कर्णालीमा १८ ले कोरोना जितेर घर फर्किए

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पतालले जानकारी दिएकाे । प्रतिष्ठानका चिकित्सकले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्न भन्दै आइरहेकाे छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद दिँदै तीन हप्ता हाेम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ । “सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौं”, उनले भने, “नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।” सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । तीन प्रहरीमा कारोना सङ्क्रमण कञ्चनपुरमा तीन प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । उनका अनुसार सङ्क्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ ।  रासस

सिरहाका २० सङ्क्रमित काेराेनामुक्त

लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए । विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाए । बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए । सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ ।  रासस