किन हुन्छ पुरुष र महिलामा बाँझोपन ? यसरी सम्भव हुन्छ उपचार
काठमाडौं । प्रत्येक ६ जोडीमध्ये १ जनामा बाँझोपनको समस्या हुने गर्दछ । कुनै पनि जोडीको एक वर्षसम्म गर्भधारण गर्ने प्रयास विफल हुन्छ भने उनीहरु एक वा दुवैमा बाँझोपना भएको बुझिन्छ । बाँझोपन भन्ने बित्तिकै मानिसहरुले सामान्य रुपमा महिलालाई हुने समस्याको रुपमा बुझ्छन् । तर, बाँझोपनको समस्या महिलालाई मात्र हुँदैन । महिला र पुरुष दुबै बाँझोपनको समान रुपमा सिकार हुन्छन् । सय जना दम्पतीमा चाहेको बेला १५ जनामा गर्भ नबस्ने समस्या हुन्छ । चाहेको बेला भन्नाले १ वर्षसम्म परिवार नियोजनको कुनै पनि साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्नु हो । यसलाई निःसन्तानपन भनिन्छ । यो दुई प्रकारको हुन्छ । एउटा रहेको छ प्राइमरी इनफर्टिलिटी जो कहिले पनि बच्चा नपाएकालाई भनिन्छ । दोस्रो, सेकेण्डरी इनफर्टिलिटी जो एक पटक बच्चा भइसकेर पनि दोस्रो पटक बच्चा हुँदैन । साधरणतय महिलाको कारणले गर्भ नबस्ने समस्या ४० प्रतिशत जति हुन्छ भने पुरुषको कारणले ३० प्रतिशत जति हुन्छ । र, दुवै जनाको कारण वा बिनाकारण बच्चा नबस्ने समस्या ३० प्रतिशत हुन्छ । पुरुषलाई किन हुन्छ बाँझोपन ? गर्भ बस्नलाई लाखौं सुक्रकिट बन्नु पर्छ । त्यसैले सुक्रकिट धेरै नबन्नु पुरुषमा बाँझोपन हुनुको एक कारण हो । राम्रोसँग विकास नभएको टेसटिसका कारण पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । टेसटिसहरु पेटमा विकास हुन्छ । पुरुष बच्चा जन्मँदा नौं महिना पुगेर जन्मेपछि टेसटिस अण्डकोषमा आएर बाहिर निस्केर बस्छ । कतिको भित्रै अड्केर बसेको पनि हुन्छ । त्यस्तो अवस्थामा पनि सुक्रकिट बन्दैन र बाँझोपन हुने गर्दछ । टेस्टिस (अण्डकोष) को वरिपरि भेरिकोसिल (रगतको नशाहरु फुल्ने समस्या) को कारण पनि शुक्रकिट नबन्ने हुन्छ । शुक्रकिट बन्ने तापक्रम भनेको ३३–३४ डिग्रि सेन्टीगे्रड हो । शरीरको तापक्रम ३७ डिग्रि सेन्टीगे्रड हुन्छ । यसै कारण टेसटिस शरीरभन्दा केही टाढा रहेको हुन्छ । जसले गर्दा तापक्रम नियन्त्रण भएर शुक्रकिट बन्छ । तर, केही मानिसहरु एकदमै तापक्रम भएको ठाउँमा काम गर्छन्, एकदमै टाईट लुगा लगाउँछन्, तातो पानीमा धेरै नुहाउँछन् भने उनीहरुमा पनि शुक्रकिटको संख्या कम हुन्छ । अर्काे कारण भनेको संक्रमणले हो । सिफिलिस, गोनोरिया जस्ता यौन रोगले शुक्रकिट आउने बाटो बन्द गरिदिन्छ । सेतो पदार्थ आउँछ तर त्यसभित्र शुक्रकिटहरु हुँदैनन् । अर्काे कारण हो एन्टीक्यान्सर औषधी र साईटोटक्सिक औषधी । त्यसले पनि शुक्रकिट नबन्ने हुन्छ । कसैले रेडियोथेरापी दिएको छ वा शरीरमा विकिरणको प्रयोग धेरै भएको छ भने पनि शुक्रकिट उत्पादनमा समस्या हुन्छ । यस्तै, सर्जिकल अपरेसन गरेर टेस्टिस निकालिएको छ वा हर्नियाको अपरेसन गर्दा टेसटिसको तापक्रम गडबड भएको छ भने पनि पुरुषमा बाँझोपनको समस्या हुन्छ । महिलालाई किन हुन्छ बाँझोपन ? डिम्बा अण्डा नबन्नु महिलामा बाँझोपन हुनुको मुख्य कारण हो । यो नबन्ने अवस्थालाई पोलिसिस्टिक ओभरियन डिजिज भनिन्छ । केमोथेरपी, रेडियोथेरापी, ओषधीको प्रयोग र अन्य धेरै कारणले अण्डा बन्दैनन् । फ्यालोपिन ट्युब बन्द भएर पनि समस्या उत्पन्न हुन्छ । यस्तो समस्या भएको अवस्थामा अण्डा बन्ने तर पाठेघरसम्म नपुग्ने अवस्था रहन्छ । यस्तै, पाठेघर नै खराब भएर पनि महिलामा बाँझोपनको समस्या देखिन्छ । उपचारहरु के के छन् ? सबैभन्दा पहिला के कारण बाँझोपन भएको भन्ने पत्ता लगाउन जरुरी छ । किनभने हरेक समस्याको भिन्नाभिन्नै उपचार विधि छ । जस्तै शुक्रकिट कम भएको छ भने त्यो किन कम भयो भन्ने पत्ता लगाउन पर्छ । अण्डा नबन्ने समस्यो हो भने अण्डा बनाउने औषधीको प्रयोग गर्नुपर्छ । यस्तै, फ्यालोपिन ट्युब बन्द छ भने नली खोल्ने अप्रेसन गर्नुपर्छ । पाठेघरमा मासु पलाएर वा पाठेघरकै अन्य समस्याले बच्चा नबसेको हो भने त्यो निकाल्न सकिन्छ । त्यसैले पहिला कारण पत्ता लागउनु पर्छ । जस्तै अण्डा बनेको छ कि छैन भनेर अल्टा«साउण्डबाट हेर्न सकिन्छ । शुक्रकिट ठिक छ कि छैन भनेर ल्याबमा जाँच्न सकिन्छ । यस्तै, नली खुला छ कि छैन भनेर हिस्टेरोसाल्पिङ्गोग्राम, सानोस्टेरोग्राम अथवा ल्याप्रोस्कोपी गरेर हेर्न सकिन्छ । के कारणले बच्चा नभएको हो भनेर पत्ता लगाउने विधिहरु छन् । यसरी कारण पत्ता लागेपछि सोही अनुसार उपचार गर्नुपर्छ । आईभिएफ र आईयुआई उपचार विधि यदि पुरुषको सुक्रकिट नै छैन र भित्र टेसटिसमा मात्र त्यो छ भने त्यसलाई लिएर टेस्ट्युब बेबी बनाउन सकिन्छ । यदि पुरुषको भित्र शुक्रकिट पनि छैन र बाहिर पनि छैन भने उसले आफ्नो पार्टनरलाई दोस्रो पुरुषको शुक्रकिट राखेर प्रसोधन गरेर पाठेघरमा राख्न सकिन्छ । यसलाई कृत्रिम गर्भाधान भनिन्छ । कृत्रिम गर्भाधान दोस्रो व्यक्तिको सुक्रकिट लिएर पनि गर्न सकिन्छ र आफ्नै श्रीमानको पनि लिएर गर्न सकिन्छ । यसलाई आईयुआई भनिन्छ । यसमा महिलाको डिम्बा भित्रै बन्छ र शुक्रकिटलाई मात्र भित्र पठाइन्छ । यो गर्नको लागि १० देखि १५ हजार खर्च लाग्दछ । यस्तै महिलाको लागि भने आईभिएफ विधि पनि छ । बच्चा बसाउने यो अर्को विधि हो । यसले महिलाको अण्ड बनाउने काम गर्छ । साधारणतः महिलालमा एक महिनामा एउटा अण्डा बन्छ । औषधीहरु दिएर महिनामा ५–७ वटा अण्डा बनाउन सकिन्छ । त्यो बनेको अण्डा वा डिम्बलाई अल्ट्रासाउण्डको माध्यमबाट योनीबाट सुईको माध्यमले सबै निकाल्न्छि । यसरी निकालिएको अण्डामा पुरुषको शुक्रकिट मिसाइन्छ । अनि ४८ घण्टापछि कुन कुनमा गर्भधान भएको छ भनेर हेरिन्छ । त्यसपछि त्यसमध्येको बनेको दुई भु्रण योनीबाट सुइको माध्यमबाट पठाईन्छ । यो दुईटा नली काटेको महिलामा पनि गर्न सकिन्छ । यो विधिको उपचार गर्नको लागि औषिधी उपचारसहित २ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । निसन्तान पनबाट बच्ने उपायहरु –तौल बढी र कम पनि हुनुहुँदैन –नियमित व्ययाम र तागतिलो खाना खाने –पुरुषहरुले धेरै गर्मी ठाउँमा काम नर्गने, टाईट कपडा नलगाउने उमेरले बाँझोपनमा प्रभाव पार्छ उमेरले बाँझोपन प्रभाव पार्छ । सानो उमेरले बाँझोपनमा खासै प्रभाव नपारेपनि ३५ वर्षपछि महिलाहरुमा बच्चा बस्ने सम्भावना कम भएर जान्छ । एक महिलामा डिम्ब उत्पादन हुन फोलिकलको आवश्यकता पर्छ । उमेरको बृद्धिसँगै फोलिकल उत्पादनमा कमी हुँदै जान्छ । एक जना महिलामा जीबनभर ५ सय फोलिकल मात्रै बन्छ र उमेर बढेसँगै घट्दै जान्छ । तर यसको मतलब ३५ वर्षपछि बच्चा हुनै सक्दैन भन्ने भने होइन । एउटा महिला र पुरुषको लागि बच्चा पाउन उपयुक्त उमेर २० वर्षदेखि ३० वर्ष रहेको छ । (परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीका निर्देशक जागेश्वर गौतमसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित)
कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो । खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो । प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएका थिए । चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरु त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिए । टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए । घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए । घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि दुई/चार परिवार गाउँ फर्किएको बताए । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताए । स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राखे । भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उनले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताए । भूकम्पमा पनि गाउँ छाडेका भाडामा बस्नेहरुले अहिले पनि कोठामा ताल्चा लगाएको बताउँदै उनले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ । स्थानीयवासी राजाराम भण्डारीले भने, ‘सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।’ उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको हुनसक्ने बताए । जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन । रासस
क्यान्सर जनचेतनाका लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न
काठमाडौं । ज्योति लाईफ द एमेजिङ मोटर र्याली २०२०’ सम्पन्न भएको छ ।काठमाडौँ ग्रुप अफ होटल्स, रोटरी क्लब अफ बागमती काठमाडौं र ज्योति केयर्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम माघ २४ सम्पन्न भएको हो । विश्व क्यान्सर दिवसको अवसरमा ‘आई एम एण्ड आई वील क्रिएट अ वल्र्ड विड्आउट क्यान्सर’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रबर्द्धन पनि गरिएको थियो । नेपाल टुरिजम बोर्डको प्रांगणबाट क्यान्सर जनचेतना सम्बन्धी स्टिकरहरुद्वारा सुुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल टुरिजम बार्डबाट निस्किएका गाडीहरु थानकोट, चुम्लिङ्गटार, दमौली हुँदै पोखरासम्म विभिन्न चेक प्वाइन्टहरुमा आयोजित खेलहरुमा सहभागी हुँदै समापन भएको हो । सम्पूर्ण गाडीहरुमा जिपिएस जडान गरी गाडीहरु चेकप्वान्ट पार गरे नगरेको निरीक्षण गर्नुका साथै नियमानुसार प्रति घन्टा ८० कि.मि भए नभएको निगरानी गरिएको थियो । करिब १० घण्टाको यात्रापछि सम्पूर्ण गाडीहरु पोखरास्थित वाटर फ्रन्ट होटलमा बस्ने प्रावधान गरी साँझ औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत पूर्व तथा हालका मिस नेपालहरु अनुष्का श्रेष्ठ, रोज लामा, मीरा कक्षपति, रोनाली अमात्य तथा रिया बस्नेत लगायत विभिन्न संघ संस्थाहरुक प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्ट मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको दोश्रो दिन काठमाडौँ ग्रुप अफ होटल्सको सहकार्यमा सारङकोट स्थित जनजागृति माध्यामिक विद्यालयमा ज्योति लाईफको सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत स्वास्थ शिविर तथा स्थानिय विधार्थीहरुलाई ब्याग, शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरियो । साथै, स्थानीय प्रतिनिधि तथा पोखरा उप महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ्ग उपस्थित उक्त कार्यक्रममा ३८५ जनाको उपचार भएको थियो ।