किन किन्यो स्वास्थ्य मन्त्रालयले ७ करोडको काम नलाग्ने र्यापिड टेष्ट किट ?
काठमाडौं । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य मन्त्रालयका अधिकारीले र्यापिड टेष्ट किट भरपर्दो नभएको भन्दै प्रयोग नर्गन आग्रह गरेका थिए । विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेको हुनाले स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले सो किट प्रयोग नर्गन आग्रह गरेका हुन् । ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला,’ उनले भनेका थिए । तर कार्कीले प्रयोग नर्गन आग्रह गरेको उक्त किट स्वास्थ्य मन्त्रायले ७ करोडमा खरिद गरेकाे हो । मन्त्रालयले खरिद गरेका सामानको विवरणमा प्रतिपिस अमेरिकी ८ डलरको ७५ हजार पिस र्यापिड टेष्ट किट खरिद गरेको उल्लेख छ ।
स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिने विरुद्ध सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने
काठमाडौं । स्वास्थ्यकर्मीलाई घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार खेम कार्कीले यदि घरबेटीले कोठामा बस्न नदिए सामान्य प्रशासन कार्यलयमा उजुरी दिन पाइने बताएका हुन् । उनले भने, ‘सुरुमा राम्रोसँग सम्झाउनु, बुझाउनुपर्छ। सम्झाउँदा अनि बुझाउँदा पनि भएन भने स्थानीय प्रशासनमा उजुरी दिनुपर्छ।’ काेराेनाकाे त्रासले सिन्धुलीमा घरबेटीले बस्न नदिएपछि २२ जना स्वास्थ्यकर्मी सिन्धुली अस्पतालमै बस्न बाध्य भएको खबर बाहिर आएकाे थियाे । एक घरबेटीलाई भने पुलिसले पक्डिसकेकाे छ ।
कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई होटलमा राखिने
काठमाडौं । कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले होटलमा राख्ने व्यवस्था मिलाउने भएका जानकारी दिएका हुन् । उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको हो। तर नेपालमै फैलिए उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई हामीले सुबिधा सम्पन्न होटलमा राख्ने तयारी गर्दैछौं।’