दश दिनपछि सञ्चालनमा आयो भरतपुर कोभिड–१९ प्रयोगशाला
काठमाडौं ।कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो । किटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौंडा र काठमाडौं पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३ सयभन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ । एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३ सय ८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १ सयथान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो । यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना सङ्कलन हुने गरेको छ । विगतका दिनहरुजस्तै नमूना सङ्कलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताए । यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ । जान चाहाने भारतीयलाई घर फर्काइँदै भारत घर भइ हाल नेपालमा रहेर भारत जान चाहने भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय चितवनले घर पठाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर चितवन जिल्लाभित्र रहेका घर जान चाहने भारतीयलाई परिचयपत्रसहित नाम टिपाउन आग्रह गरेको छ । भारत जान चाहनेले आफ्नो देशको परिचयपत्रको नम्बरसहित मोबाइल नम्बर, भारतको ठेगाना, हाल चितवनमा बसेको ठेगाना र नेपालको कुन नाकाबाट पार गर्नुपर्ने हो ती सबै विवरण खुलाएर आज दिनको ३ बजेसम्म प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ । भारत फर्कन चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालय चितवनको इमेल [email protected] वा मोबाइल नम्बर ९८५५०१७७७७, ९८५११५९५१४, ९८४१०४३६३४ र ९८४५३३१०३६ मा म्यासेज गर्न सकिने सूचनामा उल्लेख गरेको छ । जिल्लामा भारत घर भएका नागरिकको सङ्ख्या के–कति छ र कति जान चाहन्छन् भन्ने वास्तविक तथ्याङ्क स्थानीय प्रशासनसँग नभएकाले सार्वजनिक आह्वान गरिएको हो । रासस
फेसबुकमा अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलालीका युवक पक्राउ
काठमाडौं । कैलालीमा आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुर बस्ने बर्ष १९ कि लक्ष्मी देउवाको फेसबुक आईडीबाट उनका आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरेको आरोपमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली स्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेको भन्ने सूचनाको आधारमा घटनाको अनुसन्धानका लागि जिल्लारी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न जिल्ला कन्चनपुर बेलौरी नगरपालीका वडा नम्बर ७ बस्ने वर्ष २३ को सन्तराम चौधरीलाई उक्त अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद तथा निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको बताएको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ४७ हजार ३ सय ९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने अहिलेसम्म २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)