जीवननै समाप्त भयो भनेर सोच्नेहरुको पनि उपचार सम्भव बनायौंः रुपेश अधिकारी

काठमाडौं । स्पार्क हेल्थ होम आफ्नो स्थापनाको २७औं  वर्ष पूरा गरी २८ औं  वर्षमा प्रवेश गर्दैछ । सिमित श्रोत साधन र सानो कोठाबाट सुरु भएको यो संस्थाले नेपालमा प्राकृतिक चिकित्सालाई सुरु गरेको थियो । वि.स २०४८ सालबाट निरन्तर सेवा संचालन गरिरहेको छ । २८ वर्षको यो अवधिमा धेरै मानिसले सेवा लिइसकेका छन् । हाल अस्पतालले के कस्ता सेवाहरु दिइरहेको छ ? र सेवाग्राहीको उपस्थिति कस्तो छ भन्ने लगायतका विषयमा आधारित भएर विकासन्यूजकी डोमी शेर्पाले विगत १५ वर्षदेखि कार्यरत स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीसँग कुराकानी गरेकी छन् । प्राकृतिक चिकित्सक पद्धति र फिजियोथेरापी भनेको के हो ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी एक अर्काका परिपुरक हुन् । फिजियोथेरापी पनि स्वतन्त्र किसिमले उपचार गरिने पद्धति हो । फिजियोथेरापीमा एकदमै न्यून औषधिको प्रयोग गरेर उपचार गरिन्छ । यी दुवैमा मानिसलाई हानीरहित उपचार पद्धतिको प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक चिकित्सा पद्धतिमा माटो, पानीबाट उपचार गरिन्छ । व्यायम, मसाज थेरापीबाट उपचार गरिन्छ । यी विभिन्न किसिमको उपचार पद्धतिहरु राखेर फिजियोथेरापीले प्राकृतिक चिकित्सा पद्धतिले फरक तरिकाले उपचार गरिन्छ । कुन–कुन स्थानमा हाल स्पार्कले सेवा दिदैँछ ? काठमाडौंमा मात्र स्पार्क हेल्थ होमको सतुंगल, चाबाहिल, सुर्यबिनायक र सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ ।  यहाँहरुले प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापीबाट हुने उपचार  गर्नु पर्छ भन्ने मनासाय कसरी बनाउनु भयाे ? यो संस्था सुरुमा योग तथा प्राकर्तिक अनुसन्धानको रुपमा सुरु भएको थियो । अध्यक्ष टंकनाथ पौडेल, प्रबन्ध निर्देशक हरिशरण रिजाल र ईन्चार्ज संगिता श्रेष्ठले संस्थाको सुरुवात गरेका थिए । जुन उद्धेश्यले सुरुवात भएको थियो त्यही अनुरुप अगाडि बढाइरहेका  छौं । कस्तो रोग लागेको मानिसलाई यो उपचारको पद्धतिबाट सञ्चो हुन्छ ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी हुने उपचार धेरै किसिमको हुने गरेको छ । विशेष गरेर हाल अस्पतालको सेवामा मानिसहरुले नर्सने रोगहरु जस्तै प्यारालाईसिस,   पक्षघात, हाडजोर्नी, नशाका समस्या, हड्डी खिइने, युरिक ऐसिड, पेटसँग सम्बन्धित विभिन्न समस्याहरु, स्पोर्टस ईन्ज्युरीको रिहाबिलिटेसनका प्याकेजहरु सबैभन्दा बढि रुचाएका छन् । उनीहरुले यो पद्धतिबाट उपचार गराएपछि सञ्चो भएका छन् । तपाईले एकदमै सम्झन लायक केसहरु केही छन्, जसको उपचार यहाँ आएपछि मात्र सम्भव भयो ? त्यस्ता केसहरु धेरै ने छन् । हामीले लगभग एक वर्षमा ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिन्छौं । त्यसमा ९० प्रतिशत सेवाग्राही हामीबाट सन्तुष्ट छन् । कहिले उठेर हिँड्न नसकेर आएका मानिसहरु हिँडेर गएका छन् । जिवन नै समाप्त भयो भनेका मानिसहरु हाँसी खुसी घर फर्किएका छन् । अन्य प्राकृतिक उपचार पद्धतिबाट सेवा दिने अस्पतालहरुको दाँजोमा तपाईहरु कहाँ हुनुहुन्छ? पछिल्ला समय चिकित्सा पद्धतिबाट उपचार गर्ने  संस्था खोल्न बाढी नै आए जस्तो भएको छ । हामीसँग रजिस्टर्ड प्राविधिक, चिकित्सक, कर्मचारीको राम्रो टिम छ । राम्रो वातवरण, राम्रो उपकरणहरुको प्रयोग गर्दै हामीले सेवा दिइरहेका छौं । विभिन्न देशबाट यही विषयमा मास्टर्स सिध्याएर आएका एकदमै पोख्त चिकित्सकहरु एकै छानामुनि रहेको कारण हामी अन्यको दाँजोमा धेरै माथि छौं । हामी सरह पनि केही संस्थाहरु हुनुुहुन्छ । त्यही पनि फिजियोथेरापी पद्धतिमा सबैभन्दा धेरै कर्मचारी, पुर्वाधार र लगानीको कारणमा नेपालकै नम्बर एक र सबैभन्दा पहिला रजिस्टर्ड संस्थामा पर्दछौं । अगामी दिनमा के गर्ने योेजना छ ? आगामी दिनमा हामीले अत्याधिक व्यस्त रहेका मानिसहरुलाई केन्द्रित गर्दै आउँदो बैशाखबाट डिलक्स उपचारको सेवा सुरु गर्ने भएका छौं । यस अन्तगर्त अति व्यस्त रहने मानिसले अपाेइमन्६ जुन पनि समयमा सेवा लिन पाउनेछन् । यस्तै स्पा थेरापी भनेर भिन्नै स्पाका प्याकेजमाहरु हामी ल्याउँदैछौं । प्राकृतिक चिकित्सा र अकुपन्चर जियोथेरापीलाई सिटिइभिटी सँग समन्वय गरेर त्यसका कक्षाहरु संचालन गर्न तयारी गर्दैछौं । काठमाडौंमा  थप शाखा  विस्तार गर्नलाई ठाउँहरु हेर्दैछौं । यो सेवालाई अझ व्यवस्थित किसिमले संचालन गर्न ऐलोपेथी, आर्युवेदका विज्ञहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागहरुसँग समन्वय गर्न र सर–सल्लाह लिने र वृहत तयारीमा छौं ।

