अब आधामात्र स्वास्थ्य मन्त्रालयमा कर्मचारी, एकदिन विराएर ड्युटीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाेखिमलाई ध्यान दिँदै आधामात्र कर्मचारी कार्यालय उपस्थित हुने व्यवस्था  लागु गरेकाे छ । कोरोनाको जोखिम बढेसँगै सकेसम्म भीडभाड नगरि कम कर्मचारी जम्मा भएर धेरै काम गरौं भन्ने उद्देश्यका साथ मन्त्रालयले उपसचिव तहभन्दा तल्लो स्तरको कर्मचारी एकदिन बिराएर ड्युटीमा उपस्थित हुने नियम लागु गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयले सो निर्णय गरेको हो । धेरै कर्मचारी कार्यालयमा उपस्थित भएसँगै भिडभाड हुने हुँदा कम कर्मचारीलाई मात्रै आउने व्यवस्था मिलाएको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले जेठ महिनाका लागि नयाँ कार्यतालिका अनुसार काम शुरु गरेको छ । उक्त कार्यतालिकामा कार्यालयका सबै कर्मचारी दुई समुह छुट्याएर एकदिन विराएर काममा उपस्थित हुने रहेकाे छ र साेहीअनुसार काम हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

कपिलवस्तुमा ३९७ जनाको स्वाब संकलन

कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो । सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए । बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौं, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ । यस्तै, बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ । यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ । जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानबाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए । रासस

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४

काठमाडौं । धनकुटा, सुनसरी र झापा जिल्लामा थप १७ जना कोरोना भाइरस पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।