सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाः कहिले बन्छ काेराेना भाइरसकाे खाेप ?

काठमाडाैं । काेराेना भाइरस विरूद्धकाे खाेप विश्वका सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाकाे विषय बनेकाे छ । तर विज्ञहरूले याे खाेपकाे प्रतिक्षा समय लामाे हुने बताएका छन् । २०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण हाल संसारभर फैलिसकेको छ । ५ महिनामा झण्डै २१ लाख मानिसमा याे राेग फेलिएकाे छ । १ लाख ३६ हजार भन्दा बढीकाे ज्यान गएकाे छ । संसारभरका वैज्ञानिकहरु यस राेग विरूद्धकाे खोप तयार गर्न लागिपरेका छन् तर पनि हालसम्म सफलता हातलाग्न सकिरहेको छैन । खोप तयार गर्न जति धेरै समय लाग्ने छ, मानब सभ्यता त्यति नै धेरै खतरामा पर्दै जानेछ । धार्मिक शास्त्रले कलियुग भने पनि विश्वका मानिसहरू हालको युगलाई विज्ञानको युग भन्छन् । विज्ञानकाे युगमा किन तयार हुन सकेनत कोरोना भाइरस विरूद्धकाे खोप ? लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको सरुवा रोग विशेषज्ञ तथा प्रोफेसर डा. यनालिस वाड स्मिथ जर्नलमा लेख्छिन् -कुनै पनि नयाँ खोपलाई बजारमा ल्याउन १० देखि १२ वर्ष लाग्ने गर्दछ । कोरोना जस्तो माहामारीको सन्दर्भ यतिधेरै समय नरहेको हुनाले अनुसन्धान, विकास तथा परिक्षणमा तिब्रता दिँदा १२ देखि १८ महिनामा कुनै निष्कर्समा पुग्न सकिने सम्भावना रहेको तर त्यसको लागि उच्च राजनैतिक इच्छा शक्ति तथा ठूलो परिमाणमा आर्थिक लगानीको आवश्यकता रहेको उनको धारणा छ । अहिलेको संकटको समयमा संसारका धेरै देशहरु खोप निर्माणको दौडमा लागिरहेका छन् । तर यो दौडमा धेरै बाधाहरु रहेका छन् । प्रयोगशालामा तयार गरिएको कुनै पनि खोपले सजिलै अनुमति प्राप्त गर्न सक्दैन । अनुमतिको लागि विभिन्न प्रयोग तथा परिक्षणको चरणहरु पार गर्नुपर्ने हुन्छ । संशारभर कोरोना भाइरसको खोप निर्माणमा भइरहेको हालको कामहरु प्रिक्लिनिकल स्टेजमा रहेको छ । प्रयाजसो धेरै समय यो स्टेजमा नै लाग्ने जानकारहरु बताउँछन् । प्रिक्लिनिकल स्टेजमा प्रयोगशाला परिक्षण पूर्ण गरि जनावरमा समेत परिक्षण गरेर प्रभाव तथा दुष्प्रभावको मूल्यांकन गर्ने गरिन्छ । प्रिक्लिनिकल स्टेजको परिक्षणमा सफल भयो भने मात्र परिक्षणको अर्को स्टेजमा लाने गरिन्छ । अब आउँछ ह्युमन ट्रायल (मानिसको सरिरमाथि गरिने परिक्षण ) ह्युमन ट्रायलमा पनि ३ चरण हुने गरेको छ । पहिलो चरण पहिलो चरणमा करिब ५० जना स्वस्थ मानिसमा ट्रायल गरेर दबाइले रोग प्रतिरोधात्मक छेमतामा पारेको प्रभावको बारेमा अनुसन्धान गरिन्छ । दोस्रो चरण यो चरणको परिक्षणको लागि पहिलो चरणमा भन्दा धेरै मानिसहरुको आवष्यकता पर्ने गर्दछ । दोस्रो चरणको परिक्षणको लागि १५ सय देखि २ हजार जनासम्म स्वस्थ्य  भेलेन्टियरहरुको आवश्यकता पर्दछ । यो स्टेजमा परिक्षण गरिनुको तात्पर्य पनि सुरक्षाको जाँच नै हो । सुरक्षाको स्थितिलाई नजरअन्दाज गरेर कुनै पनि औषधिको परिक्षण गरिदैन । ट्रायलको समयमा ध्यान दिइने अर्को महत्वपूर्ण विषय भनेको इमयुनोजेनिसिटी (परिक्षणमा संलग्न भोलेन्टियरहरुको एन्टिवडिको स्तर जसमा खोपको ट्रायल गरिन्छ ) । अब प्रश्न उठ्नसक्छ कि एन्टिवडि के हो ? एन्टिवडि भनेको शरिरलाई