप्सनमै क्लिक गरेर औषधि मगाउन पनि सक्नुहुनेछ। त्यो हाम्रो एउटा पाटो हो। भोली गएर तपाईले हाम्रोबाट ल्याब रिपोर्ट पनि मगाउन सक्नुहुनेछ। आज तपाईलाई ल्याब रिपोर्ट देखाउनको लागि डाक्टरलाई रिपोर्ट लिएर फेरी देखाउन पर्नेहुन्छ । तर, यदि जिभी एप प्रयोग गर्नुहुन्छ भने तपाईको एप डाक्टरकोमा पनि देखाउँछ जसले डाक्टरलाई उनको फुर्सदको समयमा तपाईको ल्याब रिपोर्ट हेरेर जे जे तपाईलाई भएको हो त्यो एपको मार्फतबाट तपाईलाई खबर आउँछ । तपाईको समयको पनि बचत हुन्छ। जानु आउनुको पैसाको बचत, बिरामीसँग जाने मान्छेको समय बचतले जीवनलाई धेरै नै सजिलो बनाइ दिन्छ। यस्तै औषधि तथा अन्य सामग्रीमा २५ प्रतिशत सम्मको छुटको हामीले व्यवस्था गरेका छौं। त्यसबाहेक हामीसँग अन्य केही यस्ता स्पेसल फिचरहरु छन् जुन हामीलाई एप बनाउँदै जाँदा महशुस भयो जस्तै रक्तदान। हामीले के महशुस गर्यौं कि जब हाम्रो प्रयोगकर्ता १ लाख देखि १ करोड पुग्छन् त्यहाँ एकदमै रेयर ब्लड ग्रुप भएका मानिसहरु पनि समावेश हुन्छन् जसको माध्यमबाट मानिस हामीले नजिकै भएको मिल्दो ब्लड ग्रुप भएको व्यक्तिलाई पत्ता लगाउन सक्छौं। हाम्रो एप लगईन गर्दा प्रयोगकर्ताले आफ्नो ब्लड ग्रुप राख्नुपर्ने हुन्छ। त्यस्तै हामीले फ्यामिली फिचर पनि ल्याएका छौं’ । यसमा धेरै विशेषताहरू छन् । आगामी योजनाहरु के कस्ता छन् ? अबको पाँच वर्षमा हाम्रो लक्ष्य भनेको देशको २५ प्रतिशत जनसंख्यामा पुग्नु हो । जुन ८० लाख देखी १ करोड मानिसमा पुग्नु हो। हामी पाँच वर्षके अवधिमा काठमाडौं बाहेकका अन्य धेरै भु(भागमा पुग्न चाहन्छौं । कम्तिमा पनि विकट साना गाउँहरुमा सेवा दिन सक्ने बन्ने योजना छ। यदि सबै तर्फबाट हामीलाई सपोर्ट आयो भने हामीले धेरै नै गर्न सक्छौं । अबको पाँच बर्षमा हामी धेरै ग्रामीण क्षेत्रमा टेलिमेडिसिन सेवा पुर्याउन सक्छौं। तपाई जस्तो युवा जो देश मै केही गर्न चाहनुहुन्छ, उहाँहरूलाई तपाईको के सुझाव छ ? सर्वप्रथम त तपाई सकरात्मक हुन जरुरी छ। साना/साना कुराले तपाईलाई असर गर्न नदिनुहोस्। नेपालमा हामी साना/साना कुराले हामीलाई असर गर्न दिन्छौं। हामी छिट्टै नै नकरात्मक हुन्छौं र हाम्रो सोच बदलिहाल्छौं। सबैभन्दा पहिला त मलाई लाग्छ हामीले त्यस बानीलाई बदल्नु जरुरी छ । मलाई लाग्छ कि हामी सबै महत्वाकांक्षी छौं र हामी सबैसँग योजना छ। तर समस्या के छ भन्दा हामीसँग त्यो शिक्षा छैन जसले हाम्रो योजनालाई सहयोग पुर्याउँछ। शिक्षा भन्नाले युनिभर्सिटीमा लिएको डिग्री होईन। कलेज बाहिर पनि दुनियाँ छ भन्ने हामी बुझ्दैनौं। पर्याप्त अध्ययन गर्दैनौं, आफुलाई पर्याप्त शिक्षित गर्दैनौं। हामीलै युनिभर्सिर्टीले वर्षमा ८ देखि १० वटा किताब पढ्न दिन्छ तर संसारमा २० बिलियन भन्दा बढी किताबहरु छन् जसको सहयोगले हामी धेरै कुरा सम्बन्धि ज्ञान हाँसिल गर्न सक्छौं तर हामी यसको लागि समय नै निकाल्दैनौं। अनि हामी हाम्रो शिक्षा प्रणाली राम्रो छैन भनेर गुनासो गर्छौं। मैले बिजनेस गर्नको लागि कतैबाट पनि डिग्री लिएको होइन र मैले केही ट्रेनिङ पनि लिएको छैन । तर, मैले आफुले आफुलाई धेरै किताबहरु पढेर र यही क्षेत्रमा लागेका व्यक्तिहरुसँग भेटघाट, कुराकानी गरेर आफुलाई प्रशिक्षित गराएको छु । मलाई लाग्छ हामी सकरात्मक हुन जरुरी छ।  मैले २०१५ मा आफ्नो दुईवटा बिजनेस सुरु गर्दा भूकम्प गयो र नेपालमा नाकाबन्दी भएको थियो। तर, त्यसले मलाई कहिल्यै पनि असर गरेन। म र मेरो टिम सकरात्मक भएर अगाडि बढ्यौं र आज हामी दुवै क्षेत्रमा देशको दोस्रो राम्रो कम्पनीमा पर्छौं।

सरकारको करोडौ लगानी रहेको अस्पताल अझै सञ्चालनमा आएन

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडौं लगानीमा निर्माण गरिएको सो अस्पताल नियमित रूपमा सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करिब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न गरिएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन । खजुरगाछी बजारबाट करिब एक किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको सात बिघा जग्गामा रहेको सो अस्पतालमा चिकित्सकको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सञ्चालन हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । उनले भने, “अस्पतालको भवन त बनेको छ, तर अस्पतालअनुसार एक जना एमबीबीएस चिकित्सकसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ, चिकित्सक भए अन्य उपकरण तथा फर्निचरका सामान हामी आफैँले बन्दोबस्ती गरेर सेवा दिन सकिन्छ ।” एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामाग्रीमा उपयोगविहीन अवस्थामा पुगेको भन्दै स्थानीयवासीले तत्काल अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दैआएका छन् । रासस