तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा
काठमाडाैं । सरकारले २५ चैत देखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।
काेराेना महामारीबाट सरकारले कसैकाे ज्यान जान दिने छैन
काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले कोभिड–१९ को महामारीबाट कसैको ज्यान जान नदिने बताएकी छन् । संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् । उनले सरकारले यससम्बन्धमा थप प्राथमिकीकरण गर्ने पनि बताएकी छन् । भण्डारीले आर्थिक क्रियाकलाप र विकास निर्माण कार्य र सामाजिक जीवनमा थप क्षति हुन नदिने गरी अघि बढ्ने बताएकी छन् । विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुनसक्ने, मुलुकको आयमा कमी आउनसक्ने, प्राथमिकता क्षेत्र फरक हुने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने उनको जोड छ ।
सङ्क्रमित साथीसँगै बसेकी नर्सको नतिजा नेगेटिभ
काठमाडाैं । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना सङ्क्रमण भेटिएपछि नर्सको भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आए पनि नर्सलाई आगामी एकसाता आइसोलेसनमै राखेर पुनः स्वाब परीक्षणका लागि पठाउने सुपरिटेन्डेन्ट डा गौतमले जानकारी दिए । त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्नुपर्नेछ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका सात जनालाई क्वारेन्टाइन र तीन जनालाई आइसोलेसनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले गत ३० गते कोभिड-१९ सङ्क्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने सशस्त्र प्रहरी २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने दुई, छिमेकी र हजाम दुई गरी सात जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको जानकारी दिए । सुनसरीबाट आएर मध्यपुरथिमिमा नर्सको कोठासँगैको एक, एम्बुलेन्समा लिन आएका दुई जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र सुनसरीबाट युवतीमा ल्याउने मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । मध्यपुरथिमि नगरपालिकाले शुक्रबार भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आज भक्तपुरका २६ पत्रकारको स्वाब सङ्कलन गरिएको हो । अस्पतालले कोरोना परीक्षणका लागि स्थापना गरेको ‘पोलिमराइज चेन रिएक्सन’ पिसीआर मेसिनसहितको ल्याबमा स्वाब परीक्षण गर्ने मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आवश्यक सम्पूर्ण पूर्वाधार पूरा गरे पनि यो ल्याबमा कोरोना परीक्षणका लागि आधिकारिक स्वीकृति नदिएकामा आपत्ति जनाउँदै उनले अहिलेको जटिल परिस्थितिमा पनि विभिन्न बाहना बनाएर ल्याब सञ्चालनमा आधिकारिक स्वीकृति नदिनु गलत भएको बताए । यद्यपि नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधि र पत्रकारको स्वाब भने सङ्कलन गरेर परीक्षण गरेको छ । गत बुधबार स्वाब सङ्कलन गरेको ७० जना जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ आएको र आज बाँकी जनप्रतिनिधि स्वाब सङ्कलन गरिने बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले जिल्लामा कार्यरत २८ क्रियाशील पत्रकारको स्वाब सङ्कलन गरेको जानकारी दिए । उनले भक्तपुरका पत्रकारका लागि सुरक्षाका सामग्री आवश्यक भएकाले त्यस्ता सामग्री उपलब्ध गराउन सरकारसँग माग गरे । रासस