कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख १३ हजार २ सय ५६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७० हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ४० हजार ६ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७६ हजार ९ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ९२ हजार २ सय ९३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ भने अहिलेसम्म १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित
काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । संक्रमित १६ र २२ वर्षका पुरुष रहेकाे उनले बताए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।
एकैदिन उदयपुरका ८ जना कोरोना संक्रमित निकाे भए
काठमाडाैं । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।