ग्राण्डीसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न

काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगकाे सहकार्यमा लायन्स क्लबकाे चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी (८ महिना), दोस्रो स्पन्दन शर्मा (१९ महिना) र तेस्रो युभान राज जोशी(५ महिना) भएका छन् । यस्तै २ वर्ष देखि ३ वर्षसम्म तर्फ रिदान नेपाल (२५ महिना), दोस्रो सुदिश्याम बस्नेत (३१ महिना) र तेस्रो सुबल मालाकार तेस्रो भएका छन् । भाग लिनको लागि अस्पतालले जन्मदर्ता कार्ड, खोपको कार्ड अनिवार्य गरेको उक्त प्रतियोगितामा ६२  जना बालबालिकाको सहभागिता रहेको थियो । अस्पतालको प्रांगणमा भएको यस प्रतियोगिता सन् २०१५ देखि लायन्स क्लबले आयोजना गर्दै आएको छ । उपचार भन्दा रोकथाम नै ठुलो भएको र कुनै पनि बालबालिका पछि गएर रोगले नसताओस् भन्ने उदेश्यको साथ स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरेको लायन्स क्लबका पुर्व जिल्ला गर्भनर मधुकर कुमार उपाध्याय बताउँछन् । बालबालिका बाल्यअवस्था देखि नै स्वस्थ हुनुपर्छ भन्ने सन्देश सबै अभिभावकमा प्रवाह गर्नु आफुहरुको मुख्य उदेश्य रहेको उपाध्यायले बताए । आजको बच्चाहरु नै भोलिको देशको सबल सक्षम नागरिक हुन् । यदि कोही बच्चा बिरामी हुन्छ भने त्यसको असर परिवारलाई मात्र नपरेर पुरा समाजलाई पनि पर्ने उपाध्याय बताउँछन् । बच्चाहरु हेर्दा स्वस्थ देखिए पनि कतिपय अवस्थामा उनीहरुको भित्रि अवस्था राम्रो नभएको हुन सक्ने ग्राण्डी अस्पतालका बाल रोग शाखाका प्रमुख डा. सन्जय राज थापा बताउँछन् । यो विषयलाई हरेक अभिभावकले ध्यान दिन जरुरी रहेको उनले बताए ।

महालक्ष्मी विकास बैंकद्वारा सुगन्ध थलेसिमिया प्रोजेक्टलाई साढे २ लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले  हस्तान्तरण गरेका हुन् । कार्यक्रम शनिबार आदर्श मा. वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउण्ड टेबल- ११द्वारा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्राण्डीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् । सोमबार प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा स्वास्थ्य जाँचको लागि पुगेका हुन् । प्रधानमन्त्री ओली नियमित जाँचका लागि गएकाे अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताए ।