आरडिटी परीक्षणलाई मान्यता नदिन काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं । कोरोना भाइरसकाे परीक्षणका लागि भनेर सरकारले खरिद गरेको आरडिटीको विश्वसनियतामाथि प्रश्न उठिरहेकाे भन्दै साे परीक्षणलाई मान्यता नदिन काठमाडाैं जिल्ला अदालतले आदेश दिएकाे छ । सोमबार आरडिटी परीक्षणलाई मान्यता दिन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको किट कमिसनका लागि खरिद गरेको र त्यसबाट गरेको परीक्षणलाई मान्यता नदिन जनाएकाे हाे । काठमाडाैं जिल्ला अदालतले आरडिटी परीक्षणलाई मान्यता नदिएपछि यसको कानुनी हैसियत समाप्त भएको छ । अब आरडिटी परीक्षण अर्थ विहिन तथा गैरकानुनी भएकाेले परीक्षणमा राेक्नु पर्ने जनाएकाे छ । काठमाडाैं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले आरडिटी परीक्षण विश्वभर बन्द भएको उल्लेख गर्दै उक्त परीक्षणमा प्रश्न उठाएको बताएका छन् । ‘कोभिड -१९ का लागि आरडिटी परीक्षणलाई विश्वसनीय मानिएको छैन, विश्वका केही देशहरुले यसमा शंका गर्दै बन्द गरेको अवस्था छ,’ साे आदेशमा भनिएकाे छ, ‘तसर्थ अदालतमा उपस्थित हुने प्रतिवादीहरुको हकमा उनीहरु संक्रमित भए नभएको हकमा पिसीआर परीक्षण गर्नु ।’ यसअघि पनि जिल्लाले अदालतमा उपस्थित हुने प्रतिवादीको कोरोना परीक्षण रिपोर्ट पेश गर्न भनेको थियो । अदालतको उक्त आदेशपछि प्रहरीले आरडिटी परीक्षण गर्दै आएको थियो । आरडिटी परीक्षणको नतिजा देशभर नै गलत आइरहेको अवस्थामा अदालतले यस्तो निर्णय गरेकाे हाे । आरडिटी परीक्षण गरेर घर पठाएका केही व्यक्तिको मृत्युसमेत भएपछि पिसीआर परीक्षण गर्दा पोजेटिभ पाइएको छ । त्यस्तै आरडिटी गरेर क्वारेन्टाइनबाट घर गएमा मानिसहरुमा धमाधाम पोजेटिभ देखिएपछि यसमाथि प्रश्न उठेकाे हाे ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजे सम्ममा संसारभरका ९१ लाख ८५ हजार २ सय जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार २ सय ३७ पुगेको छ, भने ४९ लाख २१ हजार बढी विरामी उपचार पछि निको भइ घर फर्किएका छन् । अमेरिकामा कोरोनाबाट १ लाख २२ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २३ लाख ८८ हजार १ सय ५३ जना रहेका छन् । त्यसैगरी छिमेकी देश भारतमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार ५ सय ५० पुगेको छ भने अहिलेसम्म १४ हजार १५ जनाको मृत्यु भइसकेको छ । हालसम्म नेपालमा ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार १ सय ४८ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
कैलालीकाे क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि
कैलाली । कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिनुभयो । गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।