कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप

काठामाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे । निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे ।

कोरोना नियन्त्रण गर्न ट्रान्स हिमालयन सोसाइटीलाई चीनले दियाे स्वास्थ्य सामग्री

काठमाडौँ । चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई वर्तमान अवस्थामा कोरोना भाइरसका विरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । नेपालमा जारी कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि सहयोग स्वरुप ठूलो मात्रामा ती सामग्री उपलब्ध गराएको हो । प्राप्त सामग्रीमा ३० हजार थान डिस्पोजेबल मास्क र अरु ५ हजार थान के एन ९५ मास्क रहेको सो संस्थाका अध्यक्ष फान सियाओबोले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ती सामग्रीहरु नेपालका विभिन्न स्थान तथा संस्थामा आवश्यकताका आधारमा सहयोग स्वरुप उपलब्ध गराइने ट्रान्स हिमालयन सोसाइटी नेपालका अध्यक्ष प्रा. डा राजीवकुमार झाले बताए । मित्र राष्ट्र चीनले नेपालका कोरोना महामारीको नियन्त्रणका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको र यो पछिल्लो समयमा उक्त सोसाइटीमार्फत नेपाली नागरिकलाई ती सामग्री सहयोग गरेको बताए । युवा वैज्ञानिक प्रा.डा. झा चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । प्रा.डा. चीन सरकारद्धारा प्रदान गरिने विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि सम्मानित भएका छन् । नेपाल चीन सम्बन्धको विकास र विस्तारका लागि विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रा.डा. झामार्फत सियान महानगरपालिकाले बुटवल उपमहानगरपालिकालाई यस्तै स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ती सामग्रीहरु नेपाली दूतावास चीनमा रहेका र नेपाल आउने प्रक्रियामा रहेका छन् ।

नयाँ निर्देशिका: काेराेना संक्रमण बढाउन उल्टै मद्दत गर्दै सरकार

काठमाडौं । अस्पतालहरुले धमाधम कोरोना संक्रमित र आइसोलेसनमा बसेकाहरुलाई बिना टेष्ट घर फर्कन थालेका छन् । आइतबार दाङस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए, जसमध्ये ५ जना संक्रमितलाई बिनापरीक्षण घर पठाइएको थियो । यस्तै दैलेखमा आरिडिटीको परीक्षण गरेर घर पठाइएको ९५ जनामा नै कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरको नतिजा लामो समयसम्म नआएपछि सरकारको निर्देशिका अनुसार ९५ जनालाई आरडिटी गरेर घर फर्काउँदा सबैजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिनमा बस्दा कुनै लक्षण नदेखिएका, कोरोना संक्रमण पुष्टि भएको दिनदेखि १४ दिनसम्म कुनै पनि लक्षण नदेखाउने र आइसोलेसनमा बसेको १४ दिन पुरा गरेर ३ दिनसम्म लक्षण नदेखाएकाहरुलाई अस्पतालहरुले धमाधम बिनाटेष्ट अस्पतालबाट बिदा गर्ने थालेका हुन् । र, यो सबै सरकारको पिसिआर किटको नयाँ परीक्षण निर्देशिकाको नतिजा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते कस्तो व्यक्तिलाई कुन अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने एउटा परीक्षण निर्देशिका सार्वजनिक गर्यो । उक्त परीक्षण निर्देशिकाको ५ र ६ नम्बरमा क्वारेन्टिन– आइसोलेसनमा रहेका व्यक्तिलाई कस्तो अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने व्यवस्था गरिएको छ । यसमा उल्लेखित परीक्षण निर्देशिका पढ्दा यस्तो लाग्छ कि सरकारलाई कोरोना भाइरस संक्रमण मजाक लागिरहेको छ । निर्देशिकाको ५ नम्बरमा भनिएको छ– ‘ क्वारेन्टिनमा लक्षण देखाउनेलाई आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिने र नतिजा नेगेटिभ आएको खण्डमा रोगको कारण पत्ता लगाई उपचार गरिने ।’ ‘ क्वारेन्टिनमा कुनै पनि लक्षण नदेखाएकाहरुलाई बिना कुनै टेष्ट घर पठाउने । तर हाल क्वोन्टिनमा रहेकाहरुलाई भने आरडिटी गराइने’ सो निर्देशिकामा उल्लेख छ । यस्तै, ६ नम्बरमा यस्तो भनिएको छ ‘कुनै पनि लक्षण नदेखाएका र १४ दिन आईसोलेसनमा बसेकालाई कुनै पनि टेष्ट आवश्यक पर्दैन ।’ ‘आईसोलेसनमा १४ दिन पुरा गरेका कोरोना संक्रमितले ३ दिनसम्म लक्षण नदेखाई टेष्ट आवश्यक नपर्ने’ निर्देशिकामा उल्लेख गरिएको छ । सकेसम्म सबै व्यक्तिहरुको कोभिड–१९ को परीक्षण पिसिआर विधिबाट हुनु पर्ने माग चौतर्फी रुपमा आइरहँदा सरकार भने कोभिड–१९ संक्रमति पुष्टि भएको व्यक्तिलाई समेत परीक्षण नर्गेने नयाँ अवधारणमा गएको छ । नेपालमा धेरै कोरोना संक्रमित लक्षण विहिन सरकाराले लक्षण विहिनहरुको पिसिआर विधिबाट परीक्षण नर्गेने भन्दै गर्दा नेपालमा अधिकांश संक्रमितहरु लक्षण विहिन रहेका छन् । संक्रमण रोग विशेषज्ञ तथा स्वास्थ्यविद्हरुका अनुसार नेपालमा अधिकांश कोरोना संक्रमितहरु लक्षण विहिन रहेका छन् । ‘नेपालमा देखिएको कोरोना भाईरस अन्य देशकोभन्दा फरक नै भनेर म विश्लेषण् गर्दछु, हालसम्मको अनुसन्धान नतिजालाई आधार मान्ने हो भने ८१ प्रतिशतमा सामान्य लक्षणहरु देखिने, १४ प्रतिशतमा कडा लक्षण देखिने र ५ प्रतिशत संक्रमित क्रिटिकल अवस्थामा पुग्ने भन्ने हो, धेरै देशमा लक्षण नदेखाउने संक्रमितहरुको संख्या कम भइरहँदा नेपालमा भने अधिकांश संक्रमितमा लक्षण छैन, नेपालमा साईलेन्ट कोरोना छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् । यस्तै जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे पनि नेपालमा धेरै मानिसहरु लक्षण विहिन भएको र सरकारले यस्ता मानिसहरुलाई कुनै पनि परीक्षणबिना घर पठाउँदा संक्रमण झनै बढाउने बताउँछन् । क्वारेन्टिनको न्युनतम मापदण्ड पनि पुरा नर्गेने नेपालमा विकसित देशको अवधारणा जनस्वास्थ्य विज्ञ डा. पाण्डे नेपालले लागू गरेको टेष्टिङ गाईडलाईन्स विकसित राष्ट्रहरुको अवधारणा भएको बताए । ‘सरकारले लागु गरेको यो नयाँ परीक्षण निर्देशिका विकसित देशहरुको अवधाराण हो, जसले क्वारेन्टिन र आईसोलेसनका मापदण्ड पुरा गरेका छन् । हाम्रो यहाँ क्वारेन्टिनले कति मापदण्ड पुरा गरेका छन्, तपाई हामीले देख्दैं आएका छौं । एक मिटरको दुरी पनि राम्रोसँग कायम गरिएको छैन, यस्तो अबस्थामा कसरी टेष्ट नगरी घर पठाउने अवधाराणलाई लागू गर्न मिल्छ ?’ डा. पाण्डेले भने । क्वारेन्टिन उल्टै मानिहरुमा संक्रमण फैलाउने स्थान भइरहेको र सबै जनस्वास्थ्य विज्ञहरु यसमा सहमत नभएको पाण्डे बताउँछन् । पिसिआर टेष्टको क्षमता बढाउन नसक्दा सरकारले यस्तो गरेको पनि उनले आरोप लगाए । ‘यदि सबै मापदण्ड पुरा भएको अवस्थामा सिंगापुरमा भएको एउटा ठुलो अध्ययनले मानिसहरु कोरोना संक्रमण भएको ११ औं दिनपछि भाईरस घातक नहुने देखाएको छ, यसलाई हेर्दा सरकाराले तयार पारेको निर्देशिका सही छ, तर नेपालको वास्ताविकता निकै फरका छ,’ डा. पुन भन्छन् । तराई क्षेत्रमा सिमाबाट लाखौं मानिसहरु आएको र उनीहरुलाई कुनै पनि मापदण्ड पुरा नगरिएको क्वारेन्टिनमा राखिएको र यसरी उनीहरुलाई बिना टेष्ट घरर पठाउँदा समाजमा रोग सर्ने सम्भावन उच्च भएर जाने डा. पुन बताउँछन् । सरकारले उनीहरु २ साता होम क्वारेन्टिनमा बस्छन् भन्ने आश्वसन दिएपनि व्यवहारमा लागू नहुने डा. पुनको अनुमान छ ।