कोभिड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित
आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भने १ लाख २ हजार ८ सय ४६ जना निको भएर घर फर्किएका छन् । अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरु सर्वाधिक प्रभावित भएको उल्लेख छ । उत्तर अफ्रिकी क्षेत्रमा कोभिड–१९ बाट भएको मृत्यु र संक्रमित दुबैको संख्या बढी छ । यद्यपी कोभिड–१९ बाट सर्वाधि असर परेका मुलुकहरुमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा १ हजार ६ सय ७७ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित इजिप्टमा संक्रमितको कूल संख्या ४२ हजार ९ सय ८० पुगेको छ । यहाँ हालसम्म १ हजार ४ सय ८४ जनाको मृत्यु भइसकेको छ । यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसंख्या रहेको इथियोपियामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ । अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कूल संक्रमितको संख्या ६५ हजार ७ सय ३६ पुगेको र त्यसमध्ये १ हजार ४ सय २३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) समेत लगाइएको छ । ७ वटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन् । केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन् । अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरु बन्द गरेका छन् । रासस–सिन्ह्वा
गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या १ सय ९९ नाघ्याे
कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा संक्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ । संक्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना संक्रमित रहेका छन् । त्यस्तै १६ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । रासस
गुल्मीमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु
काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत रहेका उनीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएसँगै अस्पतालले जति काेशिस गर्दा पनि बचाउन असफल भएकाे बताएकाे छ । गत जेठ २ गते भारतबाट घर आएका उनी जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका र उनमा गत जेठ १२ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा राखिएको उनकाे गए राती मृत्यु भएकाे थियाे । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन्। सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ ।