अनलाइनबाट काेराेना संक्रमित भर्ना
विराटनगर । मोरङको सुन्दरहरैंचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितकाे भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनका अनुसार संक्रमितले बेड बुक गरेपछि बेड नं र संक्रमितकाे ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमित देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए । सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिए । संक्रमितकाे उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ । रासस
स्याङ्जाका एक जना कोरोना संक्रमितकाे पाेखरामा मृत्यु
काठमाडाैं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ १ संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । याेसँगै नेपालमा १४ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ । गण्डकीमा संक्रमित १ सय १५ गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमित १ सय १५ जना पुगेका छन् । बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो । गण्डकीका ९ जिल्लामा गरी कोभिड–१९ सङ्क्रमित १ सय १५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । बागलुङका २ र लमजुङका १ जना निको भएका हुन् । प्रदेशमा हालसम्म ५ हजार ३ सय ५ को पिसिआर विधिबाट परीक्षण गरिएकामा ४ हजार ४ सय ५४ मा कोरोना देखिएको छैन । परीक्षण गरिएकामध्ये ७ सय ३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । प्रदेशमा आरडिटी विधिबाट भने ९ हजार ३ सय ५० को परीक्षण गरिएको छ ।
भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने
कञ्चनपुर । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्वारेन्टिनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गरे । “समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने, “भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको सङ्क्रमण देखिएको छ, आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टिनमा बसिरहेका व्यक्तिमा अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ ।” उनका अनुसार क्वारेन्टिनमा बसेका डडेल्धुरा जिल्लाका एक बासिन्दामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो र कञ्चनपुर जिल्लाको देखतभूली र लालझाडीमा गरी तीन व्यक्तिमा पि भाइभेक्स औलोको सङ्क्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले लालझाडीको भानु मावि र देखतभूलीका गरी भारतबाट फर्केर क्वारेन्टिनमा बसेका तीन जनामा औलोको सङ्क्रमण देखा परेकोमा तत्कालै परीक्षणपश्चात औषधि निःशुल्करूपमा उपलब्ध गराइएको बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडिटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ । रासस