उदयपुरका साढे तेतीस हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै

गाईघाट । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । पहिलो चरणको खोप सञ्चालनका लागि सबै क्षेत्रमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिसकिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दोस्रो चरणको खोप कार्यक्रममा जिल्लाको पाँच स्थानीय तह त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दुई चरणमा सञ्चालन गरिने खोप कार्यक्रमका दागि जिल्लामा ४९० खोप केन्द्र, ५५१ स्वास्थ्यकर्मी र ९३७ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । प्रदेश नं १ का जिल्लामा सन् २०१९ मा ५३१ जना बालबालिकामा दादुरा तथा रुबेला रोग देखापरेको थियो । उदयपुरमा भने दुई जना बालबालिकामा मात्र यो रोग देखापरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । प्रदेश नं १ का चौध जिल्लामध्ये उदयपुरमा दादुरा तथा रुबेलाको प्रभाव ज्यादै न्यून रहेको भए पनि सबै पाँच वर्षभन्दा मुनिका सबै बालबालिकामा यो खोप प्रयोग गर्न लागिएको पनि स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । नेपाल सरकारले सन २०२३ देखि नेपालबाट दादुरा तथा रुबेला पूर्ण रुपमा उन्मूलन सम्पन्न गर्ने अभियान तथा लक्ष्य राखेर खोप सञ्चालन गर्दा कार्यक्रम देशभरि नै गर्दै आएका कारण उदयपुरमा पनि यस वर्ष पनि खोप कार्य सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । रासस

मोम्स मन्टेश्वरीद्वारा पोषणसम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । ‘स्वस्थ जीवनको आधार , सन्तुलित आहार’ को मूल नारालाई अँगाल्दै बानेश्वरस्थित  अब्स्त्तित मोम्स मन्टेश्वरीले पोषणसम्बन्धी कक्षा संचालन गरेको छ । उक्त कार्यक्रममा कीर्तिपुर बर्न अस्पतालमा कार्यरत पोषणविज्ञ मिरा शाहले पोषणको महत्व र आवश्यकताका बारेमा प्रशिक्षण दिएकी हुन् । अहिलेको व्यस्त जीवनमा उचित खानपानको तथा सन्तुलित पोषिलो खानेकुराको बारेमा सबैलाई जानकारी हुनु यो एउटा सरल मार्ग हो। आफ्ना बालबालिकाको पोषण स्तर कस्तो छ , के कस्ता खानेकुराहरु स्कुलमा खाइरहेका छन , त्यो सबैको बारेमा सहजै जानकारी पाउनु आफ्नो दायित्व मात्रै होइन अधिकार पनि भएकाे उपस्थित सबै अभिभावकले बताए । बाहिरका जन्क फुड , कुरकुरे , चाउचाउ, मःमः चाउमिन, रियल जुस, हर्लिक्स, मैदाको प्रयोगले स्वास्थमा नराम्रो असर पारिरहेको पोषण विज्ञले जानकारी दिइन् । आफ्नो घरमा पकाएको पोषिलो खाना नै स्वस्थको लागि राम्रो हो, साथै लिटो,जौ, कोदो, फापर , मकै आदिको प्रयोग गर्नुपर्ने र मौसमी फलफूल , सागपात, तरकारी , आदिको प्रयोग दिनहुँ आफ्नो गक्ष अनुसार खानामा समावेश गर्नुपर्ने डा. शाहले बताइन् । स्कुलका प्रिन्सिपलले अब हरेक स्कुलमा पोषणको कार्यकर्म संचालन हुनु पर्नेमा जोड दिए । अभिभावकहरु पनि अब आफ्नो नानी बाबुहरु अब ढुक्कसँग स्कुलमा शिक्षा मात्र नभई पोषिलो खानेकुरामा पनि विश्वस्त रहेको बताए । पोषण विशेषज्ञ शाहले अब हरेक क्षेत्रमा पोषणको एउटा अभियान थाल्नुपार्ने समेत जानकारी दिएकी छन् । यस स्कुल विगत ६ वर्षअघिदेखि शिक्षण क्षेत्रमा आफ्नो योगदान दिदै आएको छ । स्कुलमा डे केयरको पनि सुविधा भएको यस स्कुलमा ४५ जनाको संख्यामा विद्यार्थीहरु रहेका छन् ।

दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गरिँदै

विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग आज यहाँ आयोजित अन्तक्रिया एवं छलफल कार्यक्रममा उनीहरुले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्नेमा जोड दिएका हुन् । यही फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणअन्तर्गत मोरङको आठवटा स्थानीय तहमा दादुरा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालबालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालबालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ । यसैगरी, दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको नौ स्थानीय तहका ६२ हजार ६० बालबालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ । अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । ‘पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो’, उनले भने, ‘जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।’ अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ । नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ । दादुराको कारण अन्धोपना हुने र झाडापखाला, निमोनियाको कारण बालबालिकाको मृत्यु हुने गरेको छ भने रुबेलाले महिलामा गर्भपतन हुने, मृत्यु शिशु जन्मने, बालबालिकामा बहिरोपन र अन्धोपन हुने, मुटुमा प्वाल हुने, मष्तिस्कमा विकृत उत्पन्न हुने गर्दछ । दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालबालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ । दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बालबालिकाका अकाल मृत्युबाट बचाउन खोप अभियान पूर्ण सफल बनाउने सबै राजनीतिक दललाई सहभागी हुने बताए । छलफलमा, राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, चिकित्सक, रेडक्रसका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जना सम्ममा सर्न सक्छ । नेपालमा गत वर्ष एक सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश नं. १ मा ३५, प्रदेश नं.२ मा ८, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो ।रासस