असर गर्ने भाइरस अथवा कुनै विकारको विरुद्धमा लड्न शरिरले उत्पादन गरेको विशेष रसायन हो । जसले भाइरस लगायत अन्य विकारहरुलाई परास्त गरेर सरिरलाई स्वस्थ्य राख्ने काम गर्छ । दोस्रो चरणको परिक्षणको सफलताको लागि भेलेन्टियरहरुमा एन्टिवडिको मात्रा सन्तोसजनक अवस्थामा हुन आवश्यक हुन्छ । तेस्रो चरण यो चरणमा खोपको परिक्षणको संख्या २० देखि ३० हजार जना सम्ममा गर्ने गरिन्छ । ट्रायल पछि सम्पूर्णको नमूना संकलन, विश्लेषण, अनुसन्धान, बिभिन्न उमेर समूह, वातावरण, खानपान, नस्ल अनुसार बर्गिकरण गरि प्रभाबको मूल्यांकल गरिन्छ । खोपको प्रभावकारिता, दूस्प्रभाव, शरिरमा पर्ने नकारात्मक तथा सकारात्मक असरहरुको बारेमा अनुसन्धान तथा सहि विस्लेषण गरि पूर्ण रुपमा सुरक्षित भएमा मात्र आम मानिसमा प्रयोगको अनुमतिका लागि नियामक निकाय समक्ष पठाइन्छ । कुनै पनि रोगको खोप अथवा औषधि तयार गर्नु भनेको चानचुने कुरा हैन । यो अत्यन्त संबेदनशील कुरा हो । सानो भन्दा सानो कुरामा त्रुटी भयो भने त्यसको स्थिति भयाभह हुने कुरा इतिहासले देखाइसकेको छ । तयार पारिएको खाेप नियामक निकायको मापडण्ड अनुरुपको छ भने मात्र व्यवसाहिक उत्पादन तथा संक्रमणको विरुद्धमा प्रयोगको लागि अनुमति दिने गरिन्छ । प्रोफेसर डा. यनालिस वाड स्मिथको भनाइलाई नै आधार मान्ने हो भने “हाल संसारभरमा कोरोना भाइरसको विरुद्धमा एउटा मात्र खोपको नमूनाले प्रिक्लिनिकल स्टेज पार गरेर ह्युमन ट्रायलको पहिलो चरणमा रहेको छ । अझ पनि यसले परिक्षणको धेरै चरणहरु पार गर्नु पर्ने हुन्छ । परिक्षणको सबै नतिजा सकारात्मक नै आयो भने पनि खोप आम प्रयोगमा आइपुग्न लामो समय लाग्ने उनको बुझाइ छ । यदि १८ महिना भित्रमा खोपलाई प्रयोगमा ल्याउन सकियो भने यसलाई चिकित्सा विज्ञान क्षैत्रको हालसम्मकै माहान तथा दुर्लभ उपलब्धि हुनेछ ।”

आरडीटी टेष्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको भन्ने बित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएकाे छ । आरडीटीबाट नेगेटिभ आउनुको मतलब उक्त व्यक्ति भर्खरै कोरोना भाईरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने मन्त्रालयले जनाएको हो । बिहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले त्यस्ता व्यक्तिहरुको यदि संक्रमितसँग सम्पर्कमा आएको ३ हप्ता नपुगेको भए पूर्ण १ हप्तापछि परीक्षण गर्नुपर्ने बताएको छ । हाल सरकारले धेरै व्यक्तिहरुमा र्यापिड टेष्ट गरेको छ जसमा धेरैको नतिजा नेगेटिभ आएको छ । र्यापिड टेष्टले शरीरमा कोरोना भाईरस प्रवेश अवस्थामा त्यससँग लड्नको उत्पादन गर्ने एन्टिबडिको परीक्षण गर्दछ । यो टेष्टले शरीरले एण्टीबडी उत्पादन गरेका छ वा छैन भनेर मात्र परीक्षण गर्ने हो । शरीरले कोरोना भाईरस शरीरमा प्रवेश गरेको सामान्यतः १ हप्तामा एन्टिबडी उत्पादन गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झा बताउँछिन् । कोभिड-१९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ । १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्ति पिच्छे फरक पर्न जाने र शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र शरीरमा महिनौंसम्म रहन सक्छ। सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै, रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउनसक्छ र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ? हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ । आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् । यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।

