दार्चुलामा देखिए कालाजारका बिरामी
दार्चुला। हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको हो । जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ । दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययनसमेत गरेको थियो । कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन् । कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ । रासस
बाजुरा हिमाली गाउँपालिकाकाे स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० लाखको बीमा
बाजुरा । कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका छन् । बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेसँगै कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका त्यहाँका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका हुन्। प्रतिदिन रु ५०० थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप रु १० लाखको बीमा सहुलियत दिने निर्णय गरेको हो । सरकारको रु २५ लाख र प्रदेश सरकारको रु १५ लाखमा गाउँपालिकाले रु १० लाख थपेर रु ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो । गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो । गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ ।रासस
निको हुँदै छैटौं काेभिड-१९ सङ्क्रमित, अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिने
बागलुङ। कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । “उनको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले भने, “अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ ।” महिला १५ दिनदेखि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको पोखरेलले बताए । हाल उनलाई उच्च रक्तचाप र दमको मात्र पुरानै औषधि चलाइएको छ । उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ–४ की १९ वर्षीया युवतीको चौथो जाँचको रिपोर्ट भने पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ । रासस