काठमाडौंमा ८१ जनाको आरडिटी पोजेटिभ, उपत्यकामा कोरोना संक्रमित अनगिन्ति छन् ?

काठमाडौं । काठमाडौें उपत्यकामा केही दिनदेखि गरिएको आरडिटी परीक्षणमा ८१ जनाको नतिजा पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा २२ सय जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ नतिजा आएको बताए । गएको एक हप्तामा काठमाडौंमा अचानक कोरोना संक्रमितहरु देखिएपछि सरकारले परीक्षणको दायरा बढाएको थियो । कालिमाटी तरकारी बजार, काठमाडौंका फोहोरमैला उठाउने व्यक्ति, गोंगबु एरिया, भृकुटीमण्डप जस्ता स्थान र केन्द्रहरुका व्यक्तिहरुको परीक्षण गरिएको थियो । कुल २ हजार २ सय ३६ जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ देखिएको । यस्तै, १ हजार १ सय १८ मा पीसीआर विधिबाट परीक्षण गरिएको देवकोटाले बताए । पीसीआर विद्यिबाट हालसम्म कसैको नतिजा पोजेटिभ नआएको उनले बताउँछन् । यद्यपि अझै नतिजाहरु आउन बाँकी रहेको उनले जानकारी दिए । ८१ जनामा आरडिटी पोजेटिभ आउनुको अर्थ उनीहरु केही समयअघि कोरोना संक्रमित रहेको पुष्टि हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडिटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरस सक्रिय थियो र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । आरडिटी परीक्षणले रोग लागेर निको भईसकेको अवस्थामा एन्टिबडी मार्फत पहिला शरीरमा यो रोग थियो कि थिएन भन्ने देखाउने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । झा भन्छिन्, ‘हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्दछ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि आरडिटी विधि पहिल्याएका हो ।’ कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई किसिमका एन्टिबडी उत्पादन गर्दछ । यि एन्टिबडी  यस्ता रहेका छन्- १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यत एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्तिपिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहने विज्ञहरु बताउँछन् । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ । आईजीजी एन्टिबढी शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर आईजीजी महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पीसीआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । काठमाडौं उपत्यकामा आरडिटी नतिजा पोजेटिभ आउनुले यो क्षेत्रमा कोरोना भाइरस संक्रमण पहिला नै फैलिसकेको त होइन भन्ने शंका बढाएको छ ।

कोरोना संक्रमणको निःशुल्क परीक्षणबाट पछि हट्यो सरकार, पीसीआर परीक्षणकाे कति लाग्छ शुल्क ?

काठमाडौं । कोरोना संक्रमण शंका गरिएका नागरिकको निःशुल्क परीक्षण गर्ने अहिलेको व्यवस्थाबाट सरकार पछि हटेको छ । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै सरकारले न्यूनतम शुल्क तिरेर आफै परीक्षण गर्न पाइने व्यवस्था गर्न लागेको हो । कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले न्यूनतम शुल्क तिरेर आफै पनि परीक्षण गराउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि संक्रमण शंका गरिएका र कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई सरकारले निःशुल्क परीक्षण गर्दै आएको थियो । ‘पीसीआर परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा ताेकिएकाे शुल्क तिरेर जाँच गराउन पाउने व्यवस्था गरेका छौं, ’ डा. देवकोटाले भने । काेराेना संक्रमणकाे लक्ष्यण नदेखिएका व्यक्तिले परीक्ष्यण गर्न चाहेमा शुल्क तिरेर गराउन पाइने व्यवस्था सरकारले मिलाएकाे हाे । लक्ष्यण देखिएका व्यक्तिकाे भने सरकार अहिले कै व्यवस्था अनुसार निःशुल्क परीक्षण गराउने छ । यसरी जाँच गराएपछि पीसीआर परीक्षणको दायरा फराकिलो हुने मन्त्रालयको भनाइ छ । एक व्यक्तिको एक पटक पीसीआर परीक्षण गर्न करिब १० हजार रुपैयाँ लाग्ने बताइएको छ । तर, सरकारले कति मूल्यमा र कुन कुन स्वास्थ्य संस्थामा परीक्षण गराउन पाइने भन्ने सन्दर्भमा भने थप जानकारी दिएको छैन । यस्ताे परीक्षणकाे शुल्क सम्बन्धित स्वास्थ्य संस्थाले नै ताेक्न पाउने डा. देवकाेटाले बताए । अहिलेसम्म सरकारले संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्ष्यण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने गरी निर्देशिका बनाएर कार्यान्वयन गरिरहेको थियो । अहिलेसम्म संक्रमण पुष्टी भएकाहरुलाई सरकारले उपचार गरिरहेको छ । आफैले परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखियो भने सरकारले नै उपचार गर्ने हो कि व्यक्ति स्वयमले नै गर्ने हो भन्ने विषय पनि प्रष्ट भएको छैन ।

नेपालमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखियाे

काठमाडौं । नेपालमा  एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा एकैदिन २७ जनामा काेराेना देखिएकाे बताएका हुन् । उनीहरुमा २४ जना पुरुष र ३ जना महिला भएकाे उनले बताए । याेसँगै नेपालमा ४ सय २ जनामा काेराेना देखिएकाे छ । देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको उनकाे भनाई छ। उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। आज मात्रै  झापाका एक जना काेराेना स‌क्रमित निकाे भएर घर फर्किएका छन् ।