कोरोना संक्रमणले सिकाएको सबकः स्वास्थ्य सेवामा सरकारी उपस्थिति बढाउ

काठमाडौं । कोरोना संकटपछि नेपालको स्वास्थ्य सेवाको अवधारणा परिवर्तन हुने देखिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनको समयमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालको सेवा नै प्रभावकारी देखिएपछि यो क्षेत्रमा सरकारको उपस्थिति बढ्ने देखिएको हो । स्वास्थ्य क्षेत्रमा रहेका कमी कमजोरीलाई कोरोना भाईरस संक्रमण रोकथामको क्रममा स्पष्ट देखिएको हो । यस्तो कमजोरीमध्येमा स्वास्थ्य सेवा क्षेत्रमा सरकारको उपस्थिति कम भएको महसुस सरोकारवालाले गरेका छन् । २०७७ सालको सुरुवात पक्कै पनि राम्रो भएको छैन तर यो संकटले अब सरकारलाई स्वास्थ्य क्षेत्रमा आफ्नो उपस्थिति बढाउन दबाब दिएको महसुस गरिएको छ । सरकारले स्वास्थ्य क्षेत्रको लागि लगानी बढाउनु पर्ने पूर्व स्वास्थ सचिव दीर्घसिंह बमको भनाइ छ । सरकारले चालु आवको लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘सरकारले अब स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्दछ,’ पूर्वसचिव बमले भने । सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ४ दशमलब ४८ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्टयाएको थियो । सरकारी अस्पतालहरुमा भौतिक संरचनाहरु तयारी अवस्था रहनुपर्ने र सामान्य भन्दा सामान्य विषयहरुमा जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिरहनुपर्ने बम बताउँछन् । सरकारले स्वास्थ्य सेवा क्षेत्रमा आवश्यकता अनुसार ध्यान नदिएको उनको भनाइ छ । ‘देश संघीय संरचनामा गएको छ तर प्रदेशमा स्वास्थ्य मन्त्रालय छैन । त्योभन्दा तलको स्थानीय तहमा राम्रोसँग काम गर्न सक्ने टोली छैन । त्यसैले सरकारले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धि गर्ने वर्षका रुपमा लिएर काम गर्नुपर्छ,’ पूर्वसचिव बमले भने । अहिले देखिएको कोरोना भाइरस जस्ता संक्रमण फेरि दोहोरिन सक्ने भएकोले सरकारले आवश्यक तयारी गर्न जरुरी भएको उनको भनाइ छ । उनले नेपालको भौगोलिक र वातावरणीय अवस्था अनुसार कुन क्षेत्रमा के कस्तो प्रकारको रोग वा संक्रमणको खतरा बढी छ, त्यस्तो क्षेत्रमा सोही प्रकारको विशेष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए । देशभरका सबै अस्पतालहरुमा एक वर्षको लागि पुग्ने लजिष्टिक सरसामान तयारी अवस्थामा राखिनुपर्ने पनि उनको भनाइ छ । सरकारी अस्पतालहरुको स्तरोन्नति अति आवश्यक रहेकोले सोही अनुसारको तयारी आवश्यक रहेको परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । सरकारी अस्पतालहरु अब बाहिरबाट हेर्दा मात्र चिटिक्क र सफा होईन, भित्र पनि उत्तिक्कै सफा हुनुपर्छ । अस्पतालको क्यानिटन, बेड, ल्याब, शौचालय सबै उत्तिकै सफा हुन आवश्यक छ,’ उनले भने । उनले सर्वसाधारणको समय बरबाद हुने गरी लाग्ने गरेको लामो लाईन, दिउँसो मात्रै दिने सेवा र एउटा अप्रेसन गर्नको लागि महिनौं कुर्नपर्न बाध्यतालाई हटाई २०७७ लाई सरकारी अस्पतालहरुको स्तरोन्नति वर्षको रुपमा मनाउन आवश्यक रहेको बताए । आपत परेको बेला मात्र डाक्टर र हस्पिटललाई सम्झनुभन्दा अहिलेबाट नै स्वास्थ्य क्षेत्रमा लगानी बढाई, सुविधासम्पन्न अस्पतालहरु निमार्ण गरी जनशक्तिहरुलाई सही व्यवस्थापन गर्न आवश्यक रहेको गौतमले बताए । विश्व स्वास्थ्य संगठनले पनि कुल ग्राहस्र्थ उत्पादनको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि मात्र स्वास्थ्य क्षेत्रमा सुधार आउने सुझाव दिएको गौतम बताउँछन् । २०७७ सालमा सरकारले स्वास्थ्य क्षेत्रमा कोरोनाले गर्दा रोकिएका विगतका लक्ष्यहरुलाई अगाडी बढाउनुपर्ने पूर्व स्वास्थ्य सचिव खगराज बरालले बताए । ‘विगतमा हेर्दा माघ–फागुनमा बजेट रफ्तारको साथ कार्यनयन हुन्थ्यो तर अहिले सबै ठप्प छ । त्यसैले यो महामारी अन्त्य हुने बित्तिकै त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ’, उनले भने । सरकारले विगतमा हामीसँग सबै आवश्यक सामाग्री पर्याप्त छन्, हामीसँग अस्पतालहरु व्यवस्थित छन् भनेको सबै गलत साबित भएको बराल बताउँछन् । स्वास्थ्य क्षेत्रमा धेरै कुराको अभाव भएको कोरोनाले देखाएको छ । आफ्नो संयन्त्र कति बलियो बनाउनु पर्छ भनेर सरकारले अब महसुस गर्नुपर्ने उनले बताए । ‘२०७७ साल सरकारी अस्पताल र त्यसका संयन्त्र बलियो बनाउनतर्फ लाग्नुपर्छ । अन्त्यमा संकटमा काम लाग्ने सरकारी निकाय नै रहेछ भन्ने फेरि पुष्टी भएको छ, सरकारी चिकित्सक र स्वास्थ्यकर्मी, सरकारी सुरक्षाकर्मी, सरकारी कर्मचारी, सरकारी विद्यालय, सरकारी कार्यलयहरु अहिले अवस्थामा प्रयोग भएका छन् । यसको मतलब यो क्षेत्रहरु बलियो हुन कति आवश्यक रहेछ भन्ने सरकारले बुझ्नुपर्छ । निजी क्षेत्रले केही सहयोग गर्ने तर अहिलेको अवस्थामा त्यस्तो नदेखिएको हुँदा सरकारले अब स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनुपर्ने उनले बताए । यस्तै, मानिसहरुमा संक्रमण फैलन सक्ने हुनाले सरकारले सरुवा रोग अस्पताललाई बस्तीभन्दा केही टाढा बनाई सेवा विस्तार गनुपर्न आवश्यक रहेको उनले बताए । विशेष गरेर अस्पताल निर्माण र आईसियु बेडहरुमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । २०७७ सालमा मात्र नभएर हरेक वर्ष सरकार कुनै पनि महामारी, विपदहरुको लागि हरदम तयारी अवस्थामा बस्नुपर्ने पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्मा बताउँछन् । ‘हाम्रो यहाँ पाटन अस्पतालमा ३ वर्षयता संक्रामक रोगहरुको लागि कसरी काम गर्ने भनेर अभ्यास गर्दै आएका थियौं, जसले हामीलाई यो रोग आईपुग्दा केही हिम्मत दिएको थियो । यो हरेक अस्पतालहरुले प्रयोगमा ल्याउनपर्छ । सरकारले पनि यसमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् । संक्रमित बिरामीलाई जाँच्नको लागि स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क जस्ता अत्यावश्यक बस्तुको उत्पादनमा नेपाली उत्पादकको ध्यान भर्खर मात्रै गएको छ । स्यानिटाईजरको उत्पादन नेपालमै सुरु गर्नको लागि २० वटा कम्पनी उद्योग विभागमा हालै मात्र दर्ता भएका छन् ।