लकडाउन अझै लम्बिने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन अझैं बढ्न सक्ने संकेत गरेका छन् । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उनल लकडाउन तत्काल नखोलिने स्पष्ट पारेका हुन् । शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन् । बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। ‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सरकारले सीमामा अझ कडाइ गर्छ, भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले भने । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनको भनाइ छ । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन, यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्,’ उनले मुख्यमन्त्रीहरुलाई भनेका छन् । उनले यो भन्दा अगाडि पनि देशवासीको नाममा सम्बोधन गर्दै आगामी दुई साता हाम्रा लागि चुनौतीपूर्ण रहेको बताएका थिए । पटक पटकका प्रधानमन्त्रीका यी बोलीले पनि लकडाउन तत्काल नखोलिने बुझ्न सकिन्छ । उनले जनतालाई दु.ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे । नेपालमा तीन सातादेखि लकडाउन छ । सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । अझै एकहप्ता थप्ने मनसायमा सरकार छ ।

टेकु अस्पताल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । उनले भने, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।” टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ । निर्देशक डा राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उनको भनाइ छ । “अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ”, निर्देशक डा.राभण्डारीले भने । यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लाण्ट’ सहितको सघन उपचारकक्ष तयार गरिँदैछ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युत्का लागि ‘पावर ब्याकप’ तयार गरेको अस्पतालले जनाएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् । यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । यस्तै चैत २० गते बागलुङ्का ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ । हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेष्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको उनले बताए । सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरिसकेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार हालसम्म विश्वभर हाल १६ लाख ९९ हजार ६३२ कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यीमध्ये एक लाख ३४ हजार २७ जनाको मृत्यु भएको छ भने तीन लाख ७६ हजार ३३ जना उपचारपछि घर फर्किएका छन् । हाल विश्वका करिब २१० देशमा कोभिड–१९ फैलिएको बताइएको छ । रासस

भारतमा तहल्काः कोरोना फैलाउन नेपालबाट मान्छे पठाइएको आरोप

भारतकाे एक टेलिभिजनमा देखाइएकाे तस्वीर काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन नेपालबाट मान्छे पठाइएको भारतले आरोप लगाएको छ । भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा एक गोप्य पत्र लेख्दै नेपालबाट भारत छिरेको एक समुहले भारतमा कोरोना सारिरहेको आरोप लगाएका छन् । नेपालको सीमावर्ती क्षेत्रबाट भारतको बिहारमा योजनाबद्ध तरिकाले कोरोना भाइरस फैलाउन खोजिएको रिपोर्ट सार्वजनिक भएपछि यसले भारतीय सुरक्षाबल भित्र ठूलो भूईंचालो ल्याएको छ । पत्रमा प्रहरी अधिक्षकका माध्यमबाट सीमा सुरक्षा बलको ४७ औं बटालियनलाई सीमा पारीबाट कोरोना संक्रमित मानिसहरुलाई भारतमा प्रवेश गराइएको उल्लेख छ । उनीहरुको उद्देश्य एउटा रणनीति अन्तर्गत भारतमा संक्रमण फैलाउने लेखिएको छ । यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको समेत पत्रमा उल्लेख छ । पत्रका अनुसार पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका एक जना हतियार तस्करले उनीहरुलाई भारत पठाएको उल्लेख छ । बेतियाका जिल्ला प्रमुख अधिकारीले सीमा सुरक्षा बलसँग सीमामा गस्ती बढाउन समेत अनुरोध गरेका छन् । पत्रबारे भारतका गृह उपसचिवले प्रतिक्रिया दिँदै सबै कोणबाट जाँच भइरहेको बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ । गृह उपसचिव अमिर सुबानीका अनुसार, नेपालसँग जोडिएको विषय भएपनि अधिकारीहरुलाई अलर्ट गरिएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार, कुनै पनि शंकाष्पद व्यक्ति भारतमा घुसपैठ भने नगरेको तर सम्भावना रहेको उनले बताए । देखें, बिहार में नेपाल से 30-40 कोरोना संक्रमित मरीज घुसने की खबर पर क्या बोले गृह विभाग के अपर सचिव आमिर सुबहानी pic.twitter.com/UANLaH2Fby — NBT Hindi News (@NavbharatTimes) April 10, 2020 बेतियाका प्रमुख जिल्ला अधिकारीले भने आफूले विश्वस्त जासुसी श्रोतबाट सुचना पाएको दावी गरेका छन् । भारतीय मिडियामा प्रकाशित टिप्पणी अनुसार, विगत दुई दिन यता बिहारमा अचानक संक्रमितहरुको संख्या बढेको छ । अहिलेसम्म बिहारमा ६० जनामा संक्रमण देखिएको छ । भारत र नेपालका प्रधानमन्त्रीबीच आज मात्रै टेलिफोन संवाद भएको थियो । यो विषयमा भारतले कुनै चासो व्यक्त गरे या नगरेको कुरा भने नेपालको कुनै पनि निकायले सार्वजनिक गरेको छैन । (नवभारत टाइम्स डटकममा प्रकाशित समाचारका आधारमा तयार पारिएको)  न्युज 18 बिहारमा प्रसारण एक रिपाेर्ट #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #बड़ी_खबर : नेपाल के रास्ते कोरोना संदिग्धों को बिहार भेजने की तैयारी, SSB की चिट्ठी से हुआ खुलासा #IndiaFightsCOVID19 | #TotalLockdown | #StayHome Gepostet von News18 Bihar am Donnerstag, 9. April 2020