कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४५ हजार २ सय ७० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १८ हजार १ सय २६ जनाको मृत्यु भइसकेको छ भने ३७ लाख २२ हजार ६ सय १७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १५ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ६६ हजार २ सय ४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ भने अहिलेसम्म ८ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६७४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
कोरोना भाइरस संक्रमणमा मौसमी प्रभावकाे कुनै संकेत छैन: डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बदलिने मौसमले कोरोना भाइरस संक्रमणको असरलाई कम गर्ने कुनै संकेत नरहेको जनाएको छ। गर्मी बढेसँगै कोरोनाको संक्रमण कम हुन्छ भन्ने एक खालको आशा हराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालीन बैंठकमा प्रमुख माइक रायनले भने, ‘हामी यस क्षणको लागि आशामा बस्न सक्दैनौं जुन मौसम परिवर्तन वा बढ्दो तापमान भाइरसको प्रतिक्रिया हुन सक्छ ।’ उनले भने, ‘अहिलेको मौसममा परिवर्तन गरेर वा चाँडै फैलिने भाइरस खतरनाक हुनेछ कि छैन भनेर बताउन हामीसँग कुनै डाटा छैन ।’ महामारीको प्रारम्भिक अवधिमा केही मानिसहरू विश्वास गर्थे कि मौसम गर्मी हुँदा कोविड १९ को प्रकोप कम हुनेछ। तर अब जसरी भाइरसले व्यवहार गरिरहेको छ, यो विचार ब्लर हुँदै गएको देखिन्छ । रायनले विश्वव्यापी रूपमा पीपीई किटहरूको अभावको पनि चर्चा गरे । उनले भने, ‘केही देशहरूमा स्वास्थ्य सुविधाको अवस्था एकदम नराम्रो छ र त्यहाँको अवस्था चिन्ताजनक छ।’ (बीबीसी)
‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’
काठमाडाैं । ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा ठोकिन्छ तर यसको अर्थ कतिले बुझे होलान् वा कतिले वास्तै गरेनन् । कोरोनादेखि आत्तिनु हुँदैन भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रचार सामग्री राखेको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्छन्, “रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन्, कोरोना पो भयो कि भनेर अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ, त्यसैले यस प्रकारको सूचना प्रवाह गरेका हौँ ।” रुघाखोकी लाग्दैमा कोरोना हँुदैन है भन्ने सन्देश सबैतिर फैलाउन नसक्दा मानसिक तनाव बढेको र घरपरिवारदेखि टोल समाजमा समेत विभेद हुने गरेको पछिल्ला धेरै घटना आएका छन् । भक्तपुर अस्पतालमा चौतारा साँगाचोकगढीँ नगरपालिका घर भई भक्तपु्रको सल्लाघारीमा बस्ने राधिका खड्का रुघाखोकी लागेपछि घरभेटीदेखि समाजमा समेत विभेदपूर्ण व्यवहार सहनु परेकोे बताउँछन् । रुघाखोकी लाग्दैमा घरभेटीले कोरोना परीक्षण गरेर रिपोर्ट ल्याउन भनेपछि बाध्य भएर परीक्षणका लागि अस्पताल आएको उनी बताउँछन् । खड्का भन्छन्, “अस्पतालले सामान्य रुघा भनेर औषधि दियो, घरभेटी कोरोना परीक्षण गर भन्छन्, आफ्नै घरका परिवार पनि डराएका छन्, बाहिर निस्कदा छिमेकी भाग्छन्, रुघा निको नभएसम्म तनाबले नै बाच्नै गाह्रो भो ।” भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतम कोरोनाको त्रासले मानिसमा मनोरोग बढ्ने खतरा बढ्दै गएको बताउँछन् । उनका अनुसार मानिसमा जनचेतनाको कमीले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भइहाल्यो भनेर आत्तिनै प्रवृत्ति गलत भएको बताउँछन् । डा गौतम भन्छन्, “रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लागिहाले पनि मरिहालिन्छ भन्ने हैन, कोरोना सङ्क्रमित धेरै निको भएर घर फर्किएको उदाहरण हाम्रो देशमा मात्रै नभई विश्व मै हेर्न सक्छौँ ।” सामान्य मौसमी रुघा लागे पनि आत्तिदै अस्तालमा कोरोना परीक्षण गर्न आउने गरेको सुनाउँदै डा गौतम भन्छन्, “भक्तपुर अस्पतालमा सामान्य रुघाखोकी लागेका मलाई कोरोना भयो कि परीक्षण गर्नुप¥यो भन्दै आउँछन्, अवस्था हेरेर शङ्का लागेकालाई स्वाब लिएर परीक्षणमा पठाउँछाैँ, अन्यलाई रुघाको औषधि र मनोपरामर्श दिएर पठाउँछाैँ, अहिलेको समयमा मनोपरामर्श अत्यावश्यक छ ।” नेपालकोरिया नगरपालिकामैत्री अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रोशन रुघाखोकी लाग्दैमा कोरोना नहुने र कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने भ्रम पाल्न नहुने बताउँछन् । आत्मबलले नै कोरोना जितेको धेरै उदाहरण रहेको बताउँदै डा रौशन भन्छन्, “रुघाखोकी लाग्दैमा मानिस आत्तिँदै अस्पताल जाने, मानसिक तनाब बढी लिने गर्छन्, रुघाखोकी लाग्दैमा कोरोना भइहाल्छ र कोरोना लाग्ने बित्तिकै मरिहालिन्छ भन्ने मानसिकतालाई हटाउनुपर्छ ।” सबै रुघाखोकी कोरोना नहुने र संयमित भएर सुरक्षा अपनाउँदै आत्मबल बलियो बनाउन सके कोरोनालाई जित्न सकिने उनको भनाई छ । सबै रुघाखोकी कोरोना नहुने बताउनुहुन्छ भक्तपुर अस्पतालका वरिष्ठ चिकित्सक डा सुनिल ढुङ्गेल । अहिले मौसमी रुघाखोकी र विभिन्न एलर्जीको रुघाखोकी लाग्ने समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । एउटा स्वास्थ्य र रोग प्रतिरोधात्मक शक्ति बलियो भएको मानिसले रुघाखोकीलाई जितेजस्तै कोरोनालाई पनि जित्न सक्ने उनी बताउँछन् । दीर्घरोगी, शरीरमा पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति कम भएकालाई कोरोनाले अलि समस्या पार्छ । डा ढुङ्गेल भन्छन्, “अहिलेको अवस्थालाई हेर्दा कोरोना सङ्क्रमण भएका ८५ देखि ९० प्रतिशत सामान्य अवस्थामा रहेका छन्, बाँकी १० प्रतिशतमा पनि करिब सात प्रतिशत निको हुन्छन्, जो दीर्घरोगी, शरीरमा कुनै पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति निकै कम भएकाको मृत्यु हुने गरेको छ ।” आफ्नै करेसाबारीमा फलेका तरकारी, घरमा पकाएको सन्तुलित खानेकुरा खाने र जङ्कफुड नखाने गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, स्वासप्रश्वासमा अत्यधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनुजस्ता लक्षण कोरोनामा देखिन्छ । त्यस्ता बिरामीको नजिक नजाने, नियमित साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक तथा मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर खाने, लक्षण देखिए अस्पताल जाने गरेमा कोरोनाबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।