कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ । समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ । डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो । रासस
कोभिड–१९ को विरुद्ध परिचालन हुने कर्मचारीलाई बीमासहित जोखिम भत्ता
डोटी। जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ । स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह गरिएको छ । स्थानीय तहले कर्मचारीका लागि तलब स्केलको ४० देखि ६० प्रतिशतसम्म सो भत्ता दिने निर्णय गरेका छन् । गत चैत १५ गतेदेखि लागू हुने गरी हेल्थ डेस्कमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, क्वारेन्टाइनमा खटिने कर्मचारी तथा अनुगमनमा खटिएका कर्मचारीलाई तलबको ६० प्रतिशत सुविधा थप दिने निर्णय भएको छ । त्यसैगरी कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको ज्यान गएमा उनका घरपरिवारलाई रु पाँच लाख बीमा दिइने भएको छ । यसबाहेक स्वास्थ्यचौकीमा खटिएका कर्मचारीलाई शुरुवाती तलबको ४० प्रतिशत सुविधा थप दिने निर्णय भएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु खड्काले जानकारी दिए । कोरोना जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसबाट प्रभावित क्षेत्रका स्थानीयवासीका लागि राहत सुविधा प्रदान गर्न ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी नमूना मापदण्ड–२०७६’ पनि स्थानीय तहले पारित गरेका छन् । यसका साथै कोरोना भाइरसको सामना गर्न सबै स्थानीय तहमा रहेका जनशक्तिलाई तयारी अवस्थामा रहन र आवश्यक परेको बेला उपस्थित हुनुपर्ने निर्णय गरिएको दीपायल सिलगढी नगरपालिकाले जनाएको छ । रासस
फेरि दुई जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ५१ पुग्यो
काठमाडौं । नेपालमा फेरि दुई जनामा कोरोना भाइरस देखिएको छ । आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएकाे हाे । याे सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिङ – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टी भएको संख्या दुई छ । उनीहरू दुवै पर्सा , बीरगंज निवासी ५० बर्षीय पुरुषहरू हुन्। हाल सम्म प्राप्त विवरण अनुसार निजहरू आइसोलेशनमा अस्पतालमा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । । हाल सम्म पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेका मध्ये १२ जना निको भई डिस्चार्ज भएका छन् ।