नेपालमा कोरोनाबाट मृत्यु भएका दाेस्राे व्यक्ति को हुन् ?

काठमाडाैं । नेपालमा कोरोना भाइरसको कारण थप एक जना युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । आज मृत्यु भएका युवक बाँकेका भएको बताइएको छ । उनकाे बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी २५ वर्षका युवा हुन् । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो । हिजाे मात्रै सिन्धुपाल्चाेककी महिलाकाे काराेनाकाे कारण निधन भएकाे थियाे ।

नेपालमा कोरोना भाइरसको कारण दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काेराेनाकाे कारण बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको हाे । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका उनलाई शनिबार राति बान्ता भएको थियो । त्यसपछि एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनी  गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका थिए । हिजाे अर्थात जेठ ३ गते मात्रै काेराेनाकाे कारण सिन्धुपाल्चाेकमा एक महिलाकाे मृत्यु भएकाे थियाे । यससँगै, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ ।

धनुषामा कोरोना सङ्क्रमितकाे संख्या सात पुग्यो

काठमाडाैं । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका-९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए । ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उनले बताए । ती दुवै व्यक्ति लकडाउनको अवधिमा चितवनबाट साइकल चढेर जनकपुर आएको जानकारी जनाइएको छ । उनीहरुलाई नगराइनको स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । रासस