चन्द्रागिरिमा सञ्चालन भयाे १५ शैय्याको नगरस्तरीय अस्पताल

काठमाडाैं । पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ शैय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु एक करोड र वाग्मती प्रदेश सरकारको रु एक करोड लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको अधिकारलाई पूरा गर्न नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । अस्पताल भवन साढे तीन तलाको छ । पन्ध्र वडा रहेको चन्द्रागिरिमा गाउँगाउँदेखिका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न र अस्पताल आवतजावतमा सहजताका लागि नगरस्तरीय एम्बुलेन्ससमेत खरिद प्रक्रियामा रहेको नगरप्रमुख गिरीले बताए । एम्बुलेन्स खरिदका लागि चन्द्रागिरि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । चन्द्रागिरि नगरस्तरीय अस्पतालमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा आएको छ । यस्तै, नगरस्तरीय अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि रु एक करोड लागतमा आवासगृह निर्माण गर्न लागिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उक्त अस्पतालमा चन्द्रागिरिका जनतामात्र नभई धादिङका विभिन्न गाउँका जनताले समेत स्वास्थ्य सेवा पाउने नगरपालिकाले जनाएको छ । नगरस्तरीय अस्पताल सञ्चालनका लागि आवश्यक इको मेसिन खरिदका लागि चन्द्रागिरिले चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजनसमेत गरेको छ । चन्द्रागिरि नगर अस्पतालमा वार्षिक एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा पाउनेछन् । क्षेत्रफलका आधारमा चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । रासस

स्वास्थ्य मन्त्री ढकालले एकैदिन गरे ९ डाक्टरको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नौं डाक्टरको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न अस्पतालमा कार्यरत डाक्टरको जिम्मेवारी फेरबदल गरेका हुन् । कान्ति बाल अस्पतालको प्रमुखकाे जिम्मेवारी डा.कृष्ण पौडेलले पाएका छन् । यसअघि डा.आरपी विच्छाले अस्पतालको प्रमुख जिम्मेवारी सम्हालेका थिए । डा. बिच्छा सोही अस्पतालमा छन् । पौडेल कान्ति अस्पतालका बरिष्ठ चिकित्सक थिए । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेट डा.सन्तोष पौडेल भएका छन् । त्यस्तै, टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा नियुक्त भएका छन् । सो अस्पतालको डा. विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक पदको जिम्मेवारी दिएको छ । वीर अस्पतालका डा. रविन खड्का सारिएको छ भने कोशी अस्पतालको मेडिकल नियन्त्रकमा डा. चुमनलाल दासलाई नियुक्त गरिएको छ । त्यस्तै भेरी अस्पतालको मेडिकल नियन्त्रक पदको जिम्मेवारी डा. प्रकाश थापालाई दिएको छ ।