कर्णालीमा १ हजार १ सयबढी काेराेना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार १ सय  नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार २ सुर्खेत र २ दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार १ सय ४ पुगेको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६ सय ३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २ सय ३७, सल्यानमा १ सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमाध्ये १ हजार २२ जना पुरूष र ८२ जना महिला रहेका छन् । कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४ सय ९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १ सय ५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १ सय ६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट ३ जना संक्रमितले कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म १ हजार ७ सय ९० नागरिक भारतबाट आइपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।  रासस

भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

काठमाडाैं ।  भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । उनले भने, “सञ्चार कक्षलाई सिल गरेका छौं, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टाइनमा राखेका छौं, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौं ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो । त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए । त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उनले बताए ।   रासस

संसारभर कोरोना बाट मृत्यु हुनेको संख्या साढे ४ लाख नाघ्यो

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार ४ सय ८१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५० हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने ४४ लाख ५ हजार १ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार ९ सय ४१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ३३ हजार ८ सय ५६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ भने अहिलेसम्म १२ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ हजार १ सय ७७ जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)