कर्णालीमा ९ सय १६ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९ सय १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका ८ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए  । त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताए। सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ । त्यसैगरी आज दैलेख अस्पतालबाट ५ र दुल्लु अस्पतालबाट ४ गरी ९ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको सङ्ख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।  रासस

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

दुल्लु । दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै शुक्रबार घर फर्किएका हुन् । दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् । रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एंव २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् । यसैगरी वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुष, वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष तथा वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताए । रासस

एकैदिन भारतमा ११ हजार व्यक्तिमा काेराेना पुष्टि, कुल संक्रमित ३ लाख नाघ्याे

काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ । विश्वमा नै सबैभन्दा बढी काेराेना संक्रमितकाे राष्ट्रहरूमध्य अमेरिका, ब्राजिल, रसिया पछि चाैथाे स्थानमा भारत रहेकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४ सय ५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३ सय ८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७ सय ७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३ सय ३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८ सय ८४ पुगेको छ । भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १ सय ४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६ सय ९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८ सय २८ जना सङ्क्रमित रहेका छन् ।