कोरोना संक्रमणको निःशुल्क परीक्षणबाट पछि हट्यो सरकार, पीसीआर परीक्षणकाे कति लाग्छ शुल्क ?
काठमाडौं । कोरोना संक्रमण शंका गरिएका नागरिकको निःशुल्क परीक्षण गर्ने अहिलेको व्यवस्थाबाट सरकार पछि हटेको छ । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै सरकारले न्यूनतम शुल्क तिरेर आफै परीक्षण गर्न पाइने व्यवस्था गर्न लागेको हो । कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले न्यूनतम शुल्क तिरेर आफै पनि परीक्षण गराउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि संक्रमण शंका गरिएका र कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई सरकारले निःशुल्क परीक्षण गर्दै आएको थियो । ‘पीसीआर परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा ताेकिएकाे शुल्क तिरेर जाँच गराउन पाउने व्यवस्था गरेका छौं, ’ डा. देवकोटाले भने । काेराेना संक्रमणकाे लक्ष्यण नदेखिएका व्यक्तिले परीक्ष्यण गर्न चाहेमा शुल्क तिरेर गराउन पाइने व्यवस्था सरकारले मिलाएकाे हाे । लक्ष्यण देखिएका व्यक्तिकाे भने सरकार अहिले कै व्यवस्था अनुसार निःशुल्क परीक्षण गराउने छ । यसरी जाँच गराएपछि पीसीआर परीक्षणको दायरा फराकिलो हुने मन्त्रालयको भनाइ छ । एक व्यक्तिको एक पटक पीसीआर परीक्षण गर्न करिब १० हजार रुपैयाँ लाग्ने बताइएको छ । तर, सरकारले कति मूल्यमा र कुन कुन स्वास्थ्य संस्थामा परीक्षण गराउन पाइने भन्ने सन्दर्भमा भने थप जानकारी दिएको छैन । यस्ताे परीक्षणकाे शुल्क सम्बन्धित स्वास्थ्य संस्थाले नै ताेक्न पाउने डा. देवकाेटाले बताए । अहिलेसम्म सरकारले संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्ष्यण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने गरी निर्देशिका बनाएर कार्यान्वयन गरिरहेको थियो । अहिलेसम्म संक्रमण पुष्टी भएकाहरुलाई सरकारले उपचार गरिरहेको छ । आफैले परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखियो भने सरकारले नै उपचार गर्ने हो कि व्यक्ति स्वयमले नै गर्ने हो भन्ने विषय पनि प्रष्ट भएको छैन ।
नेपालमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखियाे
काठमाडौं । नेपालमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा एकैदिन २७ जनामा काेराेना देखिएकाे बताएका हुन् । उनीहरुमा २४ जना पुरुष र ३ जना महिला भएकाे उनले बताए । याेसँगै नेपालमा ४ सय २ जनामा काेराेना देखिएकाे छ । देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको उनकाे भनाई छ। उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। आज मात्रै झापाका एक जना काेराेना सक्रमित निकाे भएर घर फर्किएका छन् ।
पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार, ९ सय ३९ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १हजार ८ सय ४१ जना नयाँ संक्रमित भेटिएको भेटिएका छन् । मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । पछिल्लो तथ्यांकनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९ सय ७६ जना, सिन्धमा १७ हजार २ सय ४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २ सय ३० जना, बलोचिस्तानमा २ हजार ८ सय २० जना, गिल्गिट बाल्टिस्टानमा ५ सय ५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा १ सय १५ जना संक्रमित भएका छन् । कूल संक्रमितमध्ये १२ हजार ४ सय ८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ । त्यस्तै सार्क राष्ट्रमा सबैभन्दा बढी १ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्, भने ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा २३ हजार ८ सयभन्दा बढी मान्छेमा काेराेना संक्रमित पुष्टि भएकाे छ । त्यस्तै अफगानस्तानमा ७ हजारभन्दा बढी मानिसमा काेराेना पाेजेटिभ देखिएका छ । त्यस्तै माल्दिभ्समा १ हजार १ सयभन्दा बढी, श्रीलंकामा ९ सय ९० जनामा, नेपालमा ३ सय ९० जनामा र भुटानमा २३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।