१० प्रतिशतभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्छ : सांसद
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपत् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्छ, किसानलाई राहतको व्यवस्था गर्दै उत्पादन गर्नुपर्ने छ, उत्पादन र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्छ, सार्वजनिक स्वास्थ्य र शिक्षमा ध्यान दिँदै त्यसबारे विशेष योजना बजेटमा आउनुपर्छ ।” उनले भारतले नेपालको लिपुलेकसम्म बाटो बनाएर नेपालको सीमा अतिक्रमण भएकोप्रति विरोध जनाउँदै आफ्नो देशको राष्ट्रियता जोगाउन सबै नेपाली लाग्नुपर्नेमा जोड दिए । उनले भने, “नेपालका सीमामा भएको अतिक्रमणबारे राष्ट्रियसभामा पनि छफफल हुनुपर्ने थियो तर हुन सकेको छैन, राष्ट्रिय संवेदनशील विषय राष्ट्रियसभाको विषय बन्नुपर्छ ।” बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाउनेभन्दा पनि आजको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्ने उनको भनाइ छ । नेपाली काँग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउँदै उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी गर्दै बजेट छुट्याउनुपर्नेमा जोड दिए । सांसद शेखरकुमार सिंहले सीमा क्षेत्रको रक्षा गर्दै कृषिमा आधारित बजेट आउनुपर्छ भने । सांसद बेदुराम भुसालले भौगोलिक अखण्डतामाथि अतिक्रमण भएकोप्रति आपत्ति जनाउँदै त्यसलाई बचाउनका लागि सरकार र सबै नेपालीसमक्ष आग्रह गरे । उनले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्नेलगायत विषयमा बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सांसद जगप्रसाद शर्माले शहीद परिवार र अपाङ्ग समुदायको सवाल बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नपर्ने बताए । रासस
खुकुलो बन्दै लकडाउन, थपिदै कोरोना संक्रमित
काठमाडौंं । अहिले जारी लकडान खुकुलो बनिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या भने बढेदै गएको छ । आज लकडाउनको ४९ औं दिन भइरहँदा बजारमा लकडाउन भने केही खुकुलो बन्दै गएको छ । आज मात्र कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस देखिएको छ । आजसम्म नेपालमा १ सय २० जनामा कोरोना भाइरस पोजेटिभ देखिसकेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसले पनि देशमा थप जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंमा कोरोनाका बिरामी छैन भनेर लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । तर, अझै पनि चिकित्स विज्ञहरुले काठमाडौं जोखिममै रहेको बताइ रहेका छन् । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन । काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ ।
जुम्ल्याहाकी आमाको रिपोर्ट नेगेटिभ
दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा पठाइएकामा आइतबार साँझ रिपोर्ट आएको हो । यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । यादव तुलसीपुरको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । केही दिनअघि भारत, बलरामपुरस्थित आफ्नो माइतीघरबाट पैदल हिँडेर तुलसीपुर उपमहानगरपालिका—१३ मा रहेको घरमा आएको थाहा पाएपछि स्थानीयवासीले उपमहानगरपालिकालाई खबर गरेका थिए । त्यसलगत्तै उनलाई तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनमा लगिएको थियो । यादवको यसअघि गरिएको र्यापिड डायग्नोष्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो । रासस