४८ घण्टाभित्र कोरोनालाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्ता लागेकाे वैज्ञानिकको दाबी
काठमाडाैं । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् । तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् । औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधी हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ । शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताउनुभयो । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् । कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ । “विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।”–डा. वाग्स्टाफले भने। विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उनले जानकारी दिए । वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ । गाेरखापत्रबाट (नोटः कोरोना विरुद्ध विश्वमा भएक खोजबारेका यी समाचार पाठलाई जानकारी गराउने उद्देश्यले मात्र प्रकाशित गरिएको हो । यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेख बिना कुनै हालतमा गर्न नहुने कुरा आदरणीय पाठक वर्गमा अनुरोध छ )
गाउँपालिकाका अध्यक्ष भन्छन् : सचेत रहु, राहतको पोकासंगै कोरोना आउन सक्छ ?
काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । लकडाउनको समयमा राहत वितरण गर्नेहरुले पनि सतर्कता अपनाएर मात्रै राहात वितरण गर्नु पर्ने उनले बताए । पोकाको राहात बाँडेर आफूलाई भगवान बनाउन खोज्नेको राहत अस्वीकार गर्न समेत मोक्तानले अनुरोध गरेका छन् । ‘गाउँमा नै उत्पादन भएका निउरो, कर्कलो, कोइरालाको फूल, सिस्नु, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुललगायका बस्तुहरु खाएर पनि बच्न सकिन्छ, दयाको पात्र सम्झनेहरुले भगवान् देखाउन चामलको बोरा बाँड्न आएका र उनीहरु माथि नै कोरोनाको हुनसक्छ,’ मोक्तानले भने ।
कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मेरो आत्मबल नै कडा छ’
काठमाडाैं । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो। तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो। धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि। कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन। गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो। सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन। कसरी सर्यो सङ्क्रमण? झण्डै २०/२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्। उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो। त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन। तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। सङ्क्रमणको डर चैत ४ गते काठमाडाैं उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए। काठमाण्डाैंबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए। आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्। घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्। अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन। त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्। उनी भन्छिन्, “मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।” पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ। “अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन,” उनी भन्छिन्। “मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ,” उनले थपिन्। बीबीसीबाट