हवाई सेवा नहुँदा खुम्बुको औषधि काठमाडौंमै
काठमाडौं । लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौंमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट, औषधिलगायतका सामग्री काठमाडौंमा थन्किएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा अहिले औषधिलगायतका कोरोना सुरक्षा स्वास्थ्य सामग्री अभाव रहेको छ । पालिकाको सबै वडामा मास्क, स्यानिटाइजर, पिपिइलगायत अन्य औषधिसमेत अभाव हुन थालेको उनको भनाइ छ । लकडाउनअघि काठमाडाँैमा सामग्री अभाव भएकाले त्यसपछि खरिद गरिएका कुनै पनि सामग्री ढुवानी गर्न सकिएको छैन । खुम्बुमा ढुवानीको एक मात्र सहज माध्यम विकल्प हवाईमार्ग रहेको छ । लकडाउनसँगै देशभरको हवाई सेवा बन्द हुँदा खाद्यान्नसहित स्वास्थ्य सामग्री ढुवानी गर्न नसकिएको भट्टराईले बताए । यसैबीच खुम्बु पासाङल्ह्मु गाउँपालिका–१ खरिखोलाबाट खुम्बु भित्रिने व्यक्ति बढेको स्थानीयवासीले बताएका छन् । खरिखोला प्रहरी चौकीमा सुरक्षाकर्मी सीमित हुँदा विभिन्न नाका हुँदै गाउँपालिका भित्रिने क्रम बढेको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए । उनका अनुसार ११ जनाको दरबन्दी रहेको खरिखोला प्रहरी चौकीमा पाँच मात्रै प्रहरी हुँदा नाकामा कडाइ गर्न नसकिएको हो । रासस
भोजपुरको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ पुष्टि भएको जानकारी दिएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको जनाएको छ । बिहीबार दिउँसो नै २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरिसकेको थियो। बिहीबार नै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्। कोरोनाको उपचार पछि निको भएर घर जानेको संख्या १० पुगेको छ भने ३८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
बेलायतमा थप तीन नेपालीको मृत्यु
काठमाडौं । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए । आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उनले पूर्णकालीन रुपमा कामसमेत गर्दै आएको समाजसेवी लीलादेवी गुरुङले बताए । खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उनी भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिईन । उनी गत वर्ष मात्र बेलायत आएका थिए । एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना भएकी राईलाई पहिलेदेखि मिर्गौलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिए । त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए । तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएको समाजसेवी कमल गुरुङ बताए । रासस