कोरोना परीक्षण गर्ने आरडिटी र पिसिआर विधिमा के फरक छ ?

काठमाडौं । हाल नेपालामा दुई विधिबाट कोरोनाभाईरस (काेभिड-१९) को परीक्षण भईरहेको छ । एक हो पिसिआर र दोस्रो रहेको छ आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट विधि। हालसम्म यी दुई विधिबाट १२ हजार ९ सय ६ वटा परीक्षण भएको छ । यो दुई मानिसको शरीरमा कोरोना भाईरसले लाग्ने रोग कोभिड-१९ छ कि छैन भनेर पत्ता लगाउनको लागि प्रयोग हुने भिन्न विधि हो । तर बजारमा यो दुई विधिलाई लिएर मानिसहरुमा केही भ्रमहरु छन् । यी दुई विधिले कसरी काम गर्छ त भन्ने पछिल्लो समय धेरैले बुझ्न चाहेको विषय रहेको छ । के फरक छ ? हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायगोनेस्टिक किट विधि ल्याएको हाे । यद्यपी एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ । १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि तर व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ। सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । जटिल पिसिआर परीक्षण पिसिआर परीक्षण एउटा जटिल परीक्षण रहेको छ । यसको नतिजा टेष्टको लागि राखिएको करीब ६ घण्टा पछि आउँछ । याे निकै जटिल विधि हो । यसको लागि सुविधासम्पन्न ल्याब, एकदमै दक्ष जनशक्ति हुनुपर्छ। यसमा प्रविधि मार्फत शरीरमा भाईरसको जीन छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । यस प्रविधिमा एकपटकमा एउटा परीक्षण गर्न र समूहमा एकैपटक धेरै परीक्षण गर्न उही प्रकृया र समय आवश्यक हुने भएको कारण एक पटकमा सकेसम्म धेरै नमुना परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको केस जटिल भएको अवस्थामा मात्र एक दुईवटा परीक्षण गरेर नतिजा ६ घण्टाको वरीपरी आउने तर धेरैवटा एकैपटक गर्दा परीक्षण सजिलो हुने भएकोले एउटा परीक्षणको नतिजा कम्तिमा पनि २४ देखि ३६ घण्टा वरिपरी लाग्ने गर्दछ । यो जटिल विधि भएकोले यसलाई कसरी सजिलो बनाउने भन्दै गर्दा वैज्ञानिकहरुले आरडिटी विधि पत्ता लागएका हुन् । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट आरडिटी प्रविधि एउटै निकै नै सरल प्रविधि हो जसलाई सामान्य व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । नेपाल मात्र नभएर अमेरिका, युरोपियन युनियन, अष्ट्रेलियाले पनि यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । यस्तै भारतले पनि आफ्नो भर्खरै प्रकाशित टेष्टिङ मापदण्डमा लक्षण देखाएका व्यक्तिहरुमा आरडिटीको माध्यमबाट परीक्षण गर्न उल्लेख गरेका छ । र्यापिड किट प्रयोग गर्नको लागि धेरै विज्ञता पनि नचाहिने, ल्याब पनि आवश्यक नहुने, जहाँ पनि गएर जाँच्न सकिने, सामान्य तालिम पर्याप्त हुने र १५ मिनेटमै नतिजा देखिने भएकोले यो प्रविधि धेरै फाईदाजनक छ । कुनै पनि राष्ट्रले सबै परीक्षण पिसिआर प्रविधीबाट गर्दैन । आरडिटीबाट परीक्षण हुँदा धेरैभन्दा धेरै व्यक्तिहरु छोटो समयमै परीक्षणको दायरामा आउने र त्यसले पछि हुने संभावित संक्रमणबाट बचाउने सकिन्छ। आरडीटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडीको मार्फत पहिला शरीरमा यो रोग थियो भन्ने देखाउँछ । साथै, यो परीक्षणले नेपालमा कतिलाई कोरोनाभाईरस  (काेभिड-१९) लागेको थियो भन्ने पत्ता लगाउन सकिन्छ । ( डा. रुणा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् । )

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ दिने गण्डकी सरकारको निर्णय

पाेखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन ५ सय १० रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भने। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ। नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरिएको सरकारले जनाएको छ । त्यसैगरि डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २ सय २० का दरले खान, बस्ने रकमको सीमा तोकेको छ। त्यसैगरी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनका लागि काम अघि बढाउने भएको छ। रासस

कोरोना उपचारमा संलग्न डा. कमर भन्छन्ः न हारेका छाैं न त डराएका नै, जोखिमलाई अवसर ठानेर काम गरिरहेका छौं

काठमाडौं । सुदूरपश्चिमकाे सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको अपचारमा संलग्न वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले मार्च २२ मा फेसबुकमा एउटा स्टाटस राख्दै भने,‘अरुलाई घरमा बस्नुभन्दा बस्दैनन्, आफू घरमा बस्छु भन्दा पाइँदैन ।’ त्यस्तै, सोही अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले पनि फेसबुकमै सोही किसिमको स्टाटस राखिन् । उनले लेखेकी थिइन्,‘मर्ने कसैको रहर हुँदैन, तर नमरेको शहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन ।’ अस्पतालको आईसोलेसनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुका यी स्टाटसहरुले तहल्का मच्चायो । धेरै मानिसहरुलाई ती स्टाटसहरुले भावुक मात्र होइन डाक्टरी पेशालाई बुझ्न पनि सहयोग पुर्यायो । ती दुवै स्टाटसहरुले चिकित्सकहरुको काम मात्र होइन उनीहरुको दु.ख बेदना र मानसिक अवस्था पनि प्रष्ट पार्यो । ती फेसबुक स्टाटसहरुले अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु आतंकित बने । कोरोना संक्रमितको नजिकै जान डराए । देशभरका सञ्चार माध्यमहरुमा समाचार आए ‘सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले बिरामीको ‘केयर’ नै गरेनन्, बिरामी नजिकै जान डराए ।’ तर, माहोल कहाँ भने जस्तो सामान्य थियो र ? शरिरमा छुँदै र नजिकै जाँदै रोग सरिहाल्ने । अहँ, कस्ले पो काल निम्त्याउँछ र यसरी ? सबै स्वास्थ्यकर्मीहरु आतंकित बने । माहोल पृथक किसिमको बन्यो । त्यति मात्र हो र ? घरभाडामा बस्ने नर्सहरुलाई घरवेटीले कोठामा बस्न नदिने सम्मका समाचारहरु सम्प्रेषण भए । त्यो समाचार स्थानीय तहतप्कादेखि केन्द्रसम्म पुग्यो । एउटा पीडा घरवेटीले कोठामा बस्न नदिएको, अर्को ठूलो पीडा कोरोना संक्रमितकै छेउमा गएर उपचार गर्नु पर्ने । त्यति मात्र कहाँ हो र ? बिरामी नजिकै जानको लागि सुरक्षित स्वास्थ्य सामगी्र नहुनु अर्को ठूलो समस्या थियो उनीहरुका लागि । ती विविधि समस्या र चुनौतीहरुसँगै लड्दै सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरु उपचारमा खटिरहे । देशको सबैभन्दा विकट रहेको प्रदेशमा पाँच जना संक्रमित देखिनु उनीहरुका लागि अर्को ठूलो चुनौति । कसरी बिरामीहरुलाई सामान्य अवस्थामा पुर्याउने ? उनीहरुको नियमित उपचारमा कसरी संलग्न हुने चिकित्सकहरुका लागि ठूलो पहाड सरीको चुनौती आइलागेको थियो त्यतिखेर र अहिले पनि । तर, भनिन्छ नि,‘प्रत्येक महान डाक्टरका पछाडि एक राम्रो नर्सको भूमिका महत्वपूर्ण हुन्छ ।’ ती सबै नर्स र डाक्टरहरु मिलेर बिरामीहरुको उपचारमा सरिक बने । उनीहरुले एउटा अठोट लिए कि हामीले कोरोनाका बिरामीलाई नियमित ‘टेककेयर’ गर्नै पर्छ । सुरक्षा कवच मानिने पर्सनल प्रोटेक्टिभ ईक्युमेण्ट (पीपीई), मास्क, सेनिटाईजरलगायतका सामग्रीहरुको तत्काल माग गरे । केन्द्रले पनि विशेष प्राथमिकताका साथ सुरक्षा सामग्री पठायो । उनीहरुले आफ्नो भन्दा बढी कोरोना संक्रमित बिरामीहरुको बढी चिन्ता लिए । अस्पताल भित्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको चिन्ता थियो कि संक्रमित व्यक्तिलाई कसरी बचाउने ? कसरी सुरक्षित तरिकाले उनकीहरुको उपचार गर्ने ? यी विविध चुनौती र समस्याहरुलाई धर्म गर्ने अवसर ठान्दै उनीहरु प्रत्यक्ष उपचारमा खटिरहे । हाल सो अस्पतालमा उपचाररत पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । दुबईबाट आएका एकजना र उनकै परिवारका एकजना तथा भारतबाट आएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि चारैजनाको उपचार नियमित रुपमा भइरहेको छ । र हिजै मात्र देखिएकी एक जना वृद्धा पनि सोही अस्पतालमा उपचाररत छन् । ती विभिन्न स्वास्थ्यकर्मीहरुमध्ये कोरोनाको उपचारमा प्रत्यक्ष खटिरहेका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादु रकमर एक हुन् । उनी कोरोनाका बिरामीको उपचारमा नियमित खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुलाई ढाडस दिइरहेका छन् । जोखिमलाई अवसरका रुपमा लिएर काम गर्न आग्रह गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो उपचार गर्ने काम हो, आफ्नो ज्यानको प्रवाह नगरी उपचार गरिरहेका छौं, उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।’ अनि तपाइँलाई डर लाग्दैन ? हाँस्दै भन्छन्, अब त बानी परिसक्यो । डर मनबाट हटि सक्यो । हाम्रो एउटा ठूलो तालिम प्राप्त टीम छ । हामी सँगै जान्छौं । डर लागेर पनि के गर्नु, आफ्नो शरिरलाई जोगाउनुभन्दा ठूलो चुनौती बिरामीको उपचार गर्नु हो । त्यसका लागि हामी व्यक्तिगत सुरक्षा सामग्रीकासाथ उनीहरुलाई भेट्न जान्छौं। कुराकानी गर्छौं । उनीहरुलाई सञ्चो बिसञ्चो सोध्छौं । हामीले पनि डर मान्यो भने उनीहरुको उपचार कसले गर्छ । उनी फेरि मुसुक्क हाँस्छन् । हुन पनि हो । यदि विश्वभरका चिकित्सकहरुले डराएर बिरामीको उपचार नगरिदिएको भए ? अहँ, सायद लाखौं मानिसहरु निको भएर घर नफर्किन्थे होलान् । सेती प्रादेशीक अस्पतालमा पनि तल्लिन भएर चिकित्सकहरुको टोली खटिरहेको छ । तर, उनीहरुलाई केही मानिसहरुले बिरामीहरुको उपचार नगरेको आरोप पनि लगाएका छन् । अनि तपाईहरुले त उपचार नै गर्नु भएन रे हो ? मैले पनि समाचारबाटै सुनेको । अलि निराश भावमा आएर कमर भन्छन, ‘अहँ, सेती अस्पतालमा त्यस्तो भएको छैन र हामी हुन पनि दिँदैनौं, कसैले डराएर भने होलान्, उपचार गर्नु त हाम्रो धर्म हो त, त्यो सुरुसुरुमा आएको थियो अहिले त्यस्तो छैन ।’ ‘त्यतिबेला व्यक्तिगत सुरक्षाका सामग्री थिएनन्, हामीलाई पनि जोखिम थियो, जसले जे भने पनि हाम्रो काम नै उपचार गर्ने हो । हामी सधैं आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिरहन्छौंं,’ उनले भने । उनी बिरामीहरुलाई नियमित रुपमा भेटिरहेको बताउँछन् । उनी भन्छन्, पहिलेको भन्दा झन व्यस्त भइएको छ । बिहान उठ्छु । खाना खाएर १० बजे अस्पताल पुग्छु। अस्पतालका इमरजेन्सीका बिरामी आए चेकजाँच गर्छु। कोरोनाको आइसुलेसनका बारेमा छलफल गर्छु। ती बिरामीको ’हिस्ट्री’ हेरिन्छ । कसैलाई केही ’कम्प्लिकेसन’ भएको छ कि भन्ने जानकारी लिन्छु । अझ केही भइहाल्यो भने आईसोलेसन वार्डमा जान्छु । बिरामीसँग कुराकानी गर्छु। अनि बेलुकी आवास फर्कन्छु । यस्तै हो सधैं । तर, यति काम गर्दा गर्दै पनि काम गरेन । बिरामीको उपचार गरेन भनेर सुन्दा दु.ख लाग्छ । उनी अलि भावुक बन्छन् । कोरोना भाइरसकै कारण विश्वमा धेरै चिकित्सकहरुको मृत्यु भइसकेको छ । नेपालमा हाल १६ जना कोरोना भाइरसका बिरामी छन् । जसमा पाँज जना नै सुदूरपश्चिममा छन् । जसले सुदूर सेती प्रादेशीक अस्पतालका डाक्टरहरुलाई पनि स्वभाविक रुपमा डर र चुनौती थपिएको छ । तर, उनीहरु प्रतिक्रिया दिन्छन्,‘हामीलाई डर छैन, कामलाई अवसरका रुपमा लिएर जोखिम कम गरिरहेका छौं ।’ अनि, घरवेटीले कोठा छोड्नु भनेको छ पनि भन्छन् नि ? हो, धेरै साथीहरु कोठा भाडामै लिएर बसिरहनु भएको छ । मेरो त अस्पताल परिसरमै सरकारी आवास छ । हाम्रा स्वास्थ्यकर्मीलाई भने उनीहरुका घरबेटीले भने नआउनू, डेरा छोडनू भनेका रहेछन् । उनीहरु अहिले बाहिर नै बसिरहेका छन् भन्ने सुनेको छु । के गर्ने बिरामीको उपचार गर्नै पर्यो । उनी देशमा कारोनाको सबैभन्दा बढी जोखिम सुदूरपश्चिम भएको बताउँछन् । भारतबाट ढेड लाख मानिस स्वदेश भित्रिएकोले पनि धेरै जोखिम भएको उनी बताउँछन्। कोरोना दीर्घ रोगी, उमेर पुगेका बुढापाकालाई बढी जोखिम हुने भएकोले यसको अचुक औषधि भनेको बाहिरबाट आएकालाई क्वारेन्टाइनमै राख्नु हो र एकान्तबास नै भएको उनको भनाइ छ । डा.कमरले कोरोनाका बिरामीले गर्दा अन्य रोगका बिरामीहरु बढी जोखिममा भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई अहिले कोरोना विशेष अपचार अस्पतालका रुपमा राखेको छ । त्यसले पनि अन्य रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनै छोडेको उनको भनाइ छ । ‘सेती प्रादेशिक अस्पतालमा कोरोनासँगै शल्यक्रिया पनि भइरहेको छ, यो अत्यावश्यक उपचारमा आउने बिरामीका लागिसमेत खतरा होइन र ? उनी प्रश्न गर्छन् । ‘विश्वमा महामारी झेलिरहेका देशहरुले पनि सुरुमा यस्तै गरेका थिए, अहिले उनीहरु भनिरहेका छन् कि कोरोनाको छुट्टै अस्पताल बनाउनू भनेर, यो अस्पतालमा त ४० बेडको डायलासिस छ, अत्यावश्यक शल्यक्रिया भइरहेका छन, गाईनो वार्ड सञ्चालनमा छ आमाहरुको ’रिजरिङ’ भइरहेको छ ।’ ‘डायलासिस गराउने मान्छे भनेका मृगौलाका दीर्घरोगी हुन् । कोरोना भाइरसले यिनीहरुलाई समात्यो भने बचाउन सकिँदैन, हामीले प्रदेश सरकारलाई धेरै पहिलादेखि भनिरहेका छौं कि कोरोनाका बिरामीका लागि छुट्टै अस्पताल बनाउनुपर्छ भनेर, तर, अहिलेसम्म त्यो व्यवस्था भएको छैन,’ उनले भने । कोरोनाकै कारण अरु बिरामी पनि अस्पताल नआएको उनले बताए । ‘सेतीमा हरेक दिन तीन चार सय बिरामी ओपीडीमा आउँथे, अहिले ती बिरामी घरमै रोग पालेर बसेका छन्, त्यसैले राज्यले यो व्यवस्थापन गर्नुपर्छ ,उनले भने । कोरोना संक्रमित बिरामीको उपचारमा ३ वटा टीम विभाजन गरेर काम भइरहेको उनले बताए । जसमा ५ जना नर्सको टीम छ । डा. कमर जस्तै अन्य स्वास्थ्यकर्मीहरु पनि पनि हिम्मतले काम गरिरहेका छन् । उनीहरु यो महामारीमा काम गरेको अनुभव उनको जीवनमा कहिलै नमेटिने सम्झना भएर रहने भएकोले पनि यस्तो बेला काम गर्न पाउँनु गर्वको विषय भएको उनीहरुको धारणा छ । ‘उपचार कक्षमा पुग्नुअघि जसरी पनि कोरोनालाई जित्नु पर्छ भन्ने सोचका साथ जान्छौं, आइसोलेसनमा भएका बिरामीलाई सिसिटिभीबाट उनीहरूले निगरानी गरिरहेका हुन्छौं, फोन गर्छौं,’ यो रोगसँग लड्न बलियो मन चाहिँन्छ, आफन्तहरु डरले आउँदैनन्, उनीहरुका आफ्ना भन्ने नै हौं, हामीसँग कूरा गरेपछि उनीहरु खुसी हुन्छन् । उनीहरुका परिवारहरुले भने जागिर छोडेर घर आइजा नभनेका होइनन् तर आफुहरुको मनले भने त्यस्तो स्वीकार गर्न नमान्ने उनीहरुको भनाइ छ । उनीहरुले सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना भाइरसका बिरामीलाई निको बनाउने भरपुर प्रयत्न गरिरहेका छन् ।