जहाँको ‘हाछ्यूँ’ बाट कोरोना संक्रमण शुरु भयो त्यहाँका सबै संक्रमित डिस्चार्ज

काठमाडौं । चाइना नेशनल हेल्थ कमिशनका प्रवक्ता मि फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि विरामीहरु अस्पतालमा बाँकी छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । वुहान चीनको त्यही शहर हो, जहाँबाट कोरोना भाइरसको संक्रमण शुरु भएको थियो । ‘स्वास्थ्यकर्मीहरुको कडा मेहनतको परिणाम बुहानमा भर्ना गरिएका सवै संक्रमित निको भएका छन्,’ मिले भनेका छन् । वुहानमा गत शनिवारसम्म संक्रमितहरुको कूल संख्या ४६ हजार ४ सय ५२ थियो । भनिँदैछ कि वुहानको ‘हाछ्यूँ’ बाट नै सारा दुनियाँमा महामारी फैलियो । अब यसै शहरका सवै संक्रमित निको भएर अस्पतालबाट बाहिर आएका छन् । संक्रमण फैलिएपछि चीनको हुबे प्रान्तको यो शहर ७६ दिनसम्म पूर्ण रुपमा बन्द गरिएको थियो । त्यहाँ पहिलो संक्रमित गत डिसेम्वरको मध्यतिर फेला परेका थिए । (श्रोतः बीबीसीडटकम)

कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ९ लाख नजिक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ९४ हजार ७ सय ३१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ भने ८ लाख ७८ हजार ७ सय ९२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५५ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ८७ हजार १ सय ६० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ भने अहिलेसम्म ८८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

धरानमा छुट्टै कोरोना अस्पताल सञ्चालन, अब स्वाब परीक्षण गर्न काठमाडाैं ल्याउनै नपर्ने

धरान। विपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा रहेको छ । पहिलो चरणमा सञ्चालनमा ल्याइएको १०० शैयासहितको ‘आइसोलेसन’ कोभिड-१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश १ मा कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए । ‘कोभिड-१९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सङ्क्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गरिनुपर्छ ।’ प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको र आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक एैरका अनुसार अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित १०० शैयाको कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याइएको हो । यसअघि कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं पुर्याउनुपर्ने अवस्था थियो । केही समय अगाडि सरकारले प्रदेश नम्बर १ को लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परिक्षण गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर-१ मा कोरोना संक्रमणको दर सबैभन्दा बढि रहेको छ । प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो । प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो । प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश-१ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।