सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा

काठमाडौँ । सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् । डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले दियाे साढे चार करोडका स्वास्थ्य सामग्री

काठमाडाैं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड-१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रूपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री बुधबार हस्तान्तरण गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो । रासस

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण

काठमाडौं